शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : एकलकाटे चमेरोको दुर्दशा

बुधबार, २८ वैशाख २०७९, १० : ३२
बुधबार, २८ वैशाख २०७९

धेरै पहिलेको कुरा हो । एकपटक पशु र पक्षीहरूबीच कुनै विषयलाई लिएर मनमुटाव भयो । भनिन्छ, बिउ र निहुँलाई धेरै चाहिन्न, उसलाई टुसाउन मात्र बेर हो, झाङ्गिन वा फैलिन बेर लाग्दैन । यहाँ पनि यस्तै भयो । उनीहरूका मनमुटाव बढ्दै गएर युद्धको रूप लियो । पशुहरू एकातर्फ लागे, जहाँ बाघ, भालु, मृग, जरायोदेखि खरायोसम्मका थिए । पक्षीहरू अर्को पक्षमा उभिएर लड्न लागे, जहाँ चील, गिद्ध, वाज, सारसदेखि भँगेरा र जुरेलीसम्मका थिए तर चमेरोले भने कुन पक्षमा लाग्ने भन्ने निर्णय गर्न सकेन । पशुहरूका समूहमा लाग्न पक्षीजस्तो छु भन्थ्यो । पक्षीहरूका समूहमा लाग्न पशुजस्तो छु भन्ने ठान्थ्यो । 

चमेरो निष्क्रिय बसेको देखेर पक्षीहरूले आएर सम्झाउँदै भने–

‘चमेरो भाइ ! यसरी एक्लै बस्नु राम्रो होइन । हामी सबै एउटै प्रजातिका हौँ । एकअर्कामा आबद्ध भएर बस्नुपर्छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अरूलाई सहयोग गरे पो परेको बेला आपूmले पनि सहयोग पाइन्छ । त्यसैले बिन्ती छ हाम्रो समूहमा आऊ । सँगै बसेर सुखदुःख बाँडौँ ।’

चमेरो अलि बढी नै घमन्डी थियो । आफ्नो स्वरूप र स्वभाव भिन्दै भएकाले एक्लै पनि जीवन बिताउन सकिन्छ भन्ने ठानेको थियो उसले । त्यसैले चराहरूका आग्रहलाई बेवास्ता गर्दै भन्यो–

‘भाइ हो ! तिमीहरूलाई भ्रम भए जस्तो छ । म पक्षी होइन पशु हुँ बुझ्यौ ? पखेटा देखेर आफ्नो समूहको ठानेका हौ भने गल्ती गर्दैछौ । एकपटक पखेटालाई बिर्सेर हेर त कस्तो देखिन्छु ?  मुसा जस्तो देखिन्छु यही होइन ? त्यसैले जाऊ आफ्नै समूहमा म आउन सक्दिन ।’

चमेरो उत्तर सुनेर पक्षीहरू रिसाए र यस्ता मूर्खसित के कुरा गर्नु भन्दै फर्के । चराहरू फर्केका केही समयपछि पशुहरू आएर भने–

‘भाइ चमेरो ! एक्लै छौ जस्तो लाग्यो । एक्लै बसेर जीवन चल्दैन । प्रकृतिले नै सबैलाई एकअर्कामा निर्भर रहनुपर्ने व्यवस्था गरिदिएको छ । ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भन्ने त उखानै छ । संसारमा चाहेर पनि कसैले एक्लै जीवन बिताउन सक्दैन । यस्तो सोच्न थालियो भने एक दिन भोकै मर्नुपर्ने अवस्था आउन सक्छ । तिमीलाई साथीहरूले वास्ता गरेनन् जस्तो छ तर चिन्ता गर्नुपर्दैन । हामी त्यस्तो गर्दैनौँ । आऊ हाम्रो समूहमा । सँगै बसेर सुखदुःख बाँडेर लिउँला ।’

पशुहरूको कुरा पनि चमेरोलाई मन परेन र हकार्दै भन्यो–

‘मुर्ख हो ! तिमीहरूजस्ता बुद्धु कोही छैनन् जस्तो लाग्यो । तिमीहरूलाई लागेको होला म पशुकै समूहमा पर्छु तर म पशु नभई पक्षी पो हुँ त । देखेनौ मेरा दुईवटा पखेटा छन् । पखेटा हुने प्राणी पनि पशु हुन सक्छ र तिमीहरूका समूहमा लाग्ने ? सहयोग पाइन्छ कि भनेर आएका होलाऊ तर म पनि त्यति बुद्धु छैन । जाऊ अरू नै कसैलाई मूर्ख बनाऊ ।  मलाई मेरै संसार प्रिय छ । साथ दिनै परे पक्षीहरूलाई दिउँला नि, जो आफ्नै समूहका छन् ।’

उसको कुरा सुनेर पशुहरूले भने–

‘भाइ ! तिम्रै भलाइका लागि भनेका हौँ । युद्धरत पक्ष भएकाले सहयोग माग्न आएको जस्तो लागेको होला तर हामी तत्कालको मात्र कुरा गरिरहेका छैनौँ । युद्ध भनेको क्षणिक हो आज छ भोलि हुन्न तर जीवन त्यस्तो हुँदैन । बाँचुन्जेल एकलाई अर्कोको सहयोग चाहिन्छ ।  ठीकै छ तिम्रो विचार नै त्यस्तै छ भने कर गर्दैनौँ ।’

यति भनेर पशुहरू फर्के । नभन्दै केही समयपछि पशु–पक्षीबीचको मनमुटाव सकियो । मनमुटाव सकिनु के थियो युद्ध पनि रोकियो । त्यसपछि दुवै पक्षमा आपसमा मित्रवत व्यवहार गरेर बस्न लागे तर चमेरो भने एक्लै प¥यो । कसैले पनि वास्ता नगरेपछि उसलाई जीवन बिताउनै गाह्रो प¥यो र पक्षीसमूहमा गएर भन्यो–

‘भाइ हो ! हामी एउटै प्रजातिका हौँ । तिमीहरूका पनि पखेटा छन् मेरा पनि । त्यसैले म पनि तिमीहरूका समूहमा आउन चाहन्छु । आशा छ निरास गर्ने छैनौ ।’

उसको कुरा सुन्ने बित्तिकै पक्षीहरूलाई रिस उठ्यो । उनीहरूले हकार्दै भने–

‘भाइ ! तिमी कहाँ पक्षी हौ र हाम्रो समूहमा लिने ? तिमी आफैँले भनेका होइनौ पक्षीको समूहमा पर्दिन भनेर । जाऊ न पशुहरूकै समूहमा । बेकारमा किचकिच गरी बिथोल्ने काम नगर ।’

बल्ल चमेरोलाई गल्ती महसुस भयो । ठूलै गल्ती गरेछु जस्तो पनि लाग्यो तर हिम्मत भने हारेन र पशुहरूको समूहमा गएर भन्यो–

‘मित्र हो ! आफू पनि तिमीहरूकै समूहको भएकाले साथ खोज्न आएको हुँ । तिमीहरूकै साथमा रहेर जीवन बिताउन चाहन्छु । आशा छ मेरो आग्रहलाई अस्वीकार गर्ने छैनौ ।’

उसको कुरा सुनेर पशुहरूले हाँस्दै भने–

‘भाइ ! देखेकै छौ तिम्रा पखेटा छन्, हाम्रा छैनन् । जब हाम्रा शारीरिक संरचान नै अलग छन् भने कसरी हाम्रो समूहमा पछौँ र साथ दिने । यसै पनि तिमीलाई तिम्रै संसार प्रिय छन्, जुन तिमी आफैँले भनेका हौ । त्यसैले हामी तिमीलाई लिन सक्दैनौँ । कसैको साथ चाहिएकै हो भने पक्षीहरूका समूहमा जान सक्छौ ।’

त्यसपछि चमेरो पुर्पुरोमा हात राखेर फक्र्यो तर जीवन बिताउने भन्ने कुरो किन सजिलो हुन्थ्यो र । एक दिन अर्को गुफामा बस्ने चमेराहरू उसको गुफामा धावा बोल्न आइपुगे । उसले यताउता हार गुहार पनि लगायो तर कोही पनि सहयोग गर्न आएनन् । त्यसपछि वर्षौँदेखि बस्दै आएको आफ्नो गुफा छाडेर भाग्नुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप