बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तालमेलको भावनात्मक होइन, रणनीतिक अर्थ छ : प्रकाशशरण महत

‘पाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने अवस्था बनेको छ’
सोमबार, २६ वैशाख २०७९, ०७ : ०२
सोमबार, २६ वैशाख २०७९

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनबीचको चुनावी तालमेल भावनात्मक नभई रणनीतिक भएको बताएका छन् । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर काँग्रेसको जोड रहेको उनी बताउँछन् ।

स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक समेत रहेका महतले यस पटक काँग्रेसको प्रचार शैली फेरिएको बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभामा सम्बोधनका लागि सरकारी स्रोत साधन प्रयोग गरेको विषयमा प्रवक्ता महतले बचाउ गरे । स्थानीय तह निर्वाचनका सन्दर्भमा काँग्रेस प्रवक्ता महतसँग रातोपाटीकर्मी लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंश–

स्थानीय तह निर्वाचनमा काँग्रेसको प्रचार–प्रसार कसरी अगाडि बढेको छ ? पार्टी प्रवक्ता र केन्द्रीय प्रचार–प्रसार समिति संयोजकका रूपमा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?

यस पटक हामीले प्रचार–प्रसारमा इलेक्ट्रोनिक मिडियालाई प्राथमिकता दिएका छौँ । सामाजिक सञ्जाल, अनलाइन, रेडियो र टिभीको माध्यमबाट पनि प्रचार प्रचार तीव्र पारिएको छ ।

साथै उम्मेदवार घरदैलोमा जाने, सभा गर्ने, जुलुस निकाल्ने, अन्तरक्रिया गर्ने र कर्नर मिटिङ गर्ने काम पार्टी संरचनामार्फत प्रभावकारी रूपमा भइरहेको छ । साथीहरू सक्रिय रूपमा लागिरहनु भएको छ । उम्मेदवारलाई स्थान दिने कुरा पनि भइरहेको छ । सांस्कृतिक फाँटले पनि काम गरिरहेको छ । सन्देशमूलक सामग्रीहरू पनि सार्वजनिक गरिरहेका छौँ ।

काँग्रेसको प्रचारशैली परम्परागत नै छ कि पृथक छ ?

अहिले सामाजिक सञ्जालको प्रयोग ज्यादा भइरहेको छ । पहिला प्रचार पम्प्लेट धेरै आउँथे । अहिले पर्चा पम्प्लेटको जमाना गयो ।

पहिलेका चुनावमा कम्युनिस्टले प्रचार गर्न जानेका छन्, काँग्रेसको प्रचारको पाटो मिलेको छैन भन्ने तपाईंंको निष्कर्ष थियो । यो पटक त्यो पाटो सुधार गर्नु भयो ?

हामीले सुधार गर्ने कोसिस गरिरहेका छौँ । यद्यपि अझै प्रभावकारी बन्न सकेको छैन । तर पहिलाको तुलनामा धेरै राम्रो भएको छ ।  काँग्रेसले पनि यसरी प्रचार गर्न थालेछ भन्ने कुरा आइरहेका छन् । अहिले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्ने र विपक्षीहरुले लगाएका लाञ्छनालाई प्रतिवाद गर्ने काम भएको छ ।

आफ्ना कुराहरूलाई पनि सटिक ढङ्गबाट सम्प्रेषण गर्ने काम भएको छ । घोषणापत्रका मूलभूत कुराहरू सटिक ढङ्गबाट सम्प्रेषण गरेका छौँ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म चुनावी प्रचार–प्रसारलाई हामी थप स्मार्ट बनाउँछौँ ।

प्रचार–प्रसारका लागि तपाईंको टीमले कसरी काम गरिरहेको छ ? कति जनाले काम गरिराख्नु भएको छ ?

केन्द्रमा मिडिया सेन्टर छ । त्यहाँ विभिन्न साथीहरू जोडिनु भएको छ । बाहिर बसेर पनि काम गरिरहनु भएको छ । अनलाइनको जमानामा एकै ठाउँमा बसिराख्नु पर्दैन । पार्टीले दिएको जिम्मेवारी आ–आफ्नो ठाउँबाट गरिराख्नु भएको छ । हामीले विभिन्न उपसमिति बनाएका छौँ । विदेशस्थित जनसम्पर्क र सबै जिल्लाको काठमाडौँ जिल्ला सम्पर्क समिति सञ्जाल खडा गरेका छौँ । मिडिया अन्तर्गत पनि रेडियो, पत्रपत्रिका, अनलाइन र टिभीको एउटा–एउटा संयन्त्र बनाएर काम गरिरहेका छौँ ।

गठबन्धनबीच चुनावी तालमेलले काँग्रेसमा माथिदेखि तलसम्म रियाक्सन आएको थियो । त्यसलाई कसरी सम्हाल्दै जानु भएको छ ?

तालमेल नगरेको भए पनि हुन्थ्यो, सबै साथीभाइले मौका पाउँथे, उम्मेदवार हुन पाउँथे तर तालमेल गरेपछि उम्मेदवारको सङ्ख्या कम हुने भयो भनेर केही असन्तुष्टि थियो । हामीले मिलाउँदै गएका छौँ । चुनावी तालमेल भावनात्मक कुरा होइन । रणनीतिक कुरा हो । चुनावी तालमेल लेनदेनको विषय हो । हामीले मात्र दिने होइन । हामीले मात्र अरूको चुनाव चिह्नमा छाप लगाउने होइन । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि हाम्रो रुख चिन्हमा छाप लगाउने हो नि ! यो दोहोरो कुरा हो । एक अर्कालाई सहयोग गर्दा गठबन्धनका दलको पक्षमा परिणाम ज्यादा आउने सम्भावना छ ।

चुनावी तालमेलले पाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने अवस्था बनेको छ । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर जोड गरेका हौँ । त्यसैका लागि गठबन्धनबीच तालमेल गरिएको हो । बिस्तारै साथीहरूले बुझ्नुहुन्छ । विवाद व्यवस्थापन भइसकेको छ ।

तर काँग्रेसको सिङ्गो पार्टी पङ्क्ति निर्वाचनमा एकताका साथ परिचालन भएको देखिँदैन नि ?

केही मान्छे निर्वाचनमा निष्क्रिय हुने काँग्रेसको पुरानै रोग हो । गठबन्धनबीच तालमेल नभएको भए पनि टिकट नपाएको झोकमा केही मान्छे निष्क्रिय हुने गर्दछन् । तालमेल भएकाले मात्र यो भएको भन्न मिल्दैन । हामी एक्लै लड्दा पनि असहयोग हुने, निष्क्रिय हुने र अन्तर्घातसम्म गर्ने स्थिति हुन्थ्यो । अहिले तालमेल गर्दा त्यो प्रवृत्ति देखिएको छ ।

महामन्त्री गगन थापा, शेखर कोइरालाहरूले गठबन्धनका शीर्ष नेतासँग मञ्च शेयर गरेको देखिँदैन । उनीहरुले गठबन्धनको मञ्च शेयर गर्न अस्वीकार गरेको हो कि तपाईंहरुले छुटाउनु भएको हो ?

निर्वाचन परिचालन समितिले सबैको नाम राखेको छ । उहाँहरू के कारणले जानु भएन, मैले बुझ्न पाएको छैन । उहाँहरूलाई नै सोध्नुपर्छ । पार्टी नेतृत्वले कहीँ पनि भेदभाव गरेको छैन । सभापतिजीले महानगरपालिकाको टिकट दिँदा पनि सबै नेतालाई चित्त बुझाएर दिनुभएको छ । सबैलाई मिलाएर लाने मानसिकता उहाँमा छ । सबैलाई मिलाएर लाने उहाँको विशेष क्षमता पनि हो । त्यसैले गुनासो गर्नुपर्ने कुनै कारण छैन ।

तालमेलको विषय पनि केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भएको हो । विमति थियो भने केन्द्रीय समितिमै राख्नुपर्ने हो । अलग मत राखेको देखिँदैन । तर प्रचारका क्रममा नेताहरू आ–आफ्नो तरिकाले गइराख्नु भएको छ । कतिपय ठाउँमा सँगै राखेको कार्यक्रममा नगएको सन्दर्भमा उहाँहरूलाई नै थाहा होला तर त्यो राम्रोचाहिँ भइरहेको छैन ।

अहिलेसम्मको वस्तुस्थिति हेर्दा गठबन्धनका पक्षमा कस्तो परिणाम आउने देख्नुभएको छ ?

हाम्रो राम्रो जनाधार भएको भरतपुर, पोखरा, वीरगञ्ज र जनकपुरमा अन्य पार्टीलाई प्रमुख पद दिएकोमा केही साथीहरूको गुनासो छ । तर हामी ठूलो पार्टीले भएकाले अन्य दलहरूको पनि हामीसँग अपेक्षा बढी छ । गठबन्धन र चुनावी तालमेलको रणनीतिक अर्थ बुझाइरहेका छौँ । साथीहरू विस्तार ‘कुल’ भइराख्नु भएको छ । गठबन्धनका पार्टी एक्लै लड्नुभन्दा राम्रो मत परिणाम हासिल गर्छौँ । बृहत्तर कुरालाई ध्यानमा राखेर अगाडि जान्छौँ ।

देशभर करिब २ सय स्थानमा मात्र तालमेल भएको भनिएको छ । काँग्रेसले चाहेको तालमेल यस्तै थियो ?

समझदारी हुन नसक्ने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने हाम्रो निर्णय नै हो । तालमेल हामीले चाहे अनुसार नै भएको छ । तर गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय केही ठाउँमा उल्लङ्घन भएको छ । एमालेसँग तालमेल भएको सूचना आइराखेको छ ।

गठबन्धनभित्रको तिक्तता र काँग्रेसभित्रको रियाक्सनले एमाले उत्साहित भएको देखिन्छ । एमालेलाई साइजमा राख्ने तपाईंहरुको रणनीति सफल नहुने देखियो, हैन त ?

तालमेलमा हामी असफल भएको म मान्दिनँ । जहाँ समझदारी हुँदैन, त्यहाँ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो भद्र सहमति हो । हामीले सबका सब सीटमा तालमेल हुन्छ भनेर कहिल्यै भनेका थिएनौँ । अहिले जति ठाउँमा तालमेलको समझदारी भएको छ, त्यसलाई सकारात्मक रूपमा लिएका छौँ । परिणाम राम्रो आउँछ । काँग्रेस पहिलो पार्टी बन्छ । धेरै ठाउँमा काँग्रेसले जित्दैछ । महानगर र उपमहानगरमा धेरै राम्रो नतिजा काँग्रेसको पक्षमा आउनेमा हामी विश्वस्त छौँ । नगर र गाउँपालिकामा पनि हाम्रो स्थान राम्रो रहने आकलन छ । काँग्रेस पहिलो पार्टी बन्ने कुराले एमाले आफै साइजमा आइहाल्छ नि ! तर ओलीजी पनि मिलेसम्म गठबन्धन गरिराख्नु भएको छ । काँग्रेसले मात्र गठबन्धनको कुरा गरेको भन्ने होइन । हामी एक्लै एमालेसँग सिधा प्रतिस्पर्धा गर्न तयार छौँ तर जुन परिस्थितिमा गठबन्धनको सरकार बन्यो, यसको निरन्तरताका लागि गठबन्धन आवश्यक भयो ।

अर्कोतिर मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत ल्याउन अप्ठ्यारो छ । यद्यपि असम्भव भने छैन । तर अहिले स्थानीय तहबाटै गठबन्धनको अभ्यास गरेर जाऔँ भनेको हो । त्यसैले यो ठीकै भएको छ ।

स्थानीय निर्वाचनपछि वर्तमान गठबन्धन प्रदेश र संघको निर्वाचनमा पनि कायम रहन्छ ?

कायम रहन्छ भन्ने मलाई लाग्छ । गठबन्धन दलका नेताहरू प्रदेश र संघको निर्वाचनमा पनि तालमेल गरेर जाने सोचमा हुनुहुन्छ ।

अहिले गठबन्धनका संयुक्त चुनावी सभामा आकर्षण देखिएको छैन । यस्तो अवस्थामा स्थानीय निर्वाचनमा परिणाम राम्रो आएर गठबन्धन दिगो होला र ?

चुनावी सभामा व्यापक मान्छे जम्मा गर्ने अभियानमा हामी लागेका छैनौँ । यो स्थानीय तह निर्वाचन हो । वडाका साथीहरू घरदैलोमा केन्द्रित हुनुहुन्छ । ओलीजीले सभामा मान्छे जम्मा गरेजस्तो हामीले गरेका छैनौँ । उहाँ सहभागी भएको ठाउँमा जहाँ जहाँबाट भए पनि मान्छे भेला गर्नु पर्छ भन्ने मानसिकता देखिन्छ, हाम्रो त्यस्तो मानसिकता छैन । अहिले सञ्चारको जमाना छ । बोलेका कुराहरू घरघरमा पुग्छन् । सिम्बोलिक रूपमा ठाउँ ठाउँमा हाम्रो नेताहरू संयुक्त सभालाई सम्बोधन गर्न पुग्नु भएको छ । तर मान्छे जम्मा गरेर ठूलो भिड देखाउने कोसिस हामीबाट भएको छैन ।

तपाईंको निर्वाचन क्षेत्र पनि काठमाडौँ नै हो । काठमाडौँ महानगरपालिकाको परिणाम काँग्रेसको पक्षमा आउने सम्भावना छैन भन्ने विश्लेषण भइरहेको छ । तपाईंको बुझाइ के छ ?

त्यस्तो होइन । परिणाम हाम्रो पक्षमा आउँछ । हामी जित्छौँ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक महिला उम्मेदवार पाएको छ । उहाँ सक्षम पनि हुनुहुन्छ । उहाँको राजनीतिक पृष्ठभूमि छ । काठमाडौँ महानगरवासी काँग्रेसको पक्षमा उभिनुहुन्छ ।

काठमाडौँको मेयरमा ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसका उम्मेदवार सिर्जना सिंहले जित्ने आधार के हो ?

पहिलो आधार त हाम्रो पार्टीकै संगठन र समर्थन नै हो । दोस्रो, उहाँ महिला उम्मेदवार हो । तेस्रो, एमाले पार्टी असफल भइसक्यो । ओलीजीले शासन सत्ता चलाउन नसकेर हात उठाएको हो ।

त्यो अवस्थामा के आधारमा एमाले उम्मेदवारलाई मत दिने ? स्थानीय तहमा १० वटा उत्कृष्ट पालिकामध्ये ६ वटा काँग्रेसको मेयर भएको ठाउँ छ । यस्तै माओवादी लगायतका पार्टीले ३ र एमालेले नेतृत्व गरेको १ पालिका मात्र उत्कृष्ट भयो । स्थानीय तहमा पनि हाम्रा साथीहरूले राम्रो गर्नुभएको छ । एमाले केन्द्रदेखि स्थानीय तहसम्म शासन सत्ता सञ्चालनमा असफल भएको छ । यसपटक मतदाताले एमालेलाई दण्ड दिनुपर्छ ।

स्वतन्त्र उम्मेदवारको कुरा छ, स्वतन्त्र उम्मेदवारप्रति एक पटक क्युरिसिटी होला । तर शासन सत्ता चलाउने कुरा त्यति सजिलो होइन । त्यहाँबाट पार लाग्ने कुरा छैन । सामाजिक सञ्जालमा ‘भ्यु’ बढी भएर चुनाव जितिन्न । त्यो ‘भ्यु’ मात्र हो, मत होइन ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस शेरबहादुर देउवाले चुनावी आचारसंहिता विपरीत राज्यको स्रोत साधन प्रयोग गरेर गठबन्धनका उम्मेदवारलाई भोट माग्न देश दौडाहा गर्न मिल्छ ?

संसारभरि सरकार प्रमुख खाली हिँड्दैन । प्रधानमन्त्रीका हैसियतले उहाँले पाउने सुरक्षाविहीन गराउने अभ्यास संसारमा कहीँ पनि छैन । उहाँ बरु झण्डा निकालेर आयोगबाट अनुमति लिएर जानुपरेको छ । चुनावी सभामा प्रधानमन्त्रीले जान नपाउने भन्ने हुँदैन । चुनावलाई दृष्टिगत राखेर बजेट घोषणा, उद्घाटन लगायतका कुरा गर्न नपाउने आचारसंहितामा छ । त्यो पालना गरिएको छ । तर प्रचारमै प्रधानमन्त्री र मन्त्रीले निस्किन नहुने भन्ने पनि कहीँ हुन्छ र ?

पार्टीको प्रवक्ताका रूपमा के भन्न चाहनुहुन्छ ?

नेपाली काँग्रेस एउटा जिम्मेवार पार्टी हो । एउटा अभिभावकले जिम्मेवारीपूर्ण रूपमा परिवार सञ्चालन गर्छ । देश भनेको विस्तारित ठूलो परिवार हो । यसको नेतृत्व जिम्मेवार पार्टी र जिम्मेवार मान्छेले लिनुपर्दछ । त्यो जिम्मेवार पार्टी भनेको नेपाली काँग्रेस हो । अहिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ । त्यहाँ पनि जिम्मेवार पार्टीको नेतृत्व आवश्यक छ । सबै मतदातालाई उत्साहपूर्ण सहभागिता जनाएर मतदानका लागि शुभकामना दिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप