सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

बालेन शाहको आलोचना गर्नै पाइँदैन ?

मिडियाविरुद्ध भइरहेको मोर्चाबन्दीले कसैलाई फाइदा गर्दैन : प्राध्यापक पी खरेल
सोमबार, २६ वैशाख २०७९, ०९ : ०४
सोमबार, २६ वैशाख २०७९

' तिम्रो विचारसँग सहमत छैन, तर तिम्रो विचारको रक्षाको लागि अन्तिमसम्म लड्छु '

अङ्ग्रेजी लेखिका एभलिन बिटराइस हलको भनिएको यस भनाइलाई विश्वका धेरै नेताहरूले वाक स्वतन्त्रताको सन्दर्भमा उद्धृत गर्ने गरेका छन् । धेरैले यसलाई प्रजातन्त्रको आधारभूत मान्यतासँग पनि जोड्ने गर्दछन् । किनभने प्रजातन्त्रको महत्त्वपूर्ण पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता पनि हो ।

प्रजातन्त्रमा कुनै व्यक्तिले अरूलाई अहित नहुने गरी आफ्नो विचार वा धारणा राख्न पाउँछ, कुनै विषयसँग सहमत वा असहमत भएर आफ्नो विचार व्यक्त गर्न पाउँछ, राय दिन पाउँछ ।

हालैको एक घटनाले नेपालमा अहिले यही अभिव्यक्ति स्वतन्त्रताको विषय सार्वजनिक बहसमा आएको छ । यो प्रसङ्ग हो, काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको आलोचना गर्दै प्रकाशित एउटा ब्लगको । अनलाइनखबर डटकममा प्रकाशित उक्त ब्लगमा शाहले राष्ट्रिय झण्डालाई बर्कोजस्तै ओढेर अपमान गरे भन्ने निष्कर्ष निकालिएको छ ।

बालेन शाहले राष्ट्रिय झण्डा ओढे भने त्यसको विषयमा प्रश्न उठाउनुपर्ने विषय नै थिएन । त्यसकारण राष्ट्रिय झण्डाको विषय त्यति धेरै टाउको दुखाइको विषय होइन । उनले राष्ट्रिय झण्डा ओढेर अपमान वा गल्ती गरे भन्ने मलाई लाग्दैन ।

उक्त ब्लग प्रकाशन भएपछि शाहका समर्थकहरू रुष्ट बने । शाहका समर्थक धेरै युवा रहेकाले उनीहरुले सामाजिक सञ्जालमा एउटा ट्रेण्ड नै चलाए, मिडिया हाउसलाई सामाजिक सञ्जालबाटै हटाउन रिपोर्ट गर्ने, नेगेटिभ रेटिङ गर्ने र पेज अनफलो गर्ने । उक्त ब्लग नै हटाउन समेत विभिन्न पेजहरूमा जबरजस्त माहौल सिर्जना गरिँदैछ ।

युवाहरू आफ्नो प्रिय उम्मेदवारलाई आलोचना गर्ने मिडियालाई ठेगान लगाउन उत्साहित भइरहँदा धेरैलाई यस घटना झस्काएको पनि छ । यदि आलोचना गरेकै भरमा यसरी कोही विरुद्ध मोर्चाबन्दी हुन थाल्यो भने यसले अभिव्यक्ति स्वतन्त्रतालाई नै सङ्कुचन गर्दैन ? के बालेन शाह आलोचनाभन्दा माथि छन्, उनको आलोचना गर्नै पाइँदैन ? शाह स्वयम्ले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

अहिले पनि बकिङहम (बेलायत) दरबार अगाडि उभिएर गणतन्त्रको नारा लगाउन पाइन्छ, त्यही नै उन्नत प्रजातन्त्र हो । त्यसकारण कसैको बारेमा बोल्न नै नहुने वा नपाउने भन्ने कुरा हुँदैन । अहिले कुनै अमुक मिडियाविरुद्ध भइरहेको मोर्चाबन्दीले कोही कसैलाई फाइदा गर्दैन । यसले त मिडियालाई पनि संकुचन गराउँछ र केही लेख्न नै डराउने हुन्छ ।

पत्रकारिताका गुरु प्राध्यापक पी खरेल राष्ट्रिय झण्डा ओढ्न मिल्ने कि नमिल्ने भन्ने सम्बन्धमा कुनै स्पष्ट कानुन नभएको कारण झण्डा ओढ्दा अपमान गर्‍यो भन्न नमिल्ने बताउँछन् । खरेलले रातोपाटीसँग भने, ‘पहिलो कुरा राष्ट्रिय झण्डा ओढ्न नै हुँदैन, अपमान भयो भन्ने कुरा कहाँ छ ? कुन कानून र संविधानले भनेको छ कि राष्ट्रिय झण्डा ओढ्न हुँदैन भनेर ? राजनीतिक दलहरूले आफ्नो दलीय झण्डा बोके, दलीय झण्डा ओढे । बालेन शाहले राष्ट्रिय झण्डा ओढे भने त्यसको विषयमा प्रश्न उठाउनुपर्ने विषय नै थिएन । त्यसकारण राष्ट्रिय झण्डाको विषय त्यति धेरै टाउको दुखाइको विषय होइन । उनले राष्ट्रिय झण्डा ओढेर अपमान वा गल्ती गरे भन्ने मलाई लाग्दैन ।’

तर प्राध्यापक खरेल अगाडि थप्छन्, ‘राष्ट्रिय झण्डाको दुरुपयोग भयो कि भनेर कसैले लेख्छ वा बोल्छ भने त्यो उसलाई लागेको विषय हो । आफूलाई लागेको विषय सभ्य भाषाबाट बोल्न र भन्न पाउनु नै प्रजातन्त्र हो । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहन्छ । त्यसकारण कसैले बोल्यो वा भन्यो भनेर यति धेरै आपत्ति जनाउनु, साइबर हमला नै गरेर कुनै व्यक्ति वा संस्थाविरुद्ध मोर्चाबन्दी गर्नु त झनै खराब हो । कसैलाई गणतन्त्र जिन्दाबाद भन्ने अधिकार भएजस्तै अर्कोलाई राजतन्त्र जिन्दाबाद भन्ने अधिकार पनि छ । अहिले पनि बकिङहम (बेलायत) दरबार अगाडि उभिएर गणतन्त्रको नारा लगाउन पाइन्छ, त्यही नै उन्नत प्रजातन्त्र हो । त्यसकारण कसैको बारेमा बोल्न नै नहुने वा नपाउने भन्ने कुरा हुँदैन । अहिले कुनै अमुक मिडियाविरुद्ध भइरहेको मोर्चाबन्दीले कोही कसैलाई फाइदा गर्दैन । यसले त मिडियालाई पनि संकुचन गराउँछ र केही लेख्न नै डराउने हुन्छ ।’

सञ्चारमाध्यम पनि कति स्वतन्त्र ?

प्राध्यापक खरेलका अनुसार सञ्चारमाध्यम वा पत्रकार स्वतन्त्र नभइदिँदा पनि कहिलेकाहीँ समस्या भइरहेको छ । उनले भने, ‘यहाँ त हरेक मिडिया पार्टीसँग सम्बन्धित छन् वा सम्बन्ध राख्छन्, हरेक पत्रकार राजनीतिक दलमा आस्था राख्छन्, आफ्नो स्वार्थ अनुकूलको भए प्रचारबाजी गर्ने, आफ्नो स्वार्थ विपरीतको देखियो कि मौन बस्ने अथवा विरुद्ध लेख्ने परिपाटी छ । त्यसले पनि यस्ता समस्या बेलाबेलामा निम्त्याइरहन्छन् । आफ्नो मत फरक भयो भन्दैमा लखेट्न त मिल्दैन नै । पत्रकार, बुद्धिजीवी, मानव अधिकारवादी सबै कुनै न कुनै दलमा आबद्ध छन् । त्यसले समस्या निम्त्याएको हो ।’

सामाजिक सञ्जाल अतिवादतिर

प्राध्यापक खरेल सामाजिक सञ्जाल अतिवादतिर गइरहेको बताउँछन् । उनले भने,‘सामाजिक सञ्जालकै कुरा गर्ने हो भने सामाजिक सञ्जालमा अत्यधिक अराजकता छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । मैले त सामाजिक सञ्जालमा यही प्रकृतिको समस्या आउँछ भन्दै आएको छु र अहिले पनि त्यही अतिवादका कारण म सक्रिय छैन ।’

उनी भन्छन्, ‘नागरिक पत्रकारिता भने पनि त्यो पत्रकारिता होइन, त्यहाँ अराजकता छ । पत्रकारिता भन्न पनि मिल्दैन, किनभने त्यहाँ नियमितता हुनुपर्दछ । जब नियमितता नै छैन भने त्यो पत्रकारिता हुन सक्दैन । सामाजिक सञ्जाल आफ्नो विचार राख्ने, कुण्ठा पोख्ने ठाउँ त होला त्यसबाहेक यसलाई नै पत्रकारिता भनी बुझ्नु हुँदैन । त्यसकारण सामाजिक सञ्जालको विषय जानकारीमा लिनुसम्म त ठीकै हो, पूरै पत्याइहाल्न सकिन्न र हुन्न ।’

अभिव्यक्ति स्वतन्त्रताको अपव्याख्या हुनुहुँदैन : धर्मेन्द्र झा

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार धर्मेन्द्र झा अभिव्यक्ति स्वतन्त्रताको अपव्याख्या गर्नु नहुने बताउँछन् । झा भन्छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको अपव्याख्या कतैबाट पनि हुनुहुँदैन । सबैका सीमा छन्, यसको व्याख्या गर्दा सबैले सीमाभित्र बसेर गर्नुपर्ने हुन्छ । अभिव्यक्ति स्वतन्त्रता भन्दैमा कसैलाई अहित हुने गरी विचार व्यक्त गर्न पनि पाइँदैन, कसैको विरुद्ध मोर्चाबन्दी गर्न पनि पाइँदैन । त्यसकारण अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता पनि होइन, यसको निश्चित सीमाहरू छन् ।’

पछिल्लो समयमा अनलाइनखबर विरुद्ध देखिएको मोर्चाबन्दीको सम्बन्धमा प्रश्न गर्दा झाले भने, ‘त्यसमा हामी सरोकारवाला भएको कारणले पनि यसमा गम्भीर हुनु जरुरी छ । पत्रकारिताका दृष्टिकोणले हेर्ने हो भने हामीले सम्पादकीय जिम्मेवारी पूरा गर्नैपर्छ । हामीले सम्पादकीय जिम्मेवारी पूरा गर्‍यौँ कि गरेनौँ भन्ने पनि हेर्नुपर्ने हुन्छ ।’

समाचार वा विचार आएकै आधारमा विरोध गर्नु जायज हुन सक्दैन । हो, कुनै समाचार वा विचार सुनियोजित हो भने हामीले त्यसलाई त्यही आधारमा विश्लेषण वा व्यवहार गर्नुपर्ने हुन्छ । सुनियोजित हो कि होइन भनेर पहिले छुट्याउनुपर्ने हुन्छ ।

नागरिक पत्रकारिता व्यावसायिक पत्रकारिता एकै होइन

महासंघका पूर्व अध्यक्ष झाले नागरिक पत्रकारिता अर्थात् सामाजिक सञ्जालमा आउने विचार र व्यावसायिक पत्रकारितामा आउने विचारमा भिन्नता हुनुपर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालको पत्रकारिता अर्थात् नागरिक पत्रकारिता र व्यावसायिक पत्रकारिताबीचको फरक नै के हो भने नागरिक पत्रकारितामा सम्पादक हुँदैन, व्यावसायिक पत्रकारितामा सम्पादक रहन्छन् । त्यसकारण व्यावसायिक पत्रकारितामा सम्पादकीय दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी पनि हुन्छ । सामाजिक सञ्जाललाई पत्रकारिता मान्नु हुँदैन । त्यहाँ सम्पादकीय प्रक्रिया पूरा भएको हुँदैन, यद्यपि त्यसले विचार निर्माण भने गर्छ नै । 

विचार राख्न नै मिडिया डराउनुपर्ने ?

पछिल्लो समय अनलाइनखबर विरुद्ध भएको मोर्चाबन्दीले कुनै सञ्चारमाध्यमले विचार प्रकाशन गर्न नै डराउनुपर्ने अवस्था आएको हो ? वरिष्ठ पत्रकार झा भन्छन्, ‘समाचार वा विचार आएकै आधारमा विरोध गर्नु जायज हुन सक्दैन । हो, कुनै समाचार वा विचार सुनियोजित हो भने हामीले त्यसलाई त्यही आधारमा विश्लेषण वा व्यवहार गर्नुपर्ने हुन्छ । सुनियोजित हो कि होइन भनेर पहिले छुट्याउनुपर्ने हुन्छ । प्रेस स्वतन्त्रतालाई नै अप्ठेरो पार्ने काम गरिरहेको छ वा प्रेस स्वतन्त्रता नै सङ्कुचित हुन्छ भने त्यही ढङ्गले हेर्नुपर्ने होला । तर कुनै समाचार वा विचारका बारेमा आम व्यक्तिले कुनै धारणा बनाउँछ भने त्यसलाई सोझै इन्कार गर्न पनि त नमिल्ला नि !’

आपत्ति भए कानूनी उपचार खोजौँ

वरिष्ठ पत्रकार झाले कुनै समाचार, टिप्पणी वा विचारप्रति असहमत भए त्यसका लागि कानूनी उपचार खोज्न सकिने बाटो रहेको पनि बताउँछन् । उनले भने, ‘यदि कुनै समाचार वा विचारप्रति आपत्ति छ भने त्यसमा कानूनी उपचार खोज्ने वैधानिक प्रक्रिया छ, तर कानूनी र व्यावहारिक प्रक्रिया पूरा नगरीकन कुनै व्यक्ति वा समूहले गर्ने सुनियोजित हमलालाई उचित मान्न सकिँदैन ।’

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छु : बालेन शाह

सामाजिक सञ्जालमा यस विषयमा बहस भएपछि बालेन शाहले शनिबार नै साङ्केतिकरुपमा आफ्नो धारणा सार्वजनिक गर्दै आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको स्पष्टीकरण दिएका छन् ।

बालेन शाहले लेखेका छन्, 'हामी यस्तो अभियानमा छौँ, जहाँ लोकतन्त्र नागरिक नै सर्वोपरि हुनेछ यसका लागि हामीले कसैको पनि देवत्वकरण वा दानवीकरण गर्ने पक्षमा छैनौँ कसैको अहित नहुने गरेर सबैले आफ्नो विचार राख्न पाउने वा स्वतन्त्रता उपभोग गर्न पाउने हुनु पर्छ हामी वाक स्वतन्त्रताको सम्मान गर्छौँ

हामी नेवा: संस्कृतिबाट सिञ्चित सभ्यतामा छौँ, जहाँ आपसी सद्भाव विविधताको सम्मान गरिन्छ नेवा: सभ्यताको सम्मानका लागि पनि हामीले यी सबै कुराको सम्मान गर्नै पर्छ

यसै पनि, उन्नत लोकतन्त्रका लागि नागरिक सञ्चारमाध्यमले सरोकारवालालाई खबरदारी गरिरहनु पर्छ नागरिक सञ्चारमाध्यमले गरेका खबरदारीहरूबाट आफूलाई सच्याएर सरोकारवालाले अगाडि बढ्दा मात्रै वास्तविक लोकतन्त्र प्राप्त गर्न सकिन्छ भने जनजीविकाका समस्याहरूको पनि सही समाधान भएर सुलभ जीवनशैली हासिल गर्न सकिन्छ

हामी हाम्रो अभियानप्रति तपाईंहरूले देखाउनु भएको समर्थनसँग हामी आभारी छौँ रचनात्मक लोकतान्त्रिक साथ सहयोगको अपेक्षा गरिरहने छौँ '

आइतबार कुलेश्वर क्षेत्रमा घरदैलोको क्रममा रातोपाटीले यस सम्बन्धमा थप प्रष्ट पार्न गरेको आग्रहमा भने बालेन शाहले यसबारेमा थप केही नबोल्ने बताए । उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा म स्पष्ट नै छु । कसैको अहित नहुने गरेर सबैले आफ्नो विचार राख्न पाउँछ भनेकै छु । हामी वाक स्वतन्त्रताको पक्षमा छौँ । अब यस विषयमा थप बोलिरहनु उचित लागेको छैन । यस विषयमा अहिले थप केही नबोलौँ ।’ 

समाचारप्रति चित्त नबुझे उजुरी दिऔँ : पत्रकार महासंघ

पत्रकार महासंघले अनलाइनखबर डटकममा स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवारको सन्दर्भमा प्रकाशित समाचारलाई लिएर एक समूहको सक्रियतामा उक्त अनलाइनप्रति भैरहेका नकारात्मक टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले भनेको छ, ‘सो अनलाइनको साख घटाउन जुन प्रकारले प्रविधिको संगठित रूपमा प्रयोग गरियो, त्यो कार्य निन्दनीय छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा 'प्रविधि नियन्त्रित पत्रकारिता' ले संकेत गरेको एउटा सन्दर्भ प्रविधिको दुरुपयोग गर्दै हुने मिडियामाथिको प्रहार पनि हो । प्रेसमाथि यो प्रकारको नयाँ प्रहारको महासंघ भर्त्सना गर्दछ।’ सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसको निरूपणका लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समूह नै सक्रिय भएर स्वतन्त्र सञ्चारमाध्यमको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासंघले सरकारसँग माग पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप