शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय निर्वाचनको मौका छोपेर काठमाडौँ उपत्यकामा दिउँसै चोरी

१० प्रतिशतबाहेक सबै प्रहरी चुनावमा परिचालन
बुधबार, २८ वैशाख २०७९, १३ : ४२
बुधबार, २८ वैशाख २०७९

काठमाडौँ । काठमाडौँको मुलपानी स्थित सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको घरमा वैशाख २१ मा चोरी भयो । स्थानीय चुनावको सरगर्मी बढेको बेला घरमा कोही नभएको मौका छोपेर पूर्व एसएसपी थापाको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ नगद चोरिएको छ । 

कागेश्वरी मनहरा–६ मुलपानी स्थित घरमा कोही नभएको मौका छोपेर मूलढोकाको ताला फुटाएर चोरी गरिएको प्रहरीले बताएको छ । थापाले सो घर बिक्रीका लागी विज्ञापन राखेका थिए । घर किन्ने बहाना गरेर गएकाहरूले सुन चोरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो चोरीबारे अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

वैशाख ३ मा ललितपुरको सानेपामा पूर्व डीआईजीको घरमा चोरी भयो । सानेपा स्थित गोपाल रिजालको घरबाट चोरीमा संलग्न गिरोहले मूलढोकाको ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए ।

चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् । ३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । चोरी गर्ने समूहका अन्य दुईजना आरोपी फरार छन् । 

मूलपानी र सानेपामा जस्तै स्थानीय तहको निर्वाचनको सरगर्मी सँगै काठमाडौँ उपत्यकामा चोरीका घटना बढ्दै छन् । चोरी बढेपनि अनुसन्धान गर्ने सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सो मातहतमा कार्यरत १० प्रतिशत बाहेक सबै प्रहरी कर्मचारी निर्वाचनको सुरक्षामा खटिएका छन् । सुरक्षाकर्मी चुनावमा व्यस्त भएको मौकामा चोरले ‘चौका’ हानिरहेका छन् । 

पूर्व सावधानी नअपनाएका घरमा मात्र चोरी हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘चोरी भएका घटना अनुसन्धान गर्दै छौँ, चोरीका घटना सकभर बढ्न नदिने गरी निगरानी गरिरहेका छौँ ।’ 

पछिल्लो ३ महिनामा उपत्यकामा दर्ता भएका चोरीका घटना 

जिल्ला महिना चोरी मुद्दा दर्ता सङ्ख्या

 स्रोत : काठमाडौँ उपत्यका प्रहरी कार्यालय 

२०७८ फागुन र चैत तथा २०७९ वैशाख २५ सम्ममा काठमाडौँमा मात्र १०३ वटा चोरी मुद्दा दर्ता गरिएको छ । ३ महिनामा ललितपुरमा १८ र भक्तपुरमा २३ वटा चोरी मुद्दा दर्ता भएका छन् । चोरी भएर पनि आरोपीको पहिचान नखुलेका कतिपय मुद्दा दर्ता हुन बाँकी रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

पछिल्लो ३ महिनामा काठमाडौँ उपत्यकामा १४६ वटा चोरी मुद्दा दर्ता गरिएको छ । सो अवधिमा ज्यान मार्ने उद्योग तथा जबरजस्ती चोरी, डाँका चोरी, चोरी उद्योग, साधारण चोरी, पाकेटमार र सवारी चोरीका मुद्दा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दिउँसै चोरी 

काठमाडौँ उपत्यकामा हुने अधिकांश चोरी दिनमा हुने गरेका छन् । निर्वाचनका लागी डेरा छाडेर गाउँमा जानेहरू र निर्वाचन प्रचारमा हिँड्नेहरूको घरमा चोरले हमला गर्ने गरेका छन् । प्रहरी अधिकृतहरूका अनुसार चोरी गर्ने समूहले त्यस्ता घर र डेरा रेकी गरेर रडको सहायताले ताला फुटाएर चोर्छन् । 

चोरीमा जेलबाट छुटेका पुराना चोर पनि सक्रिय हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘चोरी गर्नेहरूले सजिलै ताला खोल्न सक्छन्’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘पटके चोरले प्रमाण पनि तत्काल नष्ट गर्ने हुनाले अनुसन्धान जटिल हुने गरेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप