शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका तीन स्थानीय तहमा पुरानै प्रतिस्पर्धी भिड्दै

मङ्गलबार, २७ वैशाख २०७९, १२ : २०
मङ्गलबार, २७ वैशाख २०७९

मोरङका तीन स्थानीय तहमा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरू प्रमुख दलबाट उम्मेदवार बनेपछि ती पालिकामा पुरानै प्रतिस्पर्धीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो ।

रङ्गेली, सुन्दरहरैंचा नगरपालिका, जहदा गाउँपालिकामा प्रमुख दलबाट २०७४ कै निर्वाचनमा उम्मेदवार बनेकाहरु फेरि पनि उम्मेदवार भएका छन् । रङ्गेली नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट दिलीप कुमार अग्रवाल र नेपाली काँग्रेसबाट मोदराज घिमिरे उम्मेदवार छन् ।

२०७४ को चुनावमा अग्रवालले एक हजार ८८२ मतले घिमिरेलाई पछि पार्दै रङ्गेली नगरपालिकाको प्रमुखमा जितेका थिए । नेकपा माओवादी केन्द्रबाट उठेका अग्रवालले ८ हजार ६८ मत प्राप्त गरेका थिए । काँग्रेसका घिमिरेले ६ हजार १ सय ८६ मत ल्याएका थिए ।

अहिले अग्रवाल माओवादी पार्टी छोडेर एमालेबाट प्रमुखमा उम्मेदवार भएका छन् । यहाँ माओवादीबाट प्रमुखमा लीलादेवी सङ्ग्रौला उम्मेदवार छिन् । यो पालिकामा काँग्रेस र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

उता, सुन्दरहरैंचा नगरपालिको प्रमुख पदमा पनि केही प्रतिस्पर्धी पुरानै छन् । अघिल्लो चुनावमा झैँ यो पटक पनि सुन्दरहरैंचाको प्रमुखमा काँग्रेसका शिवप्रसाद ढकाल र एमालेका केदारप्रसाद गुरागाईं पुनः प्रतिस्पर्धामा छन् । त्यसबेला ढकालले ९६८ मतान्तरले गुरागाइलाई पराजित गरेका थिए । ढकालले १६ हजार ८२२ मत ल्याउँदा गुरागाईंले १५ हजार ८५४ मत ल्याएका थिए ।

यस पटकको चुनावमा यो पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्रबाट नवराज चापागाई उठेका छन् । २०७४ चुनावमा चापागाईं तेस्रो भएका थिए । एमालेका उम्मेदवार धनमाया तामाङले १५ हजार ८०१ मत ल्याएर उपप्रमुखमा विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसीकी बिन्दा दाहालले १३ हजार ४६९ र चापागाईंले ६ हजार ३०७ मत ल्याएका थिए ।

 जहदामा त्रिपक्षीय भीडन्त

मोरङको जहदा गाउँपालिकामा पनि पुरानै केही उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ जनता समाजवादी पार्टीले निवर्तमान अध्यक्ष कैलाश प्रसाद मण्डललाई उठाउँदा माओवादी केन्द्रबाट राजकुमार यादवलाई मैदानमा उतारेको छ । काँग्रेसबाट जितेन्द्रप्रसाद साह र एमालेबाट यसोदा गिरी अध्यक्षमा उम्मेदवार छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनीहरूनै उम्मेदवार थिए । दलले पुरानै उम्मेदवारलाई चुनावी मैदानमा उर्तादा यहाँ पुरानै प्रतिद्वन्द्वी आमने–सामने हुने भएका हुन् ।

यसअघि स्थानीय तहको चुनावमा जसपका मण्डलले ५ हजार ५९ मत ल्याएर अध्यक्षमा विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसका साहले ३ हजार ६ सय ५९ र माओवादी केन्द्रका यादवले २ हजार ९० मत ल्याएका थिए । विशेष गरी यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ को चुनावमा २१ हजार ४६७ मतदाता रहेकोमा यस पटक ४ हजार २४८ मतदाता थपिएका छन् । थपिएको सहित यस वर्ष २५ हजार ७१५ जना मतदाता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप