बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्ण मल्ल एमालेसँग मिल्दा पनि देउवाको गृहजिल्लामा काँग्रेसको 'कम्ब्याक’

बुधबार, ०४ जेठ २०७९, १८ : ०७
बुधबार, ०४ जेठ २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सातै पालिकाको मत परिणाम प्रकाशित भएको छ । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा जित हासिल गरेको छ डडेल्धुराको सदरमुकाम समेत रहेका अमरगढी र जिल्लाको सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकाको नेतृत्व हत्याउन काँग्रेस सफल भएको छ । यस्तै भागेश्वर नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ ।

यस्तै माओवादी केन्द्रले दुई गाउँपालिका जितेको छ । काँग्रेसले आलिताल र अजयमेरुमा भने माओवादी केन्द्रलाई रोक्न सकेन । काँग्रेसले डडेल्धुरामा ५२ वडा मध्ये २९ वडा काँग्रेसले जितेको छ ।​ भागेश्वरमा ४, परशुराममा ५, नवदुर्गामा २, गन्यापधुरामा ४, आलितालमा २,  अमरगढीमा १० र अजयमेरुमा २ गरी २९ वडा काँग्रेसले जितेको छ ।

यस्तै माओवादी केन्द्रले परशुराममा ७, नवदुर्गामा १, आलितालमा ३ र अजयमेरुमा २ गरी १३ वडाअध्यक्ष जितेको छ । एमालेले आलितालमा तीन र अजयमेरुमा २ गरी ५ वडाध्यक्ष जितेको  छ । काँग्रेस बिपीसँग वडासम्मै तालमेल गरेको एमाले ५ वडा सीमित भएको छ  ।

यस्तै एकीकृत समाजवादीले नवदुर्गामा २ वटा वडाध्यक्ष जितेको छ काँग्रेस बिपीको करुवाले अमरगढी– ८ र गन्यापाधुरा– १  गरी २ मा वडाध्यक्ष जितेको छ । भागेश्वर –१ र अजयमेरु–३ मा स्वतन्त्र उम्मेदवार वाध्यक्षमा विजयी भएका छन् । ०७४ मा १८ वडा जितेर एमाले पहिलो हुँदा  काँग्रेस र माओवादीले समान १७ वटा वडाध्यक्ष जितका थिए ।

एमालेले भागेश्वरमा ४, अम्मरगढीमा ६, नवदुर्गा, ३, परशुराममा २ र आलितालमा ३ गरी १८ वडाध्यक्ष जितेको थियो । काँग्रेसले अजयमेरुमा १, अमरगढीमा ५, गन्यापधुरामा ३, नवदुर्गामा २, परशुराममा ४ र आलितालमा २ वडाध्यक्ष जितेको थियो । यता माओवादी केन्द्रले अजयमेरुमा ५, परशुराममा ६, गन्यापधुरामा २, आलितालमा ३ र भागेश्वरमा १ गरी १७ वडाध्यक्ष जितेको थियो ।

 काँग्रेसको 'कम्ब्याक’

एमाले पालिकामा निल र छ वडाध्यक्षमा सीमित हुँदा काँग्रेस भने गजबले 'कम्ब्याक' भएर आएको छ । काँग्रेसले सदरमुकाम समेत रहेका अमरगढी एमालेबाट खोसेको ७१ प्रतिशत पालिकामा कब्जा जमाएको छ ।

 माओवादीले दुई गाउँपालिका यथावत राख्न सफल भएपनि ३ वडाध्यक्ष काँग्रेसले खोसेको छ । १४  औं महाधिवेशनताका डडेल्धुरा काँग्रेसमा देखिएको विवादको ‘रिफ्लेक्सन’ स्थानीय निर्वाचनमा देखिने आँकलन थियो । किन भने ०७४ मा तत्कालीन जिल्ला सभापति कर्ण मल्ल र नेता रघुवीर भट्ट समूहको आन्तरिक द्धन्द्धले डडेल्धुरामा काँग्रेसले अपेक्षित परिणाम पाउन सकेको थिएन ।
यसपटक त झन काँग्रेसमा विवाद थप झाँगिएको थियो ।

महाधिवेशन प्रक्रिया बहिस्कार गरेको मल्ल समूहले काँग्रेसलाई ठूलो क्षति पुर्याउने काँग्रेस नेताहरुकै बुझाइ थियो । मल्ल समूहले स्थानीय निर्वाचनमा पनि ‘सके आफै जित्ने, नसकेर काँग्रेस रोक्ने’ अभियान चलायो । सोही अनुसार मल्ल समूहले नेपाली काँग्रेस बिपीको चुनाव चिन्ह करुवा लिएर एमालेसँग वडासम्मै तालमेल पनि गरेको थियो ।

पार्टी नीति विपरीत एमालेसँग तालमेल गरेपछि मल्ल काँग्रेसबाट सधारण सदस्य समेत नरहने गरी अनिश्चितकालका लागि निष्कासित समेत भए । त्यसपछि मल्ल समूह डडेल्धुरामा तथ आक्रमक सुनियो । मल्ल समूहको विद्रोहले डडेल्धुरा काँग्रेसका नेतालाई मात्र होइन केन्द्रीय सभापति देउवालाई समेत अत्यायो । त्यसपछि देउवा पत्नी तथा काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा डडेल्धुरा पुगिन् । उनले त्यहाँ मल्ल समूहमाथि आक्रोश पोख्दै काँग्रेसले नजिते बजेट नपठाउने चेतावनी नै दिइन् ।

त्यसले डडेल्धुरामा काँग्रेसको माहोल थप बिग्रिने अवस्था बन्यो । त्यसपछि प्रधानमन्त्री देउवा नै वैशाख २६ गते डडेल्धुरा हानिए । त्यहाँ देउवाले तीन वटा चुनावी सभालाई सम्बोधन गरेर जनता फकाउने अधिकतम् प्रयास गरे । देउवाले करिब दुई साता डडेल्धुराको ‘माइक्रो म्यानेजमेन्ट’मा जुटेका केन्द्रीय सदस्य नैनसिंह महरलाई भाषणका लागि अगाडि सारे । देउवा सहभागी सबै सभामा महर सँग सँगै थिए ।

त्यसले काँग्रेसलाई कम्ब्याक गर्न सजिलो भएको डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले रातोपाटीलाई बताए । डडेल्धुरामा काँग्रेस कमजोर रहेको भन्दै अहिले सांगठनिक रुपमा थप शसक्त भएका उनको भनाइ छ । त्यसैको परिणाम काँग्रेसले राम्रो नतिजा ल्याएको उनको भनाइ छ । हुन पनि डडेल्धुरामा मल्ल समूहले देउवाको गृह वडा हराउन बाहेक काँग्रेसलाई खासै धक्का समेत दिन सकेन ।


अमरगढी नगरपालिका

डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी भएको छ। नगरपालिका प्रमुखमा काँग्रेसका डिल्लीराज जोशी विजयी भएका हुन् । उनले ३६१९ मत ल्याए ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस बीपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे। उपप्रमुखमा पनि नेपाली काँग्रेसकै पार्वती झुकाल विजयी भएकी छिन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका यज्ञराज अवस्थी पराजित भए ।

वडा नम्बर १ देखि ७, ९, १० र ११ मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा काँग्रेस बिपी विजयी भएको छ। ०७४ को चुनावमा मेयर–उपमेयर जितेको एमालेले काँग्रेस बिपीसँग तालमेल गर्दा पनि शून्य भएको छ । अमरगढीको ११ वडा मध्ये ०७४ मा काँग्रेसले १, २, ३, ६ र ८ गरी पाँच जितेको थियो ।

यस्तै एमालेले ४, ५, ७, ९, १० र ११ गरी ६ वटा वडा जितेको थियो । यसपटक काँग्रेसले एमालेबाट सबै वडा खोसेको छ भने एमालको सहयोगमा काँग्रेस बिपीले काँग्रेसबाट ८ नम्बर वडा खोसेको छ ।

परशुराम नगरपालिका

डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६ मतान्तरले पराजित गरेका हुन्।

काँग्रेसका नगर सभापति समेत रहेका जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका  मालले ५ हजार ८०५ मत पाए । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस विपीका साझा उम्मेदवार उम्मेदवार एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।​

उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । महतले ५ हजार ८८५ मत ल्याउँदा काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत मात्र पाइन् । परशुराममा काँग्रेसले यसपटक उपमेयर गुमाएको छ । परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ। देउवा गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका जोगाउन काँग्रेस सफल भएको छ ।

माओवादी केन्द्रका उम्मेदवारसँग कडा टक्करका बीच जोशीले बाजी मारेका हुन् । ०७४ को निर्वाचनमा पनि काँग्रेसका भीमबहादुर साउद मेयर निर्वाचित भएका थिए । १२ वटा वडा रहेको परशुराम नगरपालिकाको १, ४, ५, ७, ९, १० र १२ गरि ७ वडामा माओवादीले जितेको छ । २, ३, ६, ८ र ११ गरि ५ वडामा काँग्रेसका वडाअध्यक्ष निर्वाचित भएका छन् । यहाँ माओवादी पहिला हुँदा एमाले र समाजवादी शून्य भए ।

०७४ मा माओवादीले परशुराम नगरपालिकाका १,३,४,८,९ र १० मा वडाध्यक्ष जितको थियो । काँग्रेसले २, ५ ६ र १२ जित्दा एमाले ७ र ११ मा अध्यक्ष जितेको थियो । ०७४ मा एमालेले जितेको ७ नम्बर वडा काँग्रेस र ११ नम्बर वडा माओवादीले खोसेको छ ।

आलिताल गाउँपालिका

डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ। काँग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। काँग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाटै गुरुङ अध्यक्षमा विजयी भएका थिए। यसपटक माओवादीले खोसेको छ । वडामा पनि काँग्रेस तेस्रो भएको छ । आलितालमा माओवादी र एमाले समान ३–३ वडाध्यक्ष जित्दा काँग्रेस २ वडामा सीमित भयो ।

०७४ को निर्वाचनमा आलिताल गाउँपालिकामा एमाले १, ५, ६, काँग्रेसले २, ४ र माओवादी ३, ७ र ८ नम्बरको वडाध्यक्ष जितेको छ । काँग्रेसले यसपटक २ र ८ नम्बरको वडाध्यक्ष जितेको छ । एमालेले १, ४ र ६ जित्दा माओवादीले ३, ५ र ७ जितेको छ ।

नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। काँग्रेसबाट अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मलाकुमारी बोगटी निर्वाचित भएका हुन्।

अवस्थीले २८७९ मत ल्याउँदा एकीकृत समाजवादीका  कवीन्द्रबहादुर बिष्टले २६०६ मत पाएका थिए । त्यस्तै बोगटीले ३२०८ मत ल्याउँदा एकीकृत समाजवादीका चन्द्रादेवी रुपालीले २३६७ मत प्राप्त गरेकी छिन्। ०७४ मा एमालेले जितेको नवदुर्गाको अध्यक्ष अहिले काँग्रेसले खोसेको छ । उपाध्यक्षमा पनि काँग्रेस दोहोरिएको छ । त्यतिबेला एमालेले नवदुर्गा गाउँपालिकामा १, ३ र ४ को जित्दा काँग्रेसले २ र ५ जितेको थियो ।

यस पटक १ र २ काँग्रेसले जितेको छ भने ४ र ५ मा एकीकृत समाजवादी विजयी भएको छ । ३ मा भने माओवादी केन्द्र निर्वाचित भएको छ ।  नवदुर्गामा निल भएको एमाले तेस्रो शक्तिका रुपमा खुम्चिएको छ । नवदुर्गामा एमालेले काँग्रेस बिपीलाई अध्यक्ष छोडेर र आफूले उपाध्यक्षमा उम्मेदवार दिएको थियो । एमाले– काँग्रेस विपीका उम्मेदवार तेस्रो भए ।

गन्यापधुरा गाउँपालिका

देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्याधिक बहुमतले विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले–काँग्रेस बीपीका साझा उम्मेदवार सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।

त्यस्तै, उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार ज्ञानु सेटी विजयी भइन्। उनले ३ हजार १३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी  एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाए।

गन्यापधुरा गाउँपालिका– २, ३, ४ र ५ मा पनि काँग्रेस नै विजयी भएको छ। तर, गन्यापधुरा गाउँपालिका–१ मा भने काँग्रेसले विपीले काँग्रेसलाई धक्का दियो । देउवाको गृह वडामा काँग्रेस पराजित हुन पुग्यो।

गन्यापधुरा –१ को वडाध्यक्षमा विपी काँग्रेस विजयी भएको छ । देउवाले रुवाखोलाबाट मतदान गरेको वडामा काँग्रेस बीपीको प्यानल नै विजयी भएको छ । ०७४ को निर्वाचनताका गन्यापधुरामा १, २ र ३ काँग्रेसले जितेको थियो भने ४ र ५ माओवादीले जितेको थियो । यसपटक काँग्रेसले माओवादीबाट ४ र ५ खोसेको छ ।

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उमेश भट्ट ‘विकास’ विजयी भएका छन् । उनीसँग नेकपा एमालेका उम्मेदवार पदम पाल १७२ मतान्तरले पराजित भए । भट्टले २४६९ मत ल्याएका थिए भने पालले २२९७ मत । उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार बसन्ती पाल २५६५ मत ल्याई विजयी भइन् ।

माओवादीकी उम्मेदवार कलापती भाणले २३०९ मत ल्याइन् । माओवादीले वडा नम्बर २ र ४ मा अध्यक्ष जितेको छ भने काँग्रेसले १ र ६ जितेको छ । यस्तै एमालेले ५ को वडाध्यक्ष जित्दा ३ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।

०७४ मा माओवादीले अजयमेरु – २, ३, ४, ५ र ६ वडा जितेको थियो । काँग्रेसले वडा नम्बर १ जित्दा एमाले निल भएको थियो । यसपटक एमालेले ५, काँग्रेसले ६ र स्वतन्त्रले ३ नम्बरमा अध्यक्ष जित्दा माओवादीले तीन वडाध्यक्ष गुमाएको छ ।

भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका हेमराज चटौतले २३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भए । उनले २३४८ मत प्राप्त गर्नुभयो । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र गरे ।

भागेश्वरका ५ वडामध्ये ४ वडामा काँग्रेसका र एक वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्। भागेश्वर गाउँपालिका– १ मा एमालेबाट टिकट नपाएर विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका मणिकराज भट्टले वडा अध्यक्षमा निर्वाचित भएका छन् । गाउँपालिको २, ३,४ र ५ मा काँग्रेस विजयी भएको छ ।

०७४ मा एमालेले १, २ ३ र ४ वडाध्यक्ष जितेको थियो भने माओवादीले ५ नम्बर जितेको थियो । काँग्रेसले केवल अध्यक्ष र उपाध्यक्ष मात्र जितेको थियो । यसपटक भागेश्वरमा एमाले र माओवादी निल भएका छन् । भागेश्वरमा नवनिर्मित एकीकृत समाजवादी र काँग्रेस बिपीको इन्ट्री नै भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप