शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतसमक्ष प्रहरीको अचम्मको बयान :  बाँदरले सबै प्रमाण लिएर गयो

बिहीबार, २९ वैशाख २०७९, १० : ३५
बिहीबार, २९ वैशाख २०७९

राजस्थान प्रहरीले हत्याको एक मुद्दामा जयपुरको ट्रायल अदालतलाई हत्या गर्दा प्रयोग भएको हतियार (चक्कु) सहितका सबै प्रमाण बाँदरहरूले खोसेर लगेको जानकारी दिएको छ ।

सन् २०१६ मा युवकको हत्या प्रकरणमा अदालतले प्रहरीलाई अन्तिम सुनुवाइमा हत्याको प्रमाण पेश गर्न आदेश दिएको थियो ।

त्यसपछि प्रहरीले आफूले जफत गरेको हत्याका प्रमाणहरु आफूसँग अब नरहेको जानकारी अदालतलाई दिएको छ ।

बाँदरले प्रहरी चौकीबाट प्रमाण लगेको थियोः

जयपुर ग्रामीण पुलिस अधीक्षक (एसपी) मनीष अग्रवालले अदालतलाई लिखित रूपमा यसबारे जानकारी दिएका छन् ।

एसपी मनिष अग्रवालले बीबीसीलाई भने, ‘यो केस २०१६ को हो । तत्कालीन गोदामका इन्चार्जले सन् २०१७ मा बाँदरले प्रमाण लिएर गएको रिपोर्ट पेस गरेका थिए ।’

एसपी अग्रवालले भने, ‘प्रमाणको एसएफएल अनुसन्धान प्रतिवेदन प्राप्त भएको थियो । यस विषयमा अतिरिक्त एसपी जयपुर ग्रामीणले अनुसन्धान गरिरहेको छ ।’

प्रहरीका अनुसार हत्याका महत्वपूर्ण प्रमाण– चक्कु, रगतले लतपतिएको लुगा, घटनास्थलबाट लिइएको माटो, रगतको नमूना, चप्पल, मोबाइल फोनलगायत हत्यासँग सम्बन्धित १५ वटा महत्वपूर्ण प्रमाणहरु एउटा बाकसमा राखिएको थियो ।

प्रमाणको यो बाकस जयपुर ग्रामीणको चन्दवाजी थानाको टिन शेडमुनि राखिएको थियो ।

प्रहरीले भनेका विषयमा अदालतले पनि असन्तुष्टि जनाएको छ । सरकारी वकिलले जयपुर ग्रामीण एसपीलाई पत्र लेखेर यस विषयमा छानबिन गर्न माग गरेका छन् । अदालतमा सबै प्रमाण पेश गर्न मागसमेत गरिएको छ ।

तर, जयपुर ग्रामीण एडिशनल एसपी धर्मेन्द्रले भने, ‘प्रमाणको एसएफएल अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरिएको छ ।’

अदालतमा यो मुद्दाको अर्को सुनुवाई मे १३ मा हुने भएको छ ।

को जिम्मेवार ?

चन्दवाजी प्रहरी चौकीका अध्यक्ष दिलीप सिंहले बीबीसीलाई भने, ‘हत्याको प्रमाण गोदाममा थियो, त्यो समयमा बाँदरहरूले प्रमाण खोसेका थिए । अहिलेसम्म त कर्मचारी पनि परिवर्तन भइसकेका छन् र तत्कालीन गोदामका इन्चार्ज पनि सेवानिवृत्त भइसकेका छन्। ।’

उनले भने, ‘जसको हत्या भयो त्यो चक्कु, लुगा, चप्पललगायत सबै प्रमाण एकैठाउँ राखिएको थियो। फाइल अदालतमा रहेकाले हामीसँग पूर्ण जानकारी छैन । अझै पनि यहाँ धेरै बाँदर छन् ।’

प्रहरीले अदालतमा बाँदरले हत्याका प्रमाणहरु लिएर गएको भन्दै तत्कालीन गोदाम इञ्चार्ज हनुमान सहाय यादवले प्रहरी चौकीमा जाहेरी दिएका थिए ।

तर, हनुमान सहाय यादवको अवकाशपछि २०२१ सालमा उनको निधन भएको छ ।

सरकारी वकिलले प्रहरीले बताएको कथामाथि प्रश्न गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यो सम्पूर्ण घटनाको अनुसन्धान जयपुर ग्रामीण एडिशनल एसपी धर्मेन्द्रसँग छ ।

हत्याका दुई आरोपीः

जयपुर ग्रामीणको चन्दवाजीमा सिकरमा बस्ने शशिकान्त शर्मा प्राथमिक स्वास्थ्य केन्द्रमा सन् २०१६ मा मृत भेटिएका थिए ।

त्यसपछि परिवारले दिल्ली–जयपुर हाइवे जाम गरेर हत्याको आरोप लगाउँदै दोषीलाई पक्राउ गर्नुपर्ने माग गरे ।

विवाद बढेपछि प्रहरीले शशिकान्त शर्माको मृत्युको अनुसन्धानमा तीब्रता दियो । अनुसन्धानका बेला चन्दवाजीकै निवासी दुई युवकलाई हत्याको आरोपमा पक्राउ गरिएको थियो ।

आरोपीले भनेको ठाउँमा चक्कू बरामद गरिएको थियो । यसैबाट हत्या गरिएको आरोप लगाइयो । प्रहरीले अन्य थुप्रै प्रमाण जुटाएका थिए ।

हत्याबारे सुनुवाई जयपुरको तल्लो अदालतमा चलिरहेका ेछ । जहाँ पछिल्लो दुई दिनको सुनुवाईमा अदालतले प्रमाण पेश गर्न आदेश दिएका थिए । तर प्रहरीले अदालतसमक्ष प्रमाण त बाँदरले लिएर गएको जानकारी दिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप