शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होटल हिमालयमा १० हजार तिर्न नसकेर सलिम मियाँ अन्सारीले गरे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन

रघुवीर महासेठ र जुली महतोले चरित्र हत्या गर्न षड्यन्त्र गरेको आरोप
बिहीबार, २९ वैशाख २०७९, १८ : ०४
बिहीबार, २९ वैशाख २०७९

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी बिहीबार दिउँसो ३ बजे होटल हिमालय कुपण्डोलमा बेचैन मुद्रामा थिए । उनको मोबाइलमा निरन्तर फोन बजिरहेको थियो । जनकपुरमा मतदातालाई पैसा बाढेको, ५ करोड बाँड्दै गर्दा प्रहरीद्वारा पक्राउ जस्ता शीर्षकहरू केही अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा छाइरहेको थियो ।

सोही विषयलाई प्रस्ट पार्न उनले होटल हिमालय कुपण्डोलमा सञ्चारकर्मीहरूलाई बोलाएका थिए । पत्रकार सम्मेलन गर्नका लागि हलको भाडा महँगो पर्ने देखियो । उनले बाहिर खुला स्थानमा गर्ने र होटललाई चिया कफीको व्यवस्था गर्न । भने तर होटलका व्यवस्थापकले हल बुकिङ नगरी खुला ठाउँमा कार्यक्रम गर्न नदिने बताए । आठ–दश जना अट्ने सानो कोठामा आधा घण्टा कार्यक्रम गरेको १० हजार रुपैयाँ पर्छ भने पनि उनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्ने निर्णय गरे । सञ्चारकर्मीहरूलाई पनि जाउलाखेलमा रहेको कार्यालयमा बोलाएर होटलमा पत्रकार सम्मेलन नगरी बाहिरिए । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान​मा रहेको कार्यालयमा पुगेपछि अध्यक्ष अन्सारीले आफूमाथि एमालेका नेता एवं पूर्व मन्त्री रघुवीर महासेठ र जुली महतोले चरित्र हत्या गर्न षड्यन्त्र गरेको बताए । आफू इदका अवसरमा भेटघाटका लागि मुस्लिम समुदायको कार्यक्रममा गएको र जनकपुरको होटलमा आएर बसेको अवस्थामा महासेठले एमालेका कार्यकर्ता पठाएर चरित्र हत्या गरेको बताए । 

उनले भने–‘अस्ति राती म जनकपुर पुगेको थिएँ, हिजो बिहान मदराशामा इदको शुभकामना आदान प्रदानको कार्यक्रम थियो । हिजो कार्यक्रम सकिएपछि आज बिहान साढे १२ बजेको फ्लाइटमा काठमाडौं आउँदै थिएँ । ११ बजेको समयमा म बसेको होटलमा नौ दश जना गुण्डाहरू प्रवेश गरेर ममाथि हमला गर्ने प्रयास भयो । यहाँ उम्मेदवारहरूलाई बोलाएर पैसा बाँडेको भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौं पैसा बाँड्न लागिएको भनेर आरोप लगाउनुभएको छ । जुन एकदमै गलत कुराबाट म अत्यन्तै दुखित भएको छु ।’

उनले आफू कुनै दलको नेता कार्यकर्ता नभएको र राज्यको संवैधानिक अंग मुस्लिम आयोगको अध्यक्ष भएकोले समग्र मुस्लिमहरूको उत्थानका लागि काम गरिरहेको बताए । उनले आफू जनकपुरमा कुनै राजनीतिक पार्टीलाई जिताउन वा हराउन भन्नका लागि नगएको बताए, बरु आफूले पाएको संवैधानिक जिम्मेवारी इमानदारिताका साथ पूरा गरिरहेको बताए । एमाले नेता रघुवीर महासेठ र जुली महतोले एमाले नगर कमिटीका सुरेन्द्र भण्डारीसहितका मान्छे पठाएर आफ्नो बदनाम गर्ने काम गरेको उनको भनाइ छ । भण्डारीलाई प्रहरीले पक्राउ गरेको बताउँदै उनले आफू जुन पार्टीबाट मुस्लिम आयोगका लागि सिफारिस भएको हो सोही पार्टीका नेताका इशारामा आफ्नो चरित्र हत्याको प्रयास भएको बताए । 

नाराबाजी गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको डिएसपी आएर कहाँ जानुहुन्छ स्कर्टिङ गरिदिन्छु भन्दा र गलत बुझाई नहोस् भनेर आफूले आफ्नो सुटकेस ब्याग आफैले खोलेर देखाउँदा प्रहरी नै लज्जित भएको उल्लेख गरे । उनले भने–‘मलाई पैसा बाँडेको आरोप लगाएपछि मैले आफ्नो सुटकेस खोलेर त्यहाँभित्र रहेको सबै कपडा देखाइदिए, उहाँहरूले दुःख व्यक्त गर्नुभयो । तपाईलाई खानतलासी हैन हामी सुरक्षा दिन आएका हौँ भन्नुभयो । पक्राउ गरेको हल्ला चलाइयो तर उहाँहरूले नै मलाई स्कर्टिङ गरेर विमानस्थलसम्म ल्याइदिनुभएको हो ।’

उनले आफ्नो चरित्र हत्या गर्न लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग, सुरक्षा निकायलाई ध्यानाकर्षण गराउने बताउँदै दोषीमाथि कारबाहीको माग गरे । उनले यसबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप