मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा काँग्रेस पहिलो, अन्य दल कुन–कुन स्थानमा ?

बुधबार, ०४ जेठ २०७९, १८ : १३
बुधबार, ०४ जेठ २०७९

ओखलढुंगा जिल्लाका ८ पालिकामध्ये चार पालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले यो जिल्लाको एक–एक पालिकाको नेतृत्व पाएका छन् ।

२०७४ को निर्वाचनमा काँग्रेसले ४ स्थानीय तहमा प्रमुख र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको थियो भने माओवादी केन्द्रले एक तहमा प्रमुख जितेको थियो ।

२०७४ को तुलनामा अहिले काँग्रेसलाई पालिका नेतृत्वको सवालमा न लाभ, न घाटाको अवस्था छ । तर अघिल्लो निर्वाचनमा ३ स्थानीय तहको नेतृत्व पाएको नेकपा एमाले भने अहिले एउटा पालिकाको नेतृत्वमा खुम्चिएको छ । यस्तै, विगतमा यो जिल्लाका कुनै पनि पालिकामा नेतृत्व गर्न नपाएका जसपा नेपाल र नेकपा माओवादी केन्द्रले एक–एक पालिकाको नेतृत्व पाएका छन् । यस्तै, एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले नेतृत्व पाएका छन् ।  

खिजिदेम्बा गाउँपालिका : जसपा नेपालले जित्यो अध्यक्ष

खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका गम्बु शेर्पा २ हजार ८८२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भुपेन्द्रबहादुर बस्नेतले २ हजार ७५२ मत पाए । उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङले २ हजार ८२४ मतसहित विजय भएकी छन् भने जनता समाजवादी पार्टीकी मानकुमारी तामाङले २ हजार २४१ मत पाइन् ।

२०७४ सालको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वेदबहादुर रोका २ हजार ९६५ मतसहित विजयी भएका थिए भने उपाध्यक्षमा काँग्रेसकै सुशिला तामाङले ३ हजार १२४ मतसहित विजयी भएकी थिइन् ।

चम्पादेवी गाउँपालिका : काँग्रेसका केसी दोस्रो कार्यकालका लागि निर्वाचित

चम्पादेवी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी (खत्री) ४ हजार ७१५ मतसहित विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्कबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एमालेकी दिलमाया मगर ४ हजार ५१३ सहित विजयी हुँदा नेपाली काँग्रेसकी कुषा पुलामीले ४ हजार ४७८ मत पाइन् ।

२०७४ सालको निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी (खत्री) ३ हजार २४१ मतसहित विजयी भएका थिए । त्यतिबेला नेकपा एमालेका हरिप्रसाद घिमिरेले २ हजार ८४१ मत पाएका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मलादेवी रोका ३ हजार २४५ मतसहित विजयी हुँदा नेकपा एमालेकी कल्पना थापाले ३ हजार ११ मत पाएकी थिइन् ।

चिशंखुगढी गाउँपालिका : फेरि माओवादी केन्द्रकै जित

चिशंखुगढी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोला ३ हजार १९८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अशोककुमार थापाले २ हजार ६९१ मत पाए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसका सन्तोषबाबु थापाले ३ हजार ११६ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुष्मिका राईले २ हजार ५० मत पाइन् ।

२०७४ को निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोला १ हजार ९०६ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका भीमबहादुर थापा मगरले १ हजार ९०३ मत पाए । उपाध्यक्षमा एमालेकै सुष्मिका राई २ हजार ७३ मतसहित विजयी भएकी थिइन् । काँग्रेसकी खिलमाया आलेमगरले उपाध्यक्षमा १ हजार ९६९ मत पाएकी थिइन् ।

मानेभञ्ज्याङ गाउँपालिका ः अध्यक्षमा एमालेका तामाङ दोस्रोपटक पराजित

मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले ५ हजार २१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८१६ मत पाए । उपाध्यक्षमा नेपाली काँग्रेसका आश्राचन राई ४ हजार ७५० मतसहित निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका दिपेन्द्र रुम्दालीले २ हजार ५७७ मत पाए ।

२०७४ को निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा काँग्रेसका मोतीराज राई ३ हजार ८५९ मतसहित निर्वाचित हुँदा एमालेका रुपलाल तामाङले २ हजार ५७२ मत पाएका थिए । त्यस्तै, उपाध्यक्षमा काँग्रेसकी सविता राई ४ हजार ३५ मतसहित विजयी भएकी थिइन् भने एमालेकी अम्मता राईले २ हजार १५० मत पाएकी थिइन् ।

मोलुङ गाउँपालिका : अध्यक्ष र उपाध्यक्षमा एमालेको जित

मोलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उत्तम राई ४ हजार ५२ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँगे्रसका राजनकुमार दाहालले ३ हजार ४६२ मत पाए । उपाध्यक्षमा नेकपा एमालेकी उर्मिला खतिवडा ४ हजार २०० मत सहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत पाए ।

२०७४ को निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा एमालेका मणिराज राई ३ हजार १२ मतसहित निर्वाचित हुँदा काँग्रे्रसका महेन्द्रबहादुर कार्कीले २ हजार ९८६ मत पाएका थिए । यस्तै, उपाध्यक्षमा काँग्रेसकी हेमकुमारी तामाङ ३ हजार २५८ मतसहित निर्वाचित भएकी थिइन् भने एमालेकी हेमकुमारी धमलाले २ हजार ७५२ मत पाएकी थिइन् । 

लिखु गाउँपालिका ः अघिल्लो निर्वाचनमा पराजित, अहिले निर्वाचित

लिखु गाउँपालिका अध्यक्षमा नेपाली काँगे्रसका अशोककुमार कार्की ३ हजार ७७६ मतसहित निर्वाचित भएका छन् । उनी २०७४ को निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनकुमार विष्टले ३ हजार ४९२ मत पाए ।

उपाध्यक्षमा नेकपा एमालेकी अस्मिता थापा ४ हजार ११६ मतसहित निर्वाचित हुँदा नेपाली काँगे्रसकी प्रेमकुमारी दाहालले ३ हजार ८३ मत पाइन् ।

२०७४ को निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा एमालेका गोविन्द बहादुर पौडेल ३ हजार १० मतसहित विजयी भएका थिए भने काँग्रेसका अशोककुमार कार्कीले २ हजार ९३५ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकी शान्ता ढुंगेल ३ हजार ११० मतसहित विजयी भएकी थिइन् भने काँग्रेसकी मन्दिरा दाहालले २ हजार ४३८ मत पाएकी थिइन् ।

सिद्दिचरण नगरपालिका : एमालेबाट काँग्रेसले खोस्यो प्रमुख पद

सिद्दिचरण नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका तेजन खनाल ६ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी इच्छाकुमारी गुरुङले ५ हजार ६५० मत पाइन् । गुरुङ यो नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् ।

उपप्रमुखमा नेकपा एमालेका केदारबाबु बस्नेत ५ हजार ६९८ मतका साथ जित हासिल गर्दा माओवादी केन्द्रका रुपेश शाक्यले ५ हजार १८२ मत ल्याए ।

२०७४ को निर्वाचनमा यस नगरपालिकाका प्रमुख एमालेका मोहनकुमार श्रेष्ठ ४ हजार ७३९ मतसहित विजयी भएका थिए । काँग्रेसका डिल्लीराम खनालले ४ हजार ६१३ मत पाएका थिए । उपप्रमुखमा एमालेका इच्छाकुमारी गुरुङ ४ हजार ८२६ मतसहित निर्वाचित हुँदा काँग्रेसकी हेमालक्षी राईले ४ हजार ४५७ मत पाएकी थिइन् ।

सुनकोशी गाउँपालिका : काँग्रेसलाई जस्ताको तस्तै

सुनकोशी गाउँपालिकामा २०७४ को निर्वाचनको तुलनामा अहिले खासै फरक परेन । विगतमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको काँग्रेसले अहिले पनि दुवै पदमा जित हासिल गरेको छ ।

अध्यक्षमा नेपाली काँग्रेसका कमल तामाङ ५ हजार ३९९ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर खड्काले ४ हजार १७४ मत पाए । उपाध्यक्षमा नेपाली काँग्रेसकी सुनिता अधिकारी ५ हजार २१५ मतसहित विजयी भएकी छन् भने नेकपा एमालेकी सरिता कार्की ‘पौडेल’ ले ४ हजार १८८ मत पाइन् ।

२०७४ को निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा काँग्रेसका रुद्रप्रसाद अधिकारी ३ हजार ७०२ मत सहित निर्वाचित भएका थिए भने एमालेका ज्ञानबहादुर खड्काले ३ हजार ३९७ मत पाएका थिए । उपाध्यक्षमा काँग्रेसकी दुर्गाकुमारी तामाङ ३ हजार ४८५ मतसहित निर्वाचित हुँदा एमालेकी मुना श्रेष्ठले २ हजार ९०९ मत पाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप