बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी पर्न थाले निर्वाचन अधिकृतहरू

काठमाडौँका मुख्य निर्वाचन अधिकृत भन्छन्– ३ दिन भयो झिमिक्क गर्न पाएको छैन
मङ्गलबार, ०३ जेठ २०७९, ०९ : २४
मङ्गलबार, ०३ जेठ २०७९

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिएपछि मतपत्र सङ्कलन, मुचुल्का बनाउने, सर्वदलीय बैठक बस्ने काम सकेर मतपत्र गन्ने क्रम जारी छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भए लगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, तनाव आदिका कारण बिरामी पर्न थालेका छन् ।

एक स्थानीय तहमा एक जनामात्रै मतदान अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । लामो समयसम्म मतगणना गर्नुपर्ने हुँदा निर्वाचन अधिकृतहरू धमाधम बिरामी पर्न थालेका हुन् ।

थकान, तनाव र दबाबका कारण उदयपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश दीपक खनाल मतगणनास्थलमै बेहोस भएका थिए । बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल पुर्‍याइएको थियो । अहिले उनले स्वास्थ्य लाभ गरिरहेका छन् ।

अत्यधिक थकान, तनाव र दबाबकै कारण सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत पनि बेहोस भए । वैशाख ३० गते निर्वाचन सकिएपछि मतगणना गर्ने प्रयोजनका सन्दर्भमा वैशाख ३१ गते बिहान सर्वदलीय बैठक बसिरहेको समयमा उनी बेहोस भएका थिए । बेहोस भएपछि उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्यलाभ गरेपछि उनी पुनः सर्वदलीय बैठकमा आएका थिए ।

बाजुराका निर्वाचन अधिकृतले समेत थकान, तनाव र दबाबकै कारण राजीनामा गरेका थिए । बाजुराका बुढीगंगा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले आफू असुरक्षित बनेको भन्दै निर्वाचन अधिकृतबाट राजीनामा दिएका थिए । राजनीतिक दलहरूले दबाब र धम्की दिएको भन्दै उनले मुख्य निर्वाचन अधिकृतसमक्ष राजीनामा बुझाएका थिए ।

यी तीन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत त उदाहरणमात्रै हुन् । धेरै उम्मेदवार र मतदाता रहेको सहरी क्षेत्रमा मतगणना गर्न लामो समय लाग्ने भएपछि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरू बिरामी पर्न थालेका छन् ।

३ दिन भयो झिमिक्क गर्न पाएको छैन : काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा

काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले आफूसहित निर्वाचन अधिकृतहरू बिरामी पर्न थालेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत खतिवडाले थकान तथा तनावका कारण आफूहरू बिरामी पर्न थालेको बताए । उनले भने, ‘म आफै बिरामी पर्न थालेको छु । ३ दिन भयो झिमिक्क गर्न पाएको छैन । अन्य निर्वाचन अधिकृतहरूको अवस्था पनि उस्तै छ । केही साथीहरू बेहोससमेत भइसक्नुभएको छ । हामी पनि कुनबेला ढल्ने हो थाहा छैन ।’

कुनै केन्द्रका निर्वाचन अधिकृत सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारी सुम्पेर केही समय आराम गर्न पाउने भए पनि मुख्य निर्वाचन अधिकृतले सबै केन्द्रको मतगणनाको सुपरिवेक्षण गर्नुपर्ने भएकाले आराम गर्न नपाएको खतिवडाले बताए । उनले भने, ‘काठमाडौँ महानगरको हकमा ७ स्थानमा मतगणना भइरहेको छ । बेलाबेलामा विवाद आइरहन्छ । विवाद आएपछि आफै गएर मिलाउनुपर्छ । त्यही भएर ३ रात भयो, झिमिक्क गर्न पाएको छैन ।’

मतगणना ढिलाइ हुनुको कारण मतपत्रको बनोटदेखि अत्यधिक उम्मेदवार हुनु पनि रहेको खतिवडाले बताए । निर्वाचन आयोगले मेयर तथा उपमेयरका लागि छुट्टै मतपत्र छपाइ गरेमा छिटो नतिजा दिन सक्ने बताउँदै निर्वाचन आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पनि पाठ नसिकेको बताए । उनले भने, ‘कमसेकम संघीय र प्रदेश निर्वाचनमा जस्तै फरकफरक मतपत्र बनाएको भए मतगणना छिटो गर्न सकिन्थ्यो । एउटै मतपत्रबाट स्थानीय तहको मेयर वा अध्यक्षदेखि वडा सदस्यसम्म चुन्नुपर्छ । जसका कारण मतदान गर्नदेखि मतगणना गर्नसम्म लामो समय लाग्छ ।’

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मतगणना सम्पन्न गर्न १७ दिन लागेको थियो । यसपटक यही गतिमा मतगणना भएमा ३४ दिन लाग्ने देखिएको छ । तर ३४ दिनसम्म नसुतीकनै काम गर्नुपर्दा अनिद्रा, थकान र तनावका कारण बेहोस हुनेदेखि हर्ट अट्याकसम्मको खतरा बढ्ने चिकित्सकको भनाइ छ ।

जनरल फिजिसियन डाक्टर निरज कर्माचार्यका अनुसार २ दिनभन्दा बढी समय नसुतेपछि मानसिक स्फूर्ति हराउने, बिर्सने, प्रेसर बढ्ने र हृदयाघातको खतरा भएकाहरूलाई हृदयाघातसम्म हुनसक्छ ।

डाक्टर कर्माचार्यका अनुसार अनिद्राले मानसिक स्फूर्तिमा ह्रास ल्याउँछ र सही गलत छुट्याउन पनि समस्या पर्न थाल्छ । मानिसहरुको सोच्न सक्ने क्षमतामा पनि अनिद्राले कमी ल्याउँछ । २ दिनभन्दा बढी अनिद्रामा बस्यो भने टाउको दुख्ने, स्मरण शक्तिमा कमी ल्याउने र शरीर रक्तचापको मात्रा बढाउने काम गर्छ ।

लामो समय अनिद्रामा बस्दा मानिसहरूमा मदिराले जस्तै लट्ठ बनाउने, मस्तिष्कले राम्ररी काम नगर्ने र मैले के गरिरहेको छु भन्ने नै बिर्सनेसम्मका समस्या ल्याउन सक्ने डाक्टर कर्माचार्यले बताए । अनिद्राका कारण मिर्गौला, फोक्सो, मुटु लगायतका समस्या भएका दीर्घ रोगीलाई हर्ट अट्याकसम्मको खतरा हुने उनले बताए ।

मानिसहरूले आराम पाउँदा र निदाउँदा मस्तिष्कका कोशिकाहरू रिचार्ज हुने र मस्तिष्कले राम्रोसँग काम गर्ने कर्माचार्यले बताए । तर निद्रा नपुग्दा वा राम्ररी सुत्न नपाउँदा कोशिकाहरू रिचार्ज हुन नपाउने भएकाले मस्तिष्कले समेत राम्ररी काम गर्न नसक्ने भएकाले के बोलिरहेको छु, के गरिरहेको छु भन्नेसमेत याद नहुने समस्या देखिन सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप