बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

चुनावको मुखमा परदेश प्रस्थान गर्दै युवा

सोमबार, २६ वैशाख २०७९, ०९ : ५८
सोमबार, २६ वैशाख २०७९

बाँके । मुलुकमा स्थानीय तह निर्वाचनको चटारो छ । राजनीतिक दलहरू तथा उम्मेदवारहरू चुनाव प्रचार प्रसारमा सक्रियता बढाइरहेका छन् । स्थानीय तहमा सरकार चयनको प्रक्रिया सुरु हुनै लाग्दा दैनिक सयौँ युवा बाँकेको जमुनाहा नाकाबाट भारततर्फ रोजगारीका लागि प्रस्थान गरिरहेका छन् ।

उनीहरूलाई चुनावी चहलपहलको कुनै वास्ता छैन । एक जनाले कमाएको पैसाबाट परिवारका अन्य सदस्यको आवश्यकता पूर्ति गर्नुपर्ने बाध्यताबाट गुज्रिएका उनीहरू भारतका विभिन्न सहरमा रोजगारीका लागि प्रस्थान गरेका हुन् ।

बर्दियाको जगतापुर बढिया तालका ३० वर्षीय जीवन थापा क्षेत्री यस्तै युवामध्ये एक हुन् । भारत चेन्नाइको एक ड्राई फुट कम्पनीका काम गर्ने थापा बिदामा घर आएका थिए । उनी बिदा सकिएपछि उतै जान थालेका हुन् ।

घरमा दुई महिना बसेका थापालाई चुनावको मुखमा भारत नजान विभिन्न दलका स्थानीय नेता–कार्यकर्ताले आग्रह नगरेका होइनन् । तर समयमै नगए रोजगारी नपाइने हो कि भन्ने चिन्ताले चुनाव छाडेरै आफू फर्किएको उनले बताए । उनले भने, ‘एक दिन भोट हाल्न घरमा बसेर आफ्नो रोजगारी गुमाउनु छैन । यहाँ भोट हाल्न बस्दा उता रोजगारी गुम्यो भने के गर्नु ? यहाँ रोजगारी छैन ।’

बर्दिया जिल्लाको दौलतपुरका मनिराम थारु भारतको मुम्बई बस्न थालेको २५ वर्ष भएको छ । त्यहाँ ट्रान्सफर्मर कम्पनीमा जागिर गर्ने थारु आमालाई समेत लिएर उतै जाँदैछन् । उनी पनि बिदा मिलाएर नेपाल आएका हुन् ।  

दाङको घोराही नगरपालिका–१४, मिलनचोकका आशिष चौधरी पनि भारत प्रस्थान गरेका छन् । काम खोज्नका लागि भारतको चन्डीगढतर्फ जान लागेका उनी नेपालमा रोजगारीका अवसर नभएकाले बाध्य भएर परदेश जानु परेको बताउँछन् ।

दुई वर्षअघि बिहे गरेका उनलाई आफन्तले काम खोजिदिने आश्वासन दिएका छन् । ‘यता बेरोजगार छु, काम खोज्दा पाइँदैन,’ उनले भने, ‘उता आफन्तले काम खोजिदिन्छु भनेर बोलाएका छन्, त्यसैले श्रीमतीलाई पनि लिएर जान लागेको हुँ ।’

उनी स्थानीय चुनावमा को उम्मेदवार भए, कुन पार्टीको कस्तो घोषणापत्र छ भन्नेबारे आफूलाई चासो नभएको बताउँछन् । ‘यतिन्जेल मेरो घरमा कस्तो समस्या छ भनेर कसैलाई मतलव भएन,’ उनले भने, ‘बेरोजगार भएर बस्नुको पीडा मैले भोगेको छु, यहाँ भोट हालेको भरमा मेरो समस्या समाधान हुने होइन ।’

कक्षा ९ सम्म पढेका चौधरी आफूजस्ताका लागि यहाँ कुनै दल वा नेताले चासो नदेखाएको गुनासो गर्छन् । रातोपाटीसँग उनले भने, ‘चुनाव हुन्छ, नेताहरूले पद पाउँछन्, उनीहरूका आफन्तलाई राम्रो होला तर मेरो लागि त पैसा कमाउनुपर्ने बाध्यता छ ।’

दाङको श्रीगाउँका छविलाल डीसी पनि भारत प्रस्थान गरेका छन् । उनी भारतको चन्डीगढमा एउटा ग्यारेजमा काम गर्दछन् । आफन्तको बिहेमा घर आएका उनी केही दिन गाउँमा बसे । साहुले फोन गरेर बोलाएपछि हतारहतार भारततिर जानु परेको उनले बताए ।

‘यहाँ बसेर घरखर्च चलाउन सहज हुन्थ्यो भने को अर्काको देशमा गएर पसिना बगाउँथ्यो र ?’ उनले भने, ‘अहिलेसम्म जनप्रतिनिधि नचुनिएको होइन, तर जनताको समस्यालाई कसैले वास्ता गर्ने होइनन् ।’

रोल्पा जमकोटका दुर्गा प्रसाद विक भारतको सिमलामा काम गर्दछन् । उनी पनि केही समयको घर बसाईपछि सिमला जाँदै थिए । उनले भने, ‘गाउँमा बसेर केही आम्दानीको बाटो भइदिएको भए दुःखको पसिना बगाउन किन परदेश जानु पर्थ्यो र ?’

छोरीको बिहे गर्दा ऋण लागेको बताउने उनी सोही ऋण तिर्नका लागि काम गर्न सिमला जान लागेका हुन् ।

बर्दियाका जीवन थापा क्षेत्री सशस्त्र द्वन्द्वकै बेलादेखि भारततिर बस्न थालेका हुन् । कलिलै उमेरमा परिवारको साथमा भारत पुगेका उनी उतै पढेर जागिर खान थालेका छन् । ‘त्यो बेला यता बस्न नसकेर स–परिवार उता गइयो, उतै पढेँ, अहिले जागिर उतै छ,’ उनले भने, ‘यहाँ बसेर गुजारा चल्ने अवस्था हुन्थ्यो भने हामी पनि स–परिवार आफ्नै गाउँघरमा बस्थ्यौँ होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप