ad
x
सम्झनामा सञ्जु

‘सञ्जु बैनी, तिम्रो अर्को फोटो कहिले खिच्ने ?’

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

मंगलबार मेरो अफिस बिदा हो । म बिदाको दिन अलि लामो समय सुत्ने गर्छु । बिहान आठ बजे उठ्ने बित्तिकै फेसबुक खोले । तर सधैँझैँ फेसबुकमा रमाइला भिडियो, समाचार, गुड मर्निङ जस्ता जस्ता पोष्ट थिएनन् । त्यो दिन अपत्यारिलो र दुःखद खबर थियो । खेलकुद पत्रकार भएर होला खेलाडी र खेलसँग सम्बन्धित धेरै व्यक्तिहरू मेरो फेसबुकमा साथी छन् । खेलकुद सम्बन्धित धेरै व्यक्तिहरूको वालमा सञ्जु चौधरीको निधनको पोष्ट मात्र थिए । एकाबिहानै अपत्यारिलो खबर सुनियो ।


उसो त सबैजसो खेलाडी मेरो नजिक नै छन् । नेपालगञ्ज घर भएको कारण सञ्जु बैनीलाई अझ नजिकबाट चिन्थे । एउटा हँसिलो अनुहार, शरीरमा धेरै भार बहन गर्न सक्ने क्षमता भएकी निडर खेलाडी । उनले आत्महत्या गरेको खबर मलाई जस्तै धेरैलाई अहिले पनि अपत्यारिलो लागिरहेको छ । 



नलागोस् पनि कसरी ? निडर भएर आफ्नो सँगै देशको जितका लागि सधैँ तयार रहने उनी कसरी जीवनदेखि यति चाँडै हार मान्न सक्छिन् ? सञ्जुको खेल जीवन र संघर्षको अनि जितको कथा लेखेको मलाई उनले जिन्दगीदेखि हार खाएको सुन्दा किन किन अपत्यार लाग्यो । त्यसपछि झट्ट सञ्जुको फेसबुक वाल सर्च गरें । 



‘मिस यू लभ’ भन्दै फेसबुकमा उनको पोष्ट थियो । सञ्जुले १८ घण्टा पहिले आर्यन नामक् पेजबाट एउटा भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा ‘फाइन्ड समवान हु नेभर स्टेप ब्याक आफ्टर अ प्रमिस (यस्ता व्यक्ति खोज जसले बाचा गरेपछि पछि हट्दैनन्)’ लेखिएको थियो । 



अनि मैले पनि सम्झिएँ, सञ्जु बैनी, तिमीले पनि त मलाई बाचा गरेकी थियौ । हाम्रो अर्को भेटमा फोटो खिच्ने भनेर । 



सञ्जुसँग मरो अन्तिम भेट गत वर्ष पुसमा बाँके जिल्ला फुटबल लिग दौरान नेपालगञ्ज रंगशालमा भएको थियो । त्यसबेला सञ्जुले ‘दाइ नमस्ते, हाम्रो पनि फोटो खिचिदिनु न,’ भन्दै आग्रह गरेकी थिइन् । 



मैले ‘भइहाल्छ नि बैनी’ भन्दै क्यामेरा तेर्स्याएँ । 



सञ्जुको फोटो खिच्दा देखावटी हाँसो निकाल्न भन्नु पर्दैन । उनको अनुहार यसै हँसमुख थियो । फोटो खिच्ने समयमा सञ्जुसँगै उनका दुई जना साथी पनि थिए । 



मैले पोज पोजका फोटो खिचेपछि अन्तिममा सञ्जुले, ‘दाइ अर्को फोटो कहिले खिच्ने ?’ भनेर प्रश्न गरिन् । 

‘काठमाडौंमा भेट भैहाल्छ नि बैनी,’ भन्दै मैले उनको मुस्कान सहितको प्रश्नको उत्तर मुस्कानमै दिएँ । 

‘कहिले फर्किनु हुन्छ दाइ काठमाडौं ?’ सञ्जुले सोधिन् । मैले अब एक सातापछि फर्किने बताएँ । 

त्यही पुसको भेट नै सञ्जु र मेरो अन्तिम भेट रह्यो । पुस फासफुस भन्छन् । हाम्रो भेट फासफुस भयो । मंगलबार दिउँसो पाेस्टमार्टमका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सञ्जुको पार्थिव शरीर राखिएको थियो । 

सञ्जुको अन्तिम बिदाईमा मैले उनको फोटो खिच्ने हिम्मत जुटाउन सकिन, आँट नै आएन । किनकि उनले मलाई हँसिलो अनुहारसँगै फोटो खिच्ने बाचा गरेकी थिइन् । जो अब असम्भव थियो । काश, त्यसबेला सञ्जुले ‘दाइ नमस्ते, मेरो फोटो खिचिदिनु न,’ भन्दै जुरुक्क उठेर मुस्कान दिएको भए...। 

खेलकुद पत्रकारिताको सात वर्षे दौरान मैले धेरै खेलाडीको जीवन र सफलताको कथा लेखेँ । मैले सञ्जुको ‘बाटो मोडिएपछिको स्वर्ण’ शीर्षकको स्टोरी पनि लेखेको थिएँ । 

सञ्जुले क्रिकेट खेल्थिन् भन्दा अचम्म लागेको थियो । भारत्तोलनमा देशका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी खेलाडी सञ्जु राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पनि परेकी थिइन् । 

उनको संघर्षको कथा सुन्दा कहिले नहार्ने व्यक्तिको संज्ञा दिन सकिन्थ्यो । तर निडर व्यक्तिभित्र पनि पीडा र डरले ठाउँ ओगटेको हुन्छ भन्ने अहिले महसुस हुँदैछ । 

सञ्जुको निधनले एउटा परिवारले आफ्नो सन्तान गुमाएको छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष देशले एक होनहार खेलाडी गुमाएको छ । मैले खेलकुदको माध्यमबाटै जोडिएकी मायालु बैनी गुमाएको छु । कामना गर्छु, उनी  मेरो स्वप्नलोकमा आऊन् र म सोध्न सकुँ, ‘सञ्जु बैनी, तिम्रो अर्को फोटो कहिले खिच्ने ?’ 

यो घटनाले नेपाली खेलकुदमा मानसिक स्वास्थ्य र यसको समाधानको विषयमा सबैलाई जानकारी दिनुपर्छ भन्ने शिक्षा पनि दिलाएको छ । 

 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X