बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवारद्वयका समर्थकबीच आरोप प्रत्यारोप

सोमबार, ०२ जेठ २०७९, २१ : २६
सोमबार, ०२ जेठ २०७९

जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहका समर्थकसमेत रहेका युवा नेता सरोज मिश्रको घरमा आइतबार राति भएको आक्रमणलाई लिएर दुई उम्मेदवारले एक अर्कामाथि आरोप लगाएका छन् ।

उपमहानगरको मतगणनाका क्रममा आइतबार राति विवादपछि मिश्रको घरमा आक्रमण भएको थियो । सोही विवादलाई लिएर मेयरका स्वतन्त्र उम्मेदवार जानकीराम साह र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोका समर्थकबीच आरोप–प्रत्यारोप चलेको हो ।

महतोका समर्थक खगेन्द्र शर्माले मिश्रले मतगणना स्थलमा नगरप्रमुखका उम्मेदवार महतोका भाइ जयकिशन साहसहित केही व्यक्तिमाथि हातपात गरेपछि विवाद सुरु भएको बताए । उनले जयकिशन सहित २ जना घाइते भएकोसमेत बताए ।

शर्माले भने, ‘हाम्रा मान्छेमाथि आक्रमण गरेका मिश्रलाई प्रहरीले त्यहाँबाट भगाएपछि उनीसँग कुरा गर्नका लागि हामी आइतबार राति उनको घरमा पुगेका थियौँ ।’ मिश्रको घरमा पुगे लगत्तै आफूहरुमाथि ढुंगामुढा प्रहार गरिएको उनको आरोप छ ।

यता मिश्रले भने मतगणना स्थलमा भएको कुराकानीलाई लिएर आफूमाथि बदलाको भावनाले मध्यरातमा घरमै आएर नियोजित रुपमा आक्रमण गर्न खोजेको आरोप लगाए ।

उनले आइतबार राति मतगणना स्थलमा कुनै किसिमको विवाद नभएको दाबी गर्दै चुनावी प्रचार प्रसारका क्रममा आफूले महतो विरुद्ध सामाजिक सञ्जालमार्फत गरेको टिकाटिप्पणीलाई मुद्दा बनाएर बलबा टोलस्थित आफ्नो घरमै आएर मध्यरातमा परिवारका सदस्यलगायत छरछिमेकीहरुमाथि आक्रमण गरिएको आरोप लगाए ।

अचानक आक्रमणमा उत्रिएको समूहलाई टोलवासीले प्रतिकार गरेर लखेटेको उनको भनाइ छ । आफूमाथि आक्रमण गर्न आएको समूहलाई प्रतिकार गर्दा छिमेकका तीन जनामाथि खुकुरीसमेत प्रहार गरिएको उनले बताए । उनका अनुसार खुकुरी प्रहारबाट बलवा टोलका स्थानीय राजेशकुमार राउत, पवन झा र गोपाल पाठक घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप