शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङजामा स्थानीयवासीले मारे चितुवा

सोमबार, २६ वैशाख २०७९, १३ : २१
सोमबार, २६ वैशाख २०७९

स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए ।

मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन् । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ ।

मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ । वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप