बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता चोरीको आरोपपछि अर्जुन पराजुलीले जुटाए प्रमाण, अनि मागे भुपेन्द्रले माफी

बिहीबार, ०५ जेठ २०७९, १२ : १३
बिहीबार, ०५ जेठ २०७९

कवि अर्जुन पराजुलीमाथि सिर्जना चोरीको आरोप लगाउँदै आएका भूपेन्द्र खड्काले अन्ततः माफी मागेका छन् । अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै भूपेन्द्रले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर पराजुलीले २५ वर्षअघि नै उक्त कविता लेखेका प्रमाणहरु जुटाएपछि खड्काले बाध्य भएर माफी मागेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु । मेरो जिज्ञासा चाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन ।

अर्को कुरा, मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैँ सिर्जना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु । 
धन्यवाद !’

केही दिनअघि व्यङ्ग्य कवि अर्जुन पराजुलीले राजनीतिक विषयवस्तुमा आधारित कविता सामाजिक सञ्जालमा पोस्ट गरेपछि खड्काले आफ्नो कविता चोरेको दाबी गर्दै १८ मे २०१३ को आफ्नो फेसबुक स्टाटसको स्क्रिन सटसमेत पेस गरेका थिए । 

उनले भने, “ल हेर्नुस्, मैले ९ वर्षअघि नै लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थियो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बूढालाई के भएछ ?” 

चोरी आरोप लगाएको कविताः 
गोरूले गधालाई सोध्यो–
भाइ तैँले चुनाव त जितिछस्,
तलाई मान्छेले भोट चाहिँ कसरी दिए हँ ?
गधाले भन्यो–
चुनाव जित्नुअघि त म मान्छे नै थिएँ नि ।

खड्काले ९ वर्षअघि नै उक्त कविता सामाजिक सञ्जालमा भाइरल भएको भनेर स्क्रिन सर्ट नै राखेपछि अर्जुन पराजुलीमाथि लागेको चोरीको आरोप सामाजिक सञ्जालमा भाइरल भयो । यसले अर्जुन पराजुलीमाथि निकै दबाब पर्यो । उनले त्यसको प्रतिकार गर्दै सामाजिक सञ्जालमा लेखे– “अदरणीय मित्रहरु भ्रममा नपर्नुहोला । यो कविता मैले आजभन्दा करिब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मञ्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस मेरो कविताको कपी हो । अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेविरुद्ध अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।” 

तर यो कुरा यतिमै साम्य भएन । भूपेन्द्रले २५ वर्षअघि लेखेको प्रमाण लिएर आउन अर्जुन पराजुलीलाई चेतावनीसमेत दिए । भूपेन्द्रले भने– “आदरणीय दाइ ! तपाईंको २५ वर्षअघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो ! धन्यवाद ।”

भूपेन्द्रले यसरी पटक पटक सामाजिक सञ्जालमा चोर भनेपछि पराजुलीलाई प्रमाण पेश गर्ने चुनौती थपियो । उनी आफ्ना प्रमाण सामाजिक सञ्जालमार्फत नै खोज्न र पोस्ट गर्न थाले । 
पराजुलीले नेपाली साहित्य क्षेत्रका चर्चित समालोचक रामप्रसाद ज्ञवालीले जनमतमा गरेको समालोचना नै प्रमाणका रुपमा पेस गरे । उनले  आफ्ना आम पाठकलाई सम्बोधन गर्दै भने– “आदरणीय साथीहरु ! मेरो यो कविता– जनमत साहित्यिक मासिकमा २०६३ साल असोज (पूर्णाङ्क ११५) मा छापिएको छ । मेरो नाममा जनमतले निकालेको विशेषङ्कमा कवि समालोचक रामप्रसाद ज्ञवालीले लेख्नुभएको समीक्षा लेखमा छ यो । 
आफ्नो सिर्जना अरुले चोरेर चोरले उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।”

पराजुली यतिमा रोकिएनन् । उनले लक्ष्मी पी पराजुलीले २०१६ अगस्ट १६ मा यही कविता साभार गरेको प्रमाण पनि पेस गरे । लक्ष्मी पी पराजुलीले उनको सो कविता पोस्ट गर्दै भनेका छन्– “आदरणीय दाजु अर्जुन पराजुलीको यो कविता हाम्रा नेताहरुको अहिलेको व्यवहारसँग ठ्याक्कै मिल्ने भएकाले यहाँ साभार गरेको हुँ ।”

पराजुलीले आफ्नो कविता हो भनेर प्रशस्त प्रमाण जुटाएपछि भूपेन्द्र हच्किए र उनले माफी मागेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप