बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा स्थानीय तह निर्वाचन : सहरबजारतिर शान्तिपूर्ण, गाउँघरमा तनावग्रस्त !

विभिन्न जिल्लामा गरी १८ जना घाइते, दुई जनाको मृत्यु
शुक्रबार, ३० वैशाख २०७९, १९ : ३६
शुक्रबार, ३० वैशाख २०७९

शुक्रबार देशैभर स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । यसै क्रममा कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लाका सबैजसो स्थानमा मतदान शान्तिपूर्ण तरिकाले भएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।

निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले सुर्खेतका कुनै पनि ठाउँमा मतदान बिथोल्ने, झडप हुने कार्य भएका छैनन् । यद्यपि कर्णालीका केही जिल्लाका ग्रामीण क्षेत्रमा भने तनावपूर्ण अवस्था रह्यो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा प्रहरीले गोली चलाउनुपर्ने स्थिति निम्तियो । जिल्लाको चङ्खेली गाउँपालिका–२ मा रहेको महादेव माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा बिहान आठबजेतिर झडप भएको थियो । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको थियो ।

स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी समेत घाइते भएका छन् । झडपले उग्र रुप लिने देखिएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित गर्नुपरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले रातोपाटीलाई जानकारी दिइन् । घाइते निर्वाचन अधिकृत आचार्यको हेलिकप्टरबाट उद्धार गरिएको छ  ।

हुम्लाकै खार्पुनाथ गाउँपालिका–१ को मालिका माविको मतदान स्थलमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् । त्यहाँ मतदान गर्दा सहयोगी राख्ने विषयमा विवाद भएको थियो । हुम्लामा स्थिति नियन्त्रण बाहिर जाने भएपछि सुर्खेतबाट नेपाली सेनाको टोलीलाई हेलिकप्टरबाट पठाइएको थियो ।

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटको एक मतदान केन्द्रमा पनि विवाद हुँदा मतदान प्रक्रिया स्थगित भएको थियो । कालिका माध्यमिक मतदान केन्द्रमा माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङले जानकारी दिइन् ।

काकिलोटकै तिलागुफाको मालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा शंकास्पद बस्तु फेला परेको थियो । त्यहाँ केही समय मतदाता त्रसित बनेको भए पनि केही समयभित्रै सेनाले डिस्पोज गरेको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेलले रातोपाटीलाई जानकारी दिए ।

उता जुम्लामा पनि झडप भएको थियो । जिल्लाको गुठीचौर गाउँपालिका गज्याङकोटस्थित शंकर बहुद्देश्य माध्यमिक विद्यालयको मतदान केन्द्रमा काँग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान स्थगित भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजय प्रसाइँले जानकारी दिए ।

त्यहाँ मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ । झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको छ ।

यता दैलेखको ठाटीकाँध र आठबीस नगरपालिकामा पनि चुनाव तनावग्रस्त बन्यो । आठबीस नगरपालिका–६ को भैरव माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दुर्गा थापा, कल्पना थापा, दिल्ली थापा, बलबहादुर थापा लगायतका छन् ।

स्थिति उग्र बन्दै गएपछि त्यहाँ पनि केही समयका लागि मतदान प्रक्रिया स्थगित गरिएको थियो । अवस्था नियन्त्रणमा आएपछि पुनः मतदान सुचारु गरिएको थियो भने कर्णालीका सभामुख राजबहादुर शाहीको गृह नगर ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यमिक विद्यालयमा पनि झडप भएको छ ।

त्यहाँ सभामुख शाहीका स्वकीय सचिव अमरबहादुर शाहीले एक वृद्धको भोट दुरुपयोग गरेको भन्दै विवाद सुरु भएको थियो । जसका कारण सभामुख शाहीमाथि समेत हातपातको प्रयास भएको थियो । त्यहाँ काँग्रेस, माओवादी र नेमकिपा एकातिर र एमाले अर्कोतिर भएर झडप भएको स्थानीय जीवराज रेग्मीले जानकारी दिए । अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा सामान्य विवाद भए पनि ठुलै घटना भने नभएको रातोपाटीलाई जानकारी दिए ।

उता, रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका–७ मा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–७ मा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले बताए ।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

यता सुर्खेतको वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको छ । दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो । सोही रूखले किचेर पुलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप