शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

बिहीबार, २९ वैशाख २०७९, १३ : २८
बिहीबार, २९ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।

वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने उनले बताए ।

अभिनेत्री रजनी केसी यतिबेला निर्वाचनकै लागि भनेर नुवाकोटमा छिन् । नुवाकोटको टुप्चे मतदान केन्द्रबाट उनी भोट खसाल्दैछिन् । गत निर्वाचनबाट मतदानको अवसर पाएकी केसी सबै नागरिकले मतदान गरेर राम्रो नेता छान्नुपर्ने बताउँछिन् ।  ‘मतदान हामी नागरिकको अधिकार हो,’ केसीले भनिन्, ‘म पार्टी भन्दा पनि पार्टीको घोषणापत्र हेरेर राम्रो उम्मेदवारलाई भोट दिन्छु ।’

गायक नविन पौडेल पनि अहिले काठमाडौंबाट पाल्पा पुगिसकेका छन् । पाल्पाको बगनासकालीको दर्लमडाँडामा उनी निर्वाचनकै लागि केही दिन अगाडि मात्र त्यहाँ पुगेका हुन् । मतदान हामी नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार भएकोले सबैले मताधिकार प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

‘मतदान देश, काल र परिस्थिति हेरेर प्रयोग गर्नुपर्छ । म मेरो गाउँ बस्ती एवम् क्षेत्रलाई हेर्न सक्ने सही उम्मेदवार छनोट गरेर मत खसाल्छु,’ नविनले भने, ‘विकासप्रेमी र राम्रो ब्यक्तिलाई भोट दिन्छु ।’

लोकप्रिय अभिनेता विपिन कार्की पनि बुधबार काठमाडौंबाट विराटनगर पुगेका छन् । चुनावका कारण सुटिङ नभएकाले भोट खसाल्नै भनेर गाउँ पुगेका हुन् । विराटनगर महानगरपालिका–३ को पुकेट क्याम्पस बुथबाट आफूले भोट हाल्ने विपिनले बताए । ‘मेरो पहिलेदेखि नै कुनै पार्टीप्रति आस्था छैन । हामीजस्ता युवाले राम्रो ब्यक्ति हेर्नुपर्छ,’ विपिनले भने, ‘अन्धाधुन्ध भोट हाल्दिनँ । जसले राम्रो गरेको छ, गर्छ भन्ने विश्वास गर्न सकिन्छ र छवि पनि राम्रो छ । त्यसलाई भोट हालेर फर्किन्छु ।’ चुनाव विकासप्रेमी नेता छान्ने एउटा अवसर भएको विपिनको भनाई छ ।

गायक यम बराल पनि अहिले इलाम पुगेका छन् । इलामको सूर्योदय नगरपालिका–१० मतदान केन्द्रका भोटर उनी स्थानीय चुनावमा भोट खसाल्ने उद्देश्यले केही दिन अगाडि काठमाडौंबाट इलाम पुगेका हुन् । उनी सबैलाई मतदानमा सहभागी हुन अनुरोध समेत गर्दछन् । आफ्नो स्वेच्छाले राम्रो मान्छे रोज्न सबैलाई सुझाएका बरालले भने, ‘स्थानीय निकाय भनेको जग हो । यसले देश विकासमा मद्दत गर्छ । पार्टीभन्दा माथि उठेर विकासप्रेमी, जनप्रिय नेतालाई जिताउन सबैमा अनुरोध छ ।’

त्यस्तै गीत रेकर्डिङमा सधै ब्यस्त रहने संगीतकार सन्तोष श्रेष्ठ पनि यतिबेला मतदान गर्न काठमाडौंबाट दाङ पुगेका छन् । पहिलो पटक यो बर्ष मतदानमा सहभागी हुन लागेको उनले बताए ।

स्थानीय तहको आवश्यकता बुझेर काम गर्न सक्ने उम्मेदवार सबैले रोज्नुपर्ने धारणा राख्ने श्रेष्ठले नागरिकको मौलिक अधिकार उपयोग गर्न निर्वाचनमा भाग लिन लागेको जनाउँछन् । सधै गुनासो गर्नुभन्दा असल उम्मेदवारलाई निर्वाचित गराउनु पर्ने उनको धारणा छ ।

त्यस्तै हास्यकलाकार शिवशंकर रिजाल पनि अहिले काठमाडौंबाट सर्लाही पुगेका छन् । टेलिभिजन कमेडी शो, स्टेज कार्यक्रम लगायतमा सधंै ब्यस्त रहने उनी निर्वाचनका लागि त्यहाँ पुगेका हुन् । आफ्नो स्थानीय तहमा राम्रो नेतृत्व चयनका लागि सक्षम ब्यक्ति जिताउन आफू गाउँ आएको रिजालले बताए । 

गायिका लक्ष्मी आचार्य पनि यतिबेला सुदूर पश्चिम पुगेकी छन् । कैलाली, टीकापुरकी गायिका आचार्य आफूले चाहेको उम्मेदवार जिताउने र मतदान गर्ने उद्देश्यले अघिल्लो साता त्यहाँ पुगेकी हुन् । हाम्रो भन्दा पनि राम्रो र जनप्रिय ब्यक्तिलाई आफूले मतदान गर्ने उनले बताइन् ।

‘५ बर्षमा एकपटक मतदानमार्फत राम्रो ब्यक्ति छान्ने अवसर मिल्छ । त्यो अवसर हामीले चुकाउनु हुँदैन,’ लक्ष्मीले भनिन् ।

चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका कलाकार रविन्द्र खड्का पनि बुधबार गृह जिल्ला काभ्रे पुगेका छन् । उनी काभ्रेको, पनौती नगरपालिका सुन्थाना कतदान केन्द्रका मतदाता उनी भोट खसाल्न त्यहाँ पुगेका हुन् । केही दिन पहिले मात्र नेपाली काँग्रेस प्रवेश गरेका उनी स्थानीय विकासमा अग्रसर, अहोरात्र खटिने र जुझारु उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । लोभलालच, डर, धम्की केहीमा नपरी निर्धक्क भएर मतदान गर्न समेत उनले सबैमा अनुरोध गरे ।

चर्चित संगीतकार चेतन सापकोटा विहीबार बिहानै  मकवानपुर पुगेका छन् । हेटांडा उप–महानगरपालिका–९ लामखुरे मतदान केन्द्रका मतदाता उनी आफू नजिकका पार्टीलाई सघाउन र मतदान गर्न गाउँ आएको बताउँछन् ।

‘सबै पार्टीले उत्कृष्ट उम्मेदवार उठाएका हुन्छन् । ती मध्ये पनि सर्बाेत्कृष्टलाई भोट हाल्छु,’ चेतनले भने, ‘प्रत्येक एक मत राम्रो उम्मेदवारका लागि निर्णायक पनि हुन सक्छ । त्यसैले भोट सबैले हाल्नुपर्छ ।’ 

चर्चित लोकगायिका राधिका हमाल पनि अहिले रोल्पा पुगिसकेकी छन् । त्रिवेणी गाउँपालिका–७ की बासिन्दा उनी चुनावकै लागि भनेर सोमबार रोल्पा पुगेकी हुन् । नेपाली काँग्रेस निकट साँस्कृतिक संघकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी उनले भनिन्, ‘मैले कुन उम्मेदवार जिताउने, तपाईंले कुरा बुझ्नु भयो होला क्यारे ।’

लोकगायक कस्तुप पन्त पनि तीन दिन अगाडि पर्वत पुगेका छन् । पर्वतको फलेबास नगरपालिका–७ का बासिन्दा उनी हाम्रो भन्दा पनि राम्रो उम्मेदवार जिताउन आफू गाउँ आएको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप