शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अण्डा पारेपछि आत्महत्या गर्ने यो जीव

आइतबार, ०१ जेठ २०७९, १४ : ४४
आइतबार, ०१ जेठ २०७९

समुद्रमा पाइने अक्टोपसको जीवनबारे यो कुराले तपाईंलाई हैरान पनि बनाउन सक्छ र दुःखी पनि । अक्टोपस त्यो जीव हो जुन निकै कम उमेरमा नै अनाथ हुने गर्छ । यसरी बुझ्नुहोस् कि अक्टोपसका आमा–बुवा बच्चाको जन्मसम्म मात्रै बाँच्छन् । यसमा पनि जसरी पोथी अक्टोपसको मृत्यु हुन्छ, त्यो निकै दर्दनाक छ ।

पोथी अक्टोपसबारे थाहा पाउँदा जोसुकैलाई पनि दुःख लाग्ला किनभने यसले अण्डा पारेपछि नै आत्महत्या गर्ने गर्छ । त्यो पनि निकै भयानक तरिकाले । पोथी अक्टोपसले अण्डा दिएपछि खाना खानै छोड्छ र आफैँलाई चोट पुर्याउने गर्छ । उसले आफ्नो शरीरबाट आफ्नै छाला लुछेर अलग गर्छ, साथै आफ्नो टेन्टकल्सको टुप्पो पनि टोक्ने गर्छ ।

जब अक्टोपसका बच्चा अण्डाबाट बाहिर निस्कन्छ, त्यतिबेलासम्म त ती बच्चाका आमाको मृत्यु भइसकेको हुन्छ । त्यसको केही महिनामा पिताको पनि मृत्यु हुन्छ । अक्टोपसको छोटो र निकै दर्दनाक जीवनले सधैँ वैज्ञानिकको ध्यान आकृष्ट गर्दै आएको छ । सन् १९४४ मा अनुसन्धाताले सम्भोगपछि अक्टोपसले यस्तो गर्ने अनुमान लगाएको थियो ।

८० वर्षपछि वैज्ञानिकको त्यहि अस्पष्ट परिकल्पनाले आकार लिइरहेको छ । अनुसन्धानकर्ताले हालै पत्ता लगाए अनुसार सम्भोग वा सेक्सले पोथी अक्टोपसको हर्मोनमा कोलेस्ट्रोल आधारित थुप्रै महत्वपूर्ण बायोकेमिकल मार्गहरुमा परिवर्तन हुनेगर्छन् ।

शिकागो युनिभर्सिटीमा अनुसन्धान गर्ने मोलिक्यूलर बायोलोजिस्ट जेड यान वांगले आहारको दृष्टिकोणले र शरीरमा विभिन्न सिग्नलिङ सिस्टमका लागि कोलेस्ट्रोल महत्वपूर्ण हुने बताए । यो कोसिकाको झिल्लीको लचिलोपनदेखि तनाव हर्मोन बन्नका लागि जिम्मेवार छन् । उनी भन्छन्, ‘तर यहाँ अचम्म के छ भने यसले यिनीहरुको जीवन चक्रमा पनि महत्वपूर्ण भूमिका निभाउँछन् ।’

मानिसमा पनि कोलेस्ट्रोलको स्तर उच्च भयो भने यो घातक हुने गर्छ । वंशानुगत विकारले कोलेस्ट्रोल मेटाबोलिजमलाई बढाउँछ, यसले व्यवहार सम्बन्धि समस्या पैदा हुन्छ । यसमा बारम्बार आफैँलाई चोट पुर्याउने, खाना नखानेलगायत पनि समावेश हुन्छन् । धेरै गम्भीर स्थितिमा यो घातक पनि हुनसक्छ ।

अक्टोपस र स्विडसमा पाइने एउटा सानो अङ्गका कारण यस्तो भएको हो भनेर पत्ता लगाउन वैज्ञानिकलाई धेरै वर्ष लाग्यो । सन् १९७७ मा अनुसन्धानकर्ताले पत्ता लगाए अनुसार अप्टिक ग्रन्थी अक्टोपसको पहिले नै निश्चित मृत्युका लागि जिम्मेवार छन् । अप्टिक ग्रन्थीले मानिसमा पिट्युटरी अंगले झैँ काम गर्छ । यो अक्टोपसको आँखाको बीचमा हुन्छ र यो सेफलोपोड्समा यौन विकास र बढ्दो उमेरसँग सम्बन्धित हुन्छ ।

यदि पोथी अक्टोपसबाट अप्टिक ग्रन्थीलाई हटाइदिने हो भने ऊ अण्डा पारेको केही महिनापछिसम्म जिवित रहन सक्छ । सन् २०१८ मा वैज्ञानिकले यस सन्दर्भमा दुई पोथी अक्टोपसको दुई अप्टिक ग्रन्थिको आरएनएको सिक्वेन्स गरे । एउटा मृत्यु हुन लागेको अक्टोपसको थुप्रै्र जिनमा गतिविधिको उच्च स्तर देखियो जसले सेक्स हर्मोन, इन्सुलिन हर्मोन र कोलेस्ट्रोल मेटाबोलिजमलाई नियन्त्रण गर्छ ।

अब त्यहि अनुसन्धानकर्तामध्ये केहीले सामान्य पोथी अक्टोपस र यौन सम्बन्ध स्थापित गरेको पोथी अक्टोपसको अप्टिक ग्रन्थिबाट निस्कने मोलुक्युल्स (अणु) को सिधा विश्लेषण गरे । यो शोध करेन्ट बायोलोजीमा प्रकाशित भएको छ । अनुसन्धानमा पाइए अनुसार यौन सम्बन्धपछि अप्टिक ग्रन्थि वास्तवमा धेरै सेक्स हर्मोन, इन्सुलिनजस्ता हर्मोन र उच्च स्तरको कोलेस्ट्रोलको श्राव गर्छ । वैज्ञानिकका अनुसार यी तिनै मोलिक्यूल्स अक्टोपसको मृत्युको कारण बन्ने गर्छ । न्युरोबायोलोजिस्ट क्लिफ्टन रेग्सडेलका अनुसार जब अक्टोपसमा यो परिवर्तन हुन्छ तब मृत्युभन्दा ठिक अघि उनीहरु पागलजस्तै हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप