शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकको गुनासो – भोट दिन सहज, सेवा लिन झन्झट

शुक्रबार, ३० वैशाख २०७९, २२ : २६
शुक्रबार, ३० वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार देशभर मतदान भएको छ । मतदान केन्द्रहरूमा युवादेखि ज्येष्ठ नागरिकहरूको उत्साहपूर्ण सहभागिता थियो । ज्येष्ठ नागरिकहरू मतदान केन्द्रमा बिहान सात बजेदेखि नै मतदानका लागि पुगेका थिए ।

बुढ्यौलीमा उमेरमा पनि युवा जोशका साथ मतदानका लागि पुगेका काठमाडौँ उपत्यकावासी केही ज्येष्ठ नागरिकसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । यस क्रममा उनीहरू आफ्नो मताधिकार प्रयोगका लागि सचेत साथै जागरुक पनि पाइए ।

२०५२ सालदेखि काठमाडौंमा बस्दै आएका नलराज बन्जाडेको स्थायी घर अर्घाखाँची हो । काठमाडौँ–१०, बुद्धनगरका मतदाता उनी सहरमा मतदानका लागि लाइन लागेका भेटिए पनि मन भने गाउँमै पुगेको बताउँछन् ।

उमेरले ६० वर्ष पुगेका बन्जाडेले मतदान केन्द्रमा ज्येष्ठ नागरिकका लागि कुनै समस्या नभएको बताए । उनी भन्छन्, ‘भोट हाल्न कुनै असुविधा छैन, जनताले सेवा लिनुपर्ने ठाउँमा भने सास्ती हुन्छ ।’ यहाँको रैथाने र बाहिरबाट आएका नागरिकबीच फरक व्यवहार हुने गरेको उनको गुनासो छ । ‘म यहीँ (काठमाडौँ) को बासिन्दा हुँ, यहीँ मत दिन्छु तर पनि बाहिरबाट आएको भनेर विभेद हुन्छ,’ उनले भने ।

वडामा एउटा सिफारिस बनाउन पर्‍यो भने अनेक समस्या देखाउने गरेको उनको भनाइ छ । आफ्नो घरमा ७ जना मतदाता रहेको बताउँदै उनले आधा घण्टा लाइन लागेर मत दिएको जानकारी दिए । मतदानका लागि आधा घण्टा लाइन बस्नु समस्या नभएको उनको भनाइ छ ।

ललितपुर वडा नम्बर ११ की नक्कली महर्जनले पनि खासै धेरै समय लाइन बस्न नपरेको बताइन् । जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकको सुविधाका लागि ध्यान दिउन् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘कतिपय आमाबुवालाई आफ्नै सन्तानले नहेरेर बुढेसकालमा दुःख पाइरहेका हुन्छन् । कति अभिभावक निःसन्तान हुन्छन्, उनीहरूको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ । नत्र हामीले भोट हालेको के काम ?’

घुँडामा समस्या भएर हिँड्न नसक्ने अवस्थामा पनि उनलाई छोराले बोकेर मतदानका लागि मतदान केन्द्रसम्म ल्याएका थिए । उनको घरमा ८ जना मतादाता छन् । संयुक्त परिवार भएकाले आफ्नो परिवारले नै एउटा नेतालाई जिताउन सक्ने भन्दै उनले रमाइलो पनि गरिन् । उनी भन्छिन्, ‘हामीले भोट हालेको नेताले जितेको हेर्न आतुर छु । जितोस् भनेर शुभकामना पनि दिन चाहन्छु । जितेर गएपछि हाम्रो मतलाई नबिर्सिउन् भन्ने लाग्छ ।’

काठमाडौँ–१०, बुद्धनगरकै ८३ वर्षका वीरबहादुर तण्डुकारले पनि उत्साहका साथ मतदान गरे । ज्येष्ठ नागरिकहरुका लागि लाइन बस्न नपर्ने व्यवस्था भएकोमा खुसी लागेको उनले सुनाए । ‘आफूले मत हालेको मान्छेले जिते हुन्थ्यो भन्ने लाग्ने रहेछ,’ उनले भने, ‘राम्रै नेतालाई भोट दिएको छु, उसैले जिते हुन्थ्यो भन्ने लाग्ने रहेछ ।’

जीवनमा अहिलेसम्म भोट कति पटक हालियो भन्ने याद नभएको उनले बताए । तर हरेक निर्वाचनमा आफूले मताधिकार प्रयोग गर्ने उनको भनाइ छ ।

उमेरले ७० वर्ष हाराहारी पुगेको बताउने मधुरादेवी श्रेष्ठले मतदान केन्द्रमा ज्येष्ठ नागरिकका लागि राम्रो व्यवस्थापन गरिएको बताइन् । लौरो टेक्दै मतदान केन्द्रमा आएकी श्रेष्ठले भोट हाल्न २० मिनेट भन्दा बढी नलागेको बताइन् । उनले भनिन्, ‘लाइन बस्न परेन । तर ज्येष्ठ नागरिकलाई भोट हाल्ने बेलामात्रै सहज बनाइदिएर हुँदैन । भोलि चुनाव जितेपछि हाम्रो जीवनयापन सहज छ कि छैन, औषधिउपचार पायो कि पाएन भन्ने पनि हेर्नुपर्छ ।’ आफूले भोट हालेको मान्छेले जित्नेमा उनी विश्वस्त थिइन् ।

बुद्धनगरकै सुनिता भित्रकोटी ‘परियार’ ले ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अशक्तका लागि लाइन नबसी मतदान गर्न मिल्ने व्यवस्था गरिएको बताइन् । ३०÷३५ जनाभन्दा धेरै सहयोगी परिचालन गरी मतदान गर्न आएका कसैलाई पनि असहज नहोस् भनेर व्यवस्था गरिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप