बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई आफ्नै पार्टीले पत्याएन, जनताले पत्याए

उम्मेदवारी फिर्ता लिन धम्की, निर्वाचनपछि मार्छु भने
बिहीबार, ०५ जेठ २०७९, २० : ५०
बिहीबार, ०५ जेठ २०७९

स्थानीय तह निर्वाचन २०७९ मा धादिङबाट चारजना वडाध्यक्षहरू स्वतन्त्र उठेर विजयी भएका छन् । आफू आबद्ध भएको राजनीतिक दलले अर्कै व्यक्तिलाई टिकट दिएपछि विद्रोह गरेर बागी उम्मेदवारी दिएका चार जनाले आफ्नै पार्टीका सहकर्मी र विपक्षीलाई हराएर विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ का क्रममा धादिङबाट स्वतन्त्र उठेर निर्वाचित भएका वडाध्यक्षहरू हुन्, नीलकण्ठ नगरपालिका ३ बाट राजकुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका ८ बाट प्रकाश कुमार श्रेष्ठ, धुनिबेशी नगरपालिका ५ बाट विशाल भट्टराई र ज्वालामुखी गाउँपालिका ४ बाट कृष्ण बहादुर गुरुङ । विजयी भएका यी चारैजना उम्मेदवार नेपाली काँग्रेसका तर्फबाट आधिकारिकरुपमा उम्मेदवारको टिकट नपाएपछि स्वतन्त्रको हैसियतमा चुना लडेका व्यक्तिहरू हुन् ।

नीलकण्ठ नगरपालिका ३ मा राजकुमार श्रेष्ठ

धादिङको नीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको भए पनि वडा तहमा भने राजनीतिक दलले आआफ्नै बलमा चुनाव लडेका थिए । जसमा नेपाली काँग्रेसका उम्मेदवारहरूले नीलकण्ठ ७ बाट गौतम हरि अधिकारी, नीलकण्ठ ९ बाट राजन बराइली, नीलकण्ठ १० बाट सरोज पाण्डे, नीलकण्ठ ११ बाट रामबहादुर श्रेष्ठ, नीलकण्ठ १२ बाट राजकुमार भण्डारी र नीलकण्ठ १३ बाट सोम बहादुर गुरुङ विजयी भएका छन् ।

यता माओवादी केन्द्रतर्फ नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ बाट गणेशबहादुर गुरुङ, नीलकण्ठ २ बाट ध्वजबहादुर गुरुङ, नीलकण्ठ ५ बाट रामबहादुर (रामकुमार) श्रेष्ठ, र नीलकण्ठ १४ बाट नमराज दुवाडी विजयी भएका छन् । नीलकण्ठ ६ मा नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच मत बराबर भएपछि गोलाप्रथा हुन बाँकी नै छ । एमालेले नीलकण्ठ ४ मा विजय हासिल गरेको छ । नीलकण्ठ ४ मा एमालेका हरि बहादुर श्रेष्ठ विजयी भएका छन् ।

बाँकी रहेको नीलकण्ठ ३ र नीलकण्ठ ८ मा नेपाली काँग्रेससँग सम्बन्ध राख्ने दुई उम्मेदवारले स्वतन्त्रको तर्फबाट निर्वाचनमा सहभागी भएर जीत हासिल गरे ।

नीलकण्ठ ३ मा नेपाली काँग्रेसका युवा कार्यकर्ता राजकुमार श्रेष्ठले टिकट पाउने चर्चा थियो । तर नेपाली काँग्रेसको धादिङ जिल्ला कमिटी र नीलकण्ठ नगर कमिटीले राजकुमार श्रेष्ठलाई टिकट नदिई गोपीकृष्ण भण्डारीलाई वडा अध्यक्षको टिकट दियो ।

त्यसपछि असन्तुष्ट बनेका काँग्रेस कार्यकर्ता राजकुमार श्रेष्ठले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए । श्रेष्ठले जिल्ला निर्वाचन कार्यालयबाट गुलाब चुनाव चिन्ह लिएर मैदानमा उत्रिए ।

सुरुमा काँग्रेसले उम्मेदवारी फिर्ता लिन उनलाई आग्रह गरेको थियो । काँग्रेसकै एउटा गुटले त उम्मेदवारी फिर्ता नगरे हातखुट्टा भाँचिदिने सम्मका धम्की दिएका थिए । काँग्रेसका नेताहरूले पटकपटक फोन गरेर दबाब दिएपछि उनले पनि नेताको फोन नै उठाउन छाडेको रातोपाटीलाई बताए ।

आफ्नै दलका आधिकारिक उम्मेदवारविरुद्ध किन त बागी उम्मेदवारी ? रातोपाटीको प्रश्नमा श्रेष्ठले भने, ‘हामीले आफ्नै दल र अन्य राजनीतिक दललाई पनि सबक सिकाउन पर्ने थियो । नेताका खल्तीबाट टिकट दिएर हुँदैन जनताका मनमा बस्ने व्यक्ति पनि चाहिन्छ भनेर सबक सिकाउनु पनि थियो । त्यही भएर पनि मैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको थिएँ ।

काँग्रेसकै पकड मानिएको र अघिल्लो निर्वाचनमा पनि मुख्य बजार क्षेत्र पर्ने नीलकण्ठ ३ मा काँग्रेसका आधिकारिक उम्मेदवार गोपीकृष्ण भण्डारीले जम्मा ६२९ मत प्राप्त गर्दा गुलाबको फूल चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिएका श्रेष्ठले भने भण्डारीलाई दोब्बरभन्दा बढी मतले पराजित गरे । श्रेष्ठले १ हजार ३३९ मत ल्याएर विजयी भए ।

श्रेष्ठले भने, ‘काँग्रेस पार्टीले राम्रो भन्दा पनि हाम्रो भन्दै अर्को व्यक्तिलाई टिकट दिएपछि काँग्रेसका शुभचिन्तक र जनताहरूले स्वतन्त्रमा उम्मेदवारी दिन भने । त्यसपछि मैले उम्मेदवारी दिएँ र मलाई काँग्रेसकै एउटा समूह, माओवादी, एमाले र राप्रपाका कार्यकर्ता तथा आम जनसमुदायले सहयोग गरेपछि मैले जितेको हुँ । अब जनताको मतको कदर गर्दै जनताका लागि काम गर्नेछु ।

उम्मेदवारी फिर्ता लिन धम्की, निर्वाचनपछि पछि ज्यान मार्ने धम्की

नीलकण्ठ ३ वडा अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले आफूलाई उम्मेदवारी फिर्ता लिन धम्की आएको बताए । उनले भने, ‘सुरुमा नेताहरूले सम्झाउने कोसिस गरे । मैले उम्मेदवारी फिर्ता नलिने बताएपछि केही नेताले धादिङका गुन्डा पठाएर ज्यान मार्नेसम्मको धम्की दिए । निर्वाचनको दिन पनि आधिकारिक उम्मेदवारले हारेको अवस्थामा ज्यान मार्ने भन्दै धम्काउन थाले । अति भएपछि मैले प्रहरीलाई खबर गरेँ । केही गुन्डाहरूलाई प्रहरीले पक्राउ पनि ग¥यो । निर्वाचित भइसकेपछि भने धम्की आएको छैन ।

तपाइँ अब काँग्रेसको वडा अध्यक्ष कि स्वतन्त्रभन्दा तत्कालका लागि आफू स्वतन्त्र वडा अध्यक्ष भएको र स्वतन्त्रकै हैसियतमा काम गर्ने बताए । उनले भने, ‘सबै पार्टीमा आस्था राख्ने शुभेच्छुकहरूले मत दिएर जिताउनुभएको छ । त्यसकारण म तत्काल कुनै पार्टीको नभई स्वतन्त्र वडाध्यक्षकै हैसियतमा काम गर्नेछु ।

नीलकण्ठ ८ मा पनि काँग्रेसकै बागीको जीत

नीलकण्ठ ३ मात्रै होइन, धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पनि काँग्रेसकै बागी उम्मेदवारले जितेका छन् । उक्त वडामा अघिल्लो कार्यालय वडा सदस्य निर्वाचित भएका प्रकाश कुमार श्रेष्ठ यसपटक वडा अध्यक्षमा उठ्न चाहन्थे । स्थानीय जनताले पनि प्रकाशलाई नै वडा अध्यक्ष बनाउन चाहन्थे । तर काँग्रेसको जिल्ला नेतृत्व र नगर समिति तथा क्षेत्रीय समितिले रमेश कोइरालालाई टिकट दियो । कोइरालालाई टिकट दिएपछि प्रकाश कुमार श्रेष्ठले स्वतन्त्रका रूपमा भूइँकटहर चुनाव चिन्ह लिएर निर्वाचनमा होमिए ।

वडा अध्यक्षका रूपमा बागी उम्मेदवारी दिएपछि प्रकाशलाई पनि काँग्रेस नेतृत्वबाट उम्मेदवारी फिर्ता लिन आग्रह र धम्की दुवै आयो । उनले रातोपाटीसँग भने, ‘मलाई उम्मेदवारी फिर्ता लिन काँग्रेस र वडा अध्यक्षका उम्मेदवारले पटकपटक आग्रह गर्नुभयो । केही गुन्डाले त उम्मेदवारी फिर्ता नलिए ज्यानै लिनेसम्मको धम्की पनि दिए । तर यहाँका जनताले उम्मेदवारी फिर्ता लिन दिएनन् र म चुनावी मैदानमा होमिए । अनि जनताले जिताइदिए ।

आफ्नै दललाई सबक सिकाउन चाहन्थेँ : श्रेष्ठ

भूइँकटहर चुनाव चिन्ह लिएर विजयी भएका प्रकाश कुमार श्रेष्ठले दलको हेपाई र मान्छे नचिन्ने प्रवृत्तिलाई सबक सिकाउन पनि आफू उम्मेदवार बनेको बताए । उनले भने, ‘आफ्नै दलले कति हेपाहा व्यवहार देखाउँछ त्यसको विरुद्ध र नेताका खल्तीबाट टिकट लिने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी थियो । जनताले कसलाई चाहेका छन् भन्ने नबुझी आफूले भनेको मान्ने व्यक्तिलाई मात्रै टिकट दिनु हुँदैन है भन्ने कुरा बुझाउन पनि मेरो उम्मेदवारी थियो र त्यो विषयमा म सफल भएको छु ।

आधिकारिक उम्मेदवारभन्दा चण्डै चार गुणा मत बागीलाई !

नीलकण्ठ ८ नेपाली काँग्रेसको पकड क्षेत्र हो । काँग्रेसका धेरै मतदाता रहेको उक्त वडामा आधिकारिक उम्मेदवार रमेश कोइरालाले ३६३ मत ल्याउँदा बागी उम्मेदवार प्रकाशकुमार श्रेष्ठ १ हजार १५३ मत ल्याएर विजयी भए । कुल २ हजार ५४ सदर मतमध्ये श्रेष्ठ एक्लैले ५६ प्रतिशत मत ल्याए । काँग्रेसकै आधिकारिक उम्मेदवार रमेश कोइरालाले कुल सदर मतको १७ दशमलव ६७ प्रतिशत मात्रै मत ल्याउन सके । जबकि उक्त वडाबाट काँग्रेसका मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले राम्रो मत प्राप्त गरेका थिए ।

अब तपाईँ काँग्रेसको वडाध्यक्ष कि स्वतन्त्र भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘मलाई स्वतन्त्रकै हैसियतमा जनताले मन पराएका छन् । स्वतन्त्र भएपछि मैले कसैले दबाब नसुनी खुरुखुरु काम गर्न पाउँछु । त्यही भएर स्वतन्त्र वडाध्यक्षकै हैसियतमा काम गर्ने सोच छ ।

ज्वालामुखी गाउँपालिका ४ मा पनि काँग्रेसकै बागी विजयी

नीलकण्ठ नगरपालिकाको दुईवटा वडा मात्रै होइन, काँग्रेसकै ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा पनि काँग्रेसका बागी उम्मेदवारले विजय हासिल गरेका छन् । ज्वालामुखी गाउँपालिका ४ मा काँग्रेसका आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठ ५३९ मत ल्याएर तेस्रो हुँदा खरायो चुनाव चिन्ह लिएर काँग्रेसकै बागी उम्मेदवार बनेका कृष्ण बहादुर गुरुङ १ हजार १०३ मत ल्याएर विजयी भए । उक्त वडामा एमाले दोस्रो पार्टी बन्यो ।

अघिल्लो कार्यालय वडाध्यक्षमा निर्वाचित भई चलाइसकेका श्रेष्ठलाई काँग्रेसको जिल्ला नेतृत्वले टिकट दिएन । काँग्रेसको जिल्ला समिति र क्षेत्रीय समितिले कृष्ण लाल श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका कृष्ण बहादुर गुरुङले स्वतन्त्रमा उम्मेदवारी दिए । खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिँदा उनी आधिकारिक उम्मेदवारको भन्दा दोब्बरभन्दा मत पाएर विजयी भए ।

गुरुङलाई पनि नेतृत्वको धम्की

त्यसो त काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा होमिएका गुरुङलाई पनि जिल्ला नेतृत्वबाट उम्मेदवारी फिर्ता लिन र स्वतन्त्र उम्मेदवारलाई सघाउन धम्की र दबाब नआएको होइन । तर उनले जिल्ला नेतृत्वको धम्की र दबाब मानेनन् । उनले भने, ‘जनताले मलाई नै मन पराएका थिए । तर नेतृत्वले मेरो टिकट खोसेर अरूलाई दिएपछि जनताकै बलमा मैले उम्मेदवारी दिएको थिएँ । र जनताले मलाई जिताइदिए ।

ज्वालामुखी ४ मा गुरुङलाई माओवादी केन्द्र र राप्रपाले समेत सहयोग गरेको थियो । जीतपछि उनी दोस्रोपटक वडाध्यक्षका रूपमा चुनिएका छन्, तर स्वतन्त्रको हैसियतमा । जबकि उक्त वडाबाट काँग्रेसका मेयरका उम्मेदवारलाई १ हजार ६०१ मत प्राप्त भएको थियो ।

स्वतन्त्रकै हैसियतमा काम गर्ने इच्छा

ज्वालामुखी गाउँपालिका ४ मा खरायो चुनाव चिन्ह लिएर स्वतन्त्रमा विजयी भएका गुरुङ अबको ५ वर्ष स्वतन्त्र वडाध्यक्षकै हैसियतमा काम गर्ने बताउँछन् । उनले भने, ‘दलले जित्ने व्यक्तिलाई र जनताको मनमा बसेको व्यक्तिलाई टिकट नदिई अरू कसैलाई टिकट दिएपछि मैले स्वतन्त्रमा उम्मेदवारी दिएको हो । अब जनताले स्वतन्त्रबाटै जिताएपछि म कुनै दलको वडाध्यक्ष हुने कुरा भएन । अबको ५ वर्ष स्वतन्त्रकै हैसियतमा जनताको सेवामा खट्छु ।

गठबन्धनले टिकट खोसेपछि स्वतन्त्र उम्मेदवारी, माओवादीलाई हराएर विजयी

धादिङकै धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा पनि काँग्रेसकै राजनीति गर्ने ३९ वर्षीय विशाल भट्टराई स्वतन्त्र हैसियतमा विजयी भएका छन् । धुनिवेशी गाउँपालिकाको वडा तहमै सत्ता गठबन्धनबीच वडामा उम्मेदवारी दिने सम्बन्धमा समझदारी भएको थियो । सहमति अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ५ माओवादी केन्द्रको भागमा परेको थियो ।

तर काँग्रेसका वडा सभापति समेत रहेका ३९ वर्षीय विशाल भट्टराईलाई गठबन्धनको निर्णय चित्त बुझेन । आफू वडा सभापति रहेको र काँग्रेसले जित्ने पक्का हुँदाहुँदै पनि माओवादी केन्द्रलाई सिट दिएको भन्दै उनले असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दिए । गुलाबको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका उनले सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार माओवादी केन्द्रका कृष्ण कुमार रेग्मीलाई हराएर विजयी भए । स्वतन्त्र उम्मेदवार विशाल भट्टराईले ८८६ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार कृष्ण कुमार रेग्मी ६७८ मत ल्याए ।

१ सय मतको आँकलन गरेको गठबन्धनले,

धुनिवेशी ५ मा स्वतन्त्रबाट वडाध्यक्ष बनेका भट्टराईले सुरुमा गठबन्धनले आफूलाई वास्ता नै नगरेको बताए । उनले भने, ‘सुरुमा स्वतन्त्रले पाउने १ सय मत त हो नि भनेर उनीहरुले कुनै वास्ता गरेनन् । पछि मेरो पक्षमा माहोल देखेपछि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पटकपटक फोन आएपछि मैले उम्मेदवारी फिर्ता लिने दुई दिन मोबाइलको स्वीच नै अफ गरेर बसिदिए । त्यसपछि अर कुनै दबाब वा धम्की भने आएन ।

अर्कोपटक पनि स्वतन्त्रमै चुनाव लड्ने इच्छा

काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका भट्टराई आगामी ५ वर्ष स्वतन्त्र वडाध्यक्षकै रूपमा काम गर्ने बताउँछन् । उनले भने, ‘म अहिले दलको होइन, स्वतन्त्र वडाध्यक्ष हो । स्वतन्त्र भएरै आगामी ५ वर्ष जनताको लागि काम गर्न चाहन्छु । जनताले चाहे भने अर्कोपटक पनि स्वतन्त्र उम्मेदवारकै रूपमा काम गर्न चाहन्छु । त्यसका लागि जनताले पत्याउने गरी काम गर्नेछु ।

यसरी धादिङ जिल्लाका तीन वटा स्थानीय तहमा चार जना वडाध्यक्षले स्वतन्त्र हैसियतमा चुनाव जित्दा चारवटै स्वतन्त्र उम्मेदवार काँग्रेसका बागी उम्मेदवार थिए । यी उम्मेदवारहरूलाई नेपाली काँग्रेसको जिल्ला नेतृत्वले पत्याएन, उनीहरुले जनता अर्थात् मतदाताले भने पत्याए र विजयी गराए । राम्रा र जित्ने उम्मेदवार नचिन्ने काँग्रेसको नेतृत्वलाई यी विजयी उम्मेदवारले राम्रो सबक सिकाएका छन् कि उम्मेदवारको टिकट दिँदा कस्ता व्यक्तिलाई दिनुपर्ने रहेछ भनेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप