बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा बढ्यो पेट्रोलियम खपत, दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल

बिहीबार, २९ वैशाख २०७९, ११ : ४५
बिहीबार, २९ वैशाख २०७९

निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो १० दिनको अवधिमा दैनिक १० हजार किलोलिटरसम्म डिजेल बिकेको बताए ।

‘पछिल्लो १० दिनमा पेट्रोलियमको बिक्री ह्वात्तै बढेको छ । दैनिक १० हजार किलोलिटरसम्म डिजेल र ५ हजार किलोलिटरसम्म पेट्रोल बिकेको छ,’ उनले रातोपाटीसँग भने, ‘तर, यही कारण बढी बिकेको भन्ने हामीलाई जानकारी हुँदैन । हामीले पम्पको मागअनुसार दिने हो ।’

१० दिनमा डिजेल/पेट्रोलको बिक्री अवस्था

बिक्री बढेसँगै बढ्यो घाटा
पेट्रोलियम पदार्थको बिक्री बढेसँगै निगमको घाटा समेत चुलिएको छ । सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटरदेखि ५५०० किलोलिटरसम्म डिजेल बिक्थ्यो । यस्तै, दैनिक २२०० देखि २५०० किलोलिटरसम्म पेट्रोल बिक्री हुन्थ्यो । जुन, अहिले बढेर डिजेल दैनिक १० हजारभन्दा बढी र पेट्रोल दैनिक ५ हजार किलोलिटरसम्म बढेको छ ।

यससँगै निगमको घाटा उच्च गतिमा बढिरहेको छ । हाल निगमले पेट्रोलको बिक्री मूल्य १६० रुपैयाँ र डिजेलको बिक्री मूल्य १४३ रुपैयाँ छ । निगमले पेट्रोलको बिक्रीमा प्रतिलिटर २३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ घाटा खाइरहेको छ ।

घाटामा बिक्री भइरहेको डिजेल पेट्रोलको खपत दोब्बरले बढ्दा घाटा बढिरहेको प्रवक्ता उपाध्याय बताउँछन् । यससँगै इण्डियन आयल कर्पोरेशनलाई गर्नुपर्ने भुक्तानी समेत बढेको उनको भनाइ छ । हाल निगमको मूल्य स्थिरिकरण कोष रित्तिसकेको छ भने तेल किनेको पैसा तिर्न वाणिज्य बैंकहरुबाट ऋण लिन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप