ad
x

वैदिक कथा : देवराज इन्द्र किन ठगिए ?

person explore access_timeजेठ १, २०७९ chat_bubble_outline0

नीतिशास्त्र भन्छ शुभकार्य गर्न विलम्ब गर्नुहुँदैन र साइत पर्खनु पनि राम्रो होइन । यस्ता कार्य सकेसम्म भोलि गर्छु भनिएको भए आजै गर्नुपर्छ, भरे गर्छु भनिएको भए अहिले नै गर्ने प्रयास गर्नुपर्छ । कसलाई थाहा भरे र भोलि आउँछ कि आउँदैन भनेर । पहिलो कुरा मन यति चञ्चल छ कि कति बेला परिवर्तन हुन्छ पत्तै हुँदैन । दोस्रो कुरा मनले साथ दिए पनि कालले पनि साथ दिन्छ नै भन्न सकिन्न तर नराम्रो काम गर्नुपर्ने अवस्था छ भने सकेसम्म भोलि र भरे भनेर टार्ने प्रयास गर्नुपर्छ ताकि सके त त्यस्तो काम गर्नुपर्ने अवस्था नै नआओस् । आइहाले पनि सकेसम्म कम क्षति हुने तरिका सोच्न सकियोस् । यसबारे वेदमा एउटा रोचक कथा छ, जुन कथा भाइबहिनीहरूका जानकारीका लागि प्रस्तुत गर्ने जमर्को गरेको छु ।


धेरै पहिलेको कुरा हो । एकपटक महर्षि अगस्त्य कुनै विशेष यज्ञ गर्दै थिए । यज्ञमा प्रायः सबै देवीदेवतालाई निमन्त्रणा गरिएको थियो । अगस्त्यले पहिलो यज्ञभाग देवराज इन्द्रलाई दिने विचार गरी मन्त्रद्वारा आह्वान गरे तर देवताका राजा इन्द्र न ठहरे भन्ने बित्तिकै किन आउँथे र । यसै पनि उनमा देवताका राजा हुँ भन्ने घमण्ड थियो । त्यसमाथि तत्काल अर्कै कामका व्यस्त थिए । अगस्त्यले निश्चित समयसम्म प्रतीक्षा गर्दा पनि इन्द्र आइनपुगेकाले सो भाग मरुद्गणलाई दिए तर भइदियो के भने मरुद्गणले ग्रहण गर्नै लागेका बेला इन्द्र आइपुगे र रिसाउँदै भने–



‘ए ! पख, पख त्यो भाग मेरो हो, तिमीहरूले पाउँदैनौ ।’



उनको कुरा सुनेर मरुद्गणले आश्चर्य मान्दै भने–



‘देवराज ! तपाईँलाई भ्रम भएजस्तो छ । यो यज्ञभाग त हाम्रो हो, भरखरै महर्षि अगस्त्यले दिएका, नपत्याए सोध्न सक्नुहुन्छ ।’



‘केरे ! मलाई भ्रम भा’को रे ?’



‘हो देवराज !’

‘भ्रममा म होइन तपाईँहरू हुनुहुन्छ ।’

‘हरे ! यसका निम्ति महर्षिले हाम्रै निम्ति वेदका ऋचा गाउनुभएको छ भने कसरी भन्न सक्नुहुन्छ कि हामी भ्रमित भएका छौँ भनेर ।’

‘लाज छैन त्यस्तो कुरा गर्न ? अर्काको भाग खोसेर खान खोज्ने अनि आफैँ त्यस्तो कुरा गर्ने ?’

‘लाज रे ?’

‘हो लाज ।’

‘लाजकै कुरा गर्नुहुन्छ भने हामीलाई होइन तपाईँलाई हुनुपर्ने हो, जो दोस्राको दाना, पानीमाथि दावी गर्दै हुनुहुन्छ ।’

‘अरू कुरा थाहा छैन, त्यो यज्ञभाग मेरो हो ।’

‘के छ प्रमाण ?’

‘किन छैन ? त्यसमा मेरो नाम लेखिएको छ ।’

देवराज इन्द्रको कुरा सुनेर मरुद्गणले छक्क पर्दै अगस्त्यको अनुहारमा हेरे । अगस्त्यजी धर्मसङ्कटमा परे । विचराले आखिर गरुन् पनि के । पहिले बोलाइएको त इन्द्रलाई नै हो । उनी समयमै नआएकाले मात्र मरुद्गणलाई दिएका हुन् । त्यसैले विवाद सुल्झाउने प्रयास गर्दै भने–

‘तपाईँहरू दुवै सही हुनुहुन्छ । मेरा निम्ति अतिथि हुनुहुन्छ, अतिथि भएका नाताले दुवै सम्मानित हुनुहुन्छ । पहिलो यज्ञभाग देवराज इन्द्रलाई छुट्याएको भए पनि उहाँले आउन ढिलो गर्नुभएकाले यसको अधिकारी मरुद्गण नै हुनुहुन्छ । त्यसैले देवराज इन्द्रलाई समजदारी देखाउन आग्रह गर्दै उहाँका निम्ति अर्कोे यज्ञ गर्ने घोषणा गर्छु ।’

त्यसपछि देवराज इन्द्रले अगस्त्यतर्फ फर्कँदै भने–

‘महर्षिजी ! तपाईँ मलाई खेलाउन खोज्दैहुनुहुन्छ । कसरी भन्न सक्नुहुन्छ कि अर्को यज्ञ गर्ने अवसर पाउँछु भनेर ? मलाई त मीठो बोलेर झुक्याउन सक्नुहोला तर के काललाई पनि त्यसैगरी झुक्याउन सक्नुहुन्छ ?’

‘अर्थात् ?’

‘अर्थात् यही कि मलाई पख भनेजस्तै काललाई पनि पख भन्न सक्नुहुन्छ भनेको नि ?’

‘त्यो त सक्दिन तर....।’

‘तर ?, के तर ?’

‘यही कि आजै अर्को यज्ञको आरम्भ गर्नेछु ।’

‘लौ मानेँ आजै अर्को यज्ञ गर्नुहोला रे तर के त्यतिबेलासम्म पनि जीवितै रहनुहुन्छ भन्ने ग्यारेन्टी छ ?’

‘त्यो त छैन ।’

‘अनि ?’

‘त्यसो भए केही बेरमै गर्नेछु ।’

‘त्यो पनि ठीकै छ । मानौँ केही बेरमै गर्नुहोला, काल पनि आउने छैनन् तर के तपाईँको मन पनि त्यतिबेलासम्म स्थिर रहन सक्छ ?’

‘त्यो त सक्दैन । उसको स्वाभाव नै चञ्चल छ ।’

‘त्यति बेलासम्म यज्ञ गर्ने मन नै परिवर्तन भयो भने ?’

उनको कुरा सुनेपछि अगस्त्य नराम्ररी झस्के तर झस्केर हुनेवाला थिएन । कुनै उपाय निकाल्नै पर्ने थियो । त्यसैले दुई हात जोर्दै भने–

‘देवराज ! तपार्ईँले भन्नुभएको सही हो । ग्यारेन्टी कुनै कुराको पनि छैन । न कालको छ न मनको तर पनि के गरुँ यज्ञभाग मरुद्गणलाई दिसकेँ । त्यसैले एकपटकका लागि माफी चाहन्छु ।’

अगस्त्यको कुरा सुनेर इन्द्र खाली मुखले फर्कन वाध्य भए । अगस्त्यले तत्कालै अर्को यज्ञ गर्ने प्रयास गरे तर यज्ञजस्तो कुरा भन्ने बित्तिकै कहाँ हुन्थ्यो र । लामो समयसम्म गर्नै सकेनन् । 

यसरी इन्द्रले समयको हेक्का राख्न नसक्दा मुखमै आएको दाना पनि गुमाउनुप¥यो । काम साँची आफूलाई खाना साँची अर्कोलाई भन्ने उखान किन खेरजान्थ्यो र ।

ऋग्वेद प्रथम मण्डलको १६९ र १७० औँ सूक्तमा सूत्रात्मकरूपले आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर कुनै पनि काम समयमा गर्न सकिएन भने विविध विघ्न पर्न सक्ने कुरालाई भने बिर्सनुहुँदैन । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।