मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिरको प्राण प्रतिष्ठा

सोमबार, २६ वैशाख २०७९, २१ : ४६
सोमबार, २६ वैशाख २०७९

भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण सम्पन्न गरी आजदेखि पाँच दिने प्राण प्रतिष्ठा सुरु भएको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा मन्दिरको निर्माण भएको हो ।

मन्दिरमा आज शुभ साइत पारी प्राण प्रतिष्ठा सुरु गरिएको हो । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तले प्रवचनसमेत गर्नेछन् । कार्यक्रमको पहिलो दिन आज कलश यात्रासहित पूर्वाङ्ग गरिएको छ । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिएको वर्णन विभिन्न वैदिक एवं शास्त्रीय ग्रन्थमा गरिएको छ । 
     
ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिए । ह्यग्रीव रूप धारण गरेर भगवान् विष्णुले वेदको उद्धार गरेको सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको छ । 

भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूप धारण गरेका हुन् । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्यले बताए । 

कोलमतेश्वर तीर्थको धार्मिक, पौराणिक महत्व

स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उनले भने । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको हो । वामन अवतार लिएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश प्रपन्नाचार्यले बताए । 

चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । यहाँ ब्रह्माले वामनरूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो । नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३० औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमती घाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । मन्दिर व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष ध्रुव सिम्खडा लक्ष्मी ह्यग्रीव मन्दिर र कोलमतेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको बताए । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोगमा यस क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन हुन लागेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप