शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मतगणनामा किन हुँदैछ ढिलाइ ? यी हुन् प्रमुख कारण

मुख्य निर्वाचन अधिकृत भन्छन्, ‘६४ लहरको मतपत्र छ समय त लागिहाल्छ’
सोमबार, ०२ जेठ २०७९, ०६ : ५२
सोमबार, ०२ जेठ २०७९

काठमाडौं महानगरपालिकामा भइरहेको मतगणनाको विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोश र ब्यङ्ग्य भइरहेको छ । अन्तिम मतपरिणाम आउँदा हाल चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह बुढो हुनेदेखि मतगणना गर्न विजय शाहीलाई बोलाउनुपर्ने सम्मका अभिव्यक्ति दिएका छन् । अनि कतिपयचाहिँ लकडाउनको बेलामा एक किलो चामलमा कति वटा दाना हुन्छन् भन्दै गन्नेलाई मतगणनामा बोलाउनुपर्ने भन्दै मजाक गरिरहेका छन् ।
 
यो मजाक यसकारण आइरहेको छ कि अहिलेकै गतिमा मतगणना हुने हो भने मत परिणाम आउन करिब ३४ दिन लाग्ने देखिन्छ । किनभने काठमाडौं महानगरपालिकामा १ लाख ९० हजारभन्दा केही बढी मत खसेको छ । र, अहिलेकै गतिमा यो मत गन्न ३४ दिन लाग्नेछ । 

अहिले मतगणना ढिलाइ हुँदा यसको सबै दोष मतगणक वा त्यहाँ खटिएका कर्मचारीलाई मात्रै लगाइएको छ । तर कर्मचारीकै कारण मतगणनामा ढिलाइ भएको भने पक्कै होइन । यसको प्रमुख कारण भनेको काठमाडौंमा उम्मेदवारको सङ्ख्या बढी हुनु, मतपत्र लामो र ठूलो हुनु लगायतका कारण हुन् । 

आखिर किन ढिलाइ भइरहेको छ त काठमाडौं महानगरको मतगणना ? रातोपाटीको प्रश्नमा मुख्य निर्वाचन अधिकृत रहेका काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडाले धेरै उम्मेदवार र उनीहरुका प्रतिनिधि हुँदा मतगणनामा ढिलाई भएको बताए ।

काठमाडौंमा ६४ लहरको मतपत्र

काठमाडौं महानगरपालिकाको मतपत्र देशका अन्य स्थानीय तहको भन्दा ठूलो छ । काठमाडौं महानगरपालिकामा धेरै उम्मेदवार भएको कारण मतपत्र लामो भएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए । खतिवडाका अनुसार काठमाडौं महानगरपालिकाको मतपत्र ६४ लहरको छ । काठमाडौं महानगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५५ जनाले मेयरमा मात्रै उम्मेदवारी दिएका छन् । ५५ जना मेयरका लागि ५५ लहर, अनि उपमेयरमा उम्मेदवारी दिने अन्य राजनीतिक दल, स्वतन्त्र आदि कारणले ६४ लहरको मतपत्र बनाउनु परेको खतिवडाले बताए । 

६४ लहरमा मतपत्र बनेको कारण कुन चुनाव चिन्हमा मतदान भएको छ, त्यो खोज्न पनि समय लाग्ने गरेको छ । त्यसबाहेक क्रस भोटिङसमेत हुने कुनै राजनीतिक दलमा, कुनै स्वतन्त्रमा मतदान हुने भएको कारण पनि मतगणनामा समय लागेको छ । 

त्यसबाहेक ५५ जना मेयर, अनि वडामा उठ्ने अन्य राजनीतिक दल गरी करिब ७० जना उम्मेदवार हुने भएकाले उनीहरुको सबै खोज्दा समय लाग्ने गरेको खतिवडाले बताए । करिब ७० जना उम्मेदवारमध्ये ७ वटा मात्रै छाप लगाउने र त्यही सातवटा छाप खोज्दा समय लाग्ने गरेको खतिवडाले बताए । 

उम्मेदवारका प्रतिनिधि धेरै हुँदा पनि समस्या
काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाई हुनुको अर्को कारण अत्याधिक धेरै प्रतिनिधि हुनु पनि हो । महानगरको वडा तहमा समेत गरी करिब ७० जना उम्मेदवार रहेको र उनीहरुको प्रतिनिधि गणनाका क्रममा बस्ने र उनीहरुलाई देखाएर ओके नभनेसम्म देखाउनुपर्ने भएको कारण मतगणनामा ढिलाई भइरहेको छ ।

मतपत्र राख्ने प्याडका कारण मतपत्र च्यातिने समस्या
मतदानका क्रममा मतपत्र राख्न निर्वाचन आयोगले प्लाष्टिकको प्याड दिएको थियो । तर उक्त प्याड काठमाडौं महानगरपालिकाका लागि सानो भयो । ६४ लहरको मतपत्रका कारण ठूलो बनेको मतपत्र राख्न सम्भव भएन । त्यसकारण मतदाताले स्वस्तिक छाप लगाउँदा पनि प्याडभन्दा बाहिर परेर कतिपय मतपत्र च्यातिएको छ । च्यातिएको उक्त मतपत्रका कारण मतचिन्ह चिन्नका लागिसमेत कठिनाई भइरहेको छ । अनि च्यातिएको मतपत्र सदर गर्ने कि बदर भन्ने विषयमा पनि बेलाबेलामा विवाद हुने हुँदा समस्या भइरहेको छ ।

गुणस्तरहीन स्वस्तिक छाप र स्ट्याम्प प्याड
काठमाडौंको मतगणनामा ढिलाई हुनुको अर्को कारण भनेको स्वस्तिक छाप र स्ट्याम्प प्याड गुणस्तरहीन हुनु पनि हो । स्ट्याम्प प्याड गुणस्तरहीन रहेको र छिट्टै सुक्ने प्रकृतिको नरहेको कारण मतपत्र पट्याउँदा कतिपय मतपत्रमा मसी लतपतिएको छ । त्यस्तै स्वस्तिक छाप पनि गुणस्तरको नहुँदा कहीँ कहीँ थोरै मात्रै छाप लागेको छ । थोरै छाप लागेको मतपत्रमा सदर वा बदर के गर्ने भन्ने सम्बन्धमा बेलाबेलामा विवाद भइरहेको हुन्छ । विवाद भएपछि समाधान गर्न पनि समय लाग्ने भएकाले मत गणनामा ढिलाई भइरहेको छ ।

कर्मचारीको अभाव
मतगणना ढिलाई हुनुको अर्को कारण मतगणकको कमी पनि रहेको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार अहिले ६ स्थानमा मतगणनाको काम भइरहेको छ । तर यी ६ स्थानमा मतगणना गर्दा एक सिफ्टमा बढीमा ८ घण्टा भन्दा लामो समय काममा लगाउन सकिँदैन । कर्मचारीको सिफ्ट चेञ्ज गर्न पनि कर्मचारी आँफैले खोज्नुपर्ने समस्या छ । निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृतले नै गणकको व्यवस्था गर्नुपर्ने भएकाले सिफ्ट चेञ्ज गर्ने क्रममा कर्मचारी ल्याउन पनि समस्या भएको छ । 

एकमात्रै निर्वाचन अधिकृत हुँदा समस्या
निर्वाचन प्रक्रिया र मतगणना प्रक्रियाका लागि पनि एकजना मात्रै निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । मतगणनाको क्रममा विवाद आएको अवस्थामा उक्त विवादको निरुपण गर्ने जिम्मा र अधिकार निर्वाचन अधिकृतलाई मात्रै हुन्छ । तर एकै निर्वाचन अधिकृत लगातार काम गर्नुपर्ने भएकाले थकान, तनाब आदि कारणले काम गर्न नै नसक्ने भइसकेका हुन्छन् । ६ वटा स्थानमा राखेर मतगणना गर्दा त्यहाँ विवाद आयो भने मुख्य निर्वाचन अधिकृत नै विवाद समाधानका लागि जानुपर्छ । जसका कारण विवाद आएको अवस्थामा गणना गर्न पनि त्यहाँ समस्या नै हुन्छ । विवाद समाधान गर्न समय लाग्ने भएकाले बेलाबेलामा सोही कारण ढिलाई हुन्छ । 

गणकलाई तालिम छैन, कार्यालय स्थापना पनि ढिलो
मतगणनामा ढिलाई हुनुको अर्का कारण गणकलाई तालिम नहुनु पनि हो । मतगणनामा सहभागी भएका सबै कर्मचारीलाई तालिम दिन सकिएको छैन । कतिपय कर्मचारी गणनाका क्रममा मात्रै आएका छन् भने कतिपय कर्मचारी अन्तिम समयमा मात्रै आएको कारण उनीहरुलाई गणनाबारे तालिम दिन सकिएको थिएन । निर्वाचन अधिकृतको कार्यालय वैशाख ८ गतेमात्रै स्थापना गरिएको कारण पनि तालिम लगायतका काम गर्न सकिएको थिएन । व्यवस्थापकीय कामले नै समय खाएको कारण मतगणनाको तालिम दिन नसक्दा कर्मचारीले तीव्रगतिमा मतगणना गर्न सकिरहेका छैनन् ।

कोठा सानो हुँदा विवाद बढी 

यसपटक निर्वाचन आयोगले छापेको मतपत्रको एक चिन्हदेखि अर्को चिन्हसम्मको कोठा सानो छ । ६४ लहरको काठमाडौं महानगरको मतपत्र झनै ठूलो तर कोठा सानो भएको कारण स्वस्तिक छाप लगाउने क्रममा तल वा माथिको चिन्हमा समेत छोएको पाइएको छ । त्यसरी तल वा माथि छोएपछि दुवै पक्षले विवाद गर्ने गरेको र विवाद समाधान गर्न समय लाग्ने गरेको छ । त्यही विवादका कारण लामो समय लाग्ने गरेको काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । 
 
२०७४ सालको निर्वाचनमा गणनाका लागि लागेको थियो १७ दिन 
यसअघि २०७४ सालको निर्वाचनको मतगणना सम्पन्न गर्न काठमाडौं महानगरपालिकामा १७ दिन लागेको थियो । यसपटक पहिलेभन्दा २० हजार मतदाता बढेको र मतपत्रको लहर पनि बढेको कारण यसपटक अझै बढी समय लाग्न सक्ने मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए । उनले भने, ‘हामी बिस्तारै गणनास्थल पनि बढाउने तयारीमा छौँ, तर कर्मचारी वा हाम्रो कारणले नभएर प्राविधिक कारणले नै मतगणनामा ढिलाई भइरहेको हो भनेर बुझिदिनुपर्‍यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप