शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन सफल भयो, अब प्रदेश र केन्द्रसम्म जान्छ : पुन

बुधबार, ०४ जेठ २०७९, १९ : १५
बुधबार, ०४ जेठ २०७९

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले  निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिएका हुन् । 

नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको पनि जिकिर गरे । उनले भने, ‘धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । तर आज हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्ने कुरा पुष्टि भएको छ । अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाई छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए । उनले भने – ‘कतिपय ठाउँहरूमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझै पनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मूलतः सफल भएको छ । हामी यो गठबन्धन अगाडी लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन । अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरूका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना सङ्गठनहरू छन् । आ–आफ्ना एजेन्डाहरू छन् । मूल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मूलतः सफल भएको छ ।’ उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप