बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम : कसले गुमायो, कसले बढायो ?

शुक्रबार, ०६ जेठ २०७९, ०७ : १३
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाकै नतिजा सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिकामध्ये दुवैको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकपा एमाले र फलेवास नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको छ ।

यस्तै, पाँच गाउँपालिकामध्ये काँग्रेसले तीन गाउँपालिका प्रमुखमा जित हासिल गरेको छ । पैयूं गाउँपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । जिल्लाका ६१ वटा वडामध्ये नेकपा एमालेले ३३ वडाका अध्यक्षमा जित हासिल गरेको छ भने २४ वटा वडाअध्यक्षमा काँग्रेस विजयी भएको छ । माओवादी केन्द्र ३ वटा वडाअध्यक्षमा निर्वाचित भएको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा पर्वत जिल्लामा एमालेले ३७ वटा वडा जितेको थियो । अहिले ४ वटा वडा एमालेले गुमाएको छ । २०७४ स्थानीय तह निर्वाचनमा पर्वतमा काँग्रेसले २० वडा जितेको थियो भने हाल बढाएर  २४ पुर्‍याएको छ । त्यस्तै नेकपा माओवादीले १ वटा वडा गुमाएको छ ।
  
कुश्मा नगरपालिका
कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी निर्वाचित भएका छन् । उनले ९ हजार ८४९  मत प्राप्त गरे । जोशीले नेकपा एमालेका गणेश शर्मा पौडेललाई ७८९ मतले उछिन्दै जितेका हुन् । एमालेका पौडेलले ९ हजार ५१ मत प्राप्त गरेका थिए ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल निर्वाचित भएकी छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शंकर गिरीलाई ८१० मतले हराइन् । माओवादी केन्द्रका गिरीले ८ हजार २८२ प्राप्त गरे । निर्वाचित रिजालले ९ हजार ९२ मत प्राप्त गरिन् ।

२०७४ सालमा भएको स्थानीय तह चुनावमा कुश्मा नगरपालिकाको मेयरमा काँग्रेसका रामचन्द्र जोशी नै निर्वाचित भएका थिए । उनले  एमालेका निकटतम प्रतिद्वन्द्वी मेघनाथ सुवेदीलाई ८१८ मतले पराजित गरेका थिए । जोशीले ८ हजार ५७ मत ल्याएका थिए भने एमालेका सुवेदीले ७ हजार २३९ मत प्राप्त गरेका थिए ।

यस्तै, उपमेयरमा काँगे्रसकी सीता कुमारी काफ्ले निर्वाचित भएकी थिइन् । उनले ८ हजार ४१९ मत प्राप्त गरेकी थिइन् । काफ्लेले नेकपा एमालेकी मुवा कुमारी शर्मालाई १ हजार ३९६ मतले पराजित गरेकी थिइन् । शर्माले ७ हजार २३ मत प्राप्त गरेकी थिइन् ।
 
फलेवास नगरपालिका
फलेवास नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका उनी अहिले ७ हजार ७०० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी शर्मालाई १ हजार ३६२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । शर्माले ६ हजार ३३८ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शोभा कुमारी क्षेत्री निर्वाचित भएकी छन् । उनले ६ हजार ३२७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मञ्जु अधिकारी प्यासीले ६ हजार ५७ मत प्राप्त गरिन् ।

यसअघि २०७४ सालमा भएको यो नगरपालिकाको प्रमुखमा एमालेका पदमपाणी शर्मा ६ हजार १०३ मत प्राप्त गरी विजयी भएका थिए । उनले काँग्रेसका प्रतिद्वन्द्व अर्थात् हाल निर्वाचित गंगाधर तिवारीलाई ३४८ मतले पराजित गरेका थिए । तिवारीले ५ हजार ७५५ मत प्राप्त गरेका थिर्ए ।

यस्तै, नेकपा एमालेका मन्जु अधिकारी प्यासी उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उनले ५ हजार ९५४ मत प्राप्त गरेकी थिइन् । उपप्रमुखमा  नेपाली काँग्रेसकी रेखा गुरुङले ५ हजार ६४९ मत प्राप्त गरेकी थिइन् ।
 
जलजला गाउँपलिका

जलजला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु प्रसाद आचार्य विजयी भएका छन् । उनले ५ हजार ६५७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर अधिकारीले ४ हजार १८४ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य विजयी भएका छन् । उनले ४ हजार ७९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिता वरुवाल ७७ मतले पराजित भइन् । वरुवालले ४ हजार ७१५ मत प्राप्त गरिन् ।

अघिल्लो निर्वाचनमा जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका याम बहादुर मल्ल निर्वाचित भएका थिए । मल्लले नेकपा एमालेका लालबहादुर अधिकारीलाई ६४५ मतले पछि पार्दै जित निकालेका थिए । निर्वाचित मल्लले ३ हजार ७२३ मत प्राप्त गरेका थिए भने अधिकारीले ३ हजार ७८ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्षमा काँग्रेसकै सिमा गर्वुजा पुन निर्वाचित भएकी थिइन् । उनले ३ हजार ७८३ मत प्राप्त गरेकी थिइ्न् । उनका प्रतिस्पर्धी नेकपा एकालेकी अनिता कुमारी रेग्मी पौडेलले ३ हजार ६५७ मत प्राप्त गरेकी थिइन् ।
 
पैयूं गाउँपालिका
नेपाली काँग्रेसका तोरण मल्ल ठकुरी पैयूं गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । ठकुरीले ३ हजार ८२४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्रकुमार श्रेष्ठले भन्दा ४४४ मत बढी ल्याइ ठकुरी विजयी भएका हुन् । एमालेका उम्मेदवार श्रेष्ठले ३ हजार ३८० मत प्राप्त गरेका थिए ।

पालिकाको उपाध्यक्षमा नेकपा एमालेकी यामकुमारी राना निर्वाचित भएकी छन् । उनले ३ हजार ७७७ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी काँग्रेसकी जानकी प्रधानले ३ हजार ४५८ मत प्राप्त गरिन् ।

२०७४ सालको चुनावमा पैयूं गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका खगेन्द्र प्रसाद तिवारी ३ हजार ४३१ मतका साथ निर्वाचित भएका थिए । तिवारीले नेकपा एमालेका मित्रलाल वस्याललाई ९ सय ७७ मतले जितेका थिए । वस्यालले २ हजार ४५४ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा काँग्रेसकी जसमति गुरुङ निर्वाचित भएकी थिइन् । उनले ३ हजार १६८ मत प्राप्त गरेकी थिइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी गोमता कुमारी शर्माले २ हजार ४८४ मत प्राप्त गरेकी थिइन् ।
 
महाशिला गाउँपालिका
नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल महाशिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले २ हजार ७५३ प्राप्त गरे । भुसालले काँग्रेसका अशोक उच्चै ठकुरीलाई ४४७ मतले पराजित गरेका हुन् । ठकुरीले २ हजार ३०६ प्राप्त गरे ।
यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेका धनसुवा विक २ हजार ७०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विराज हमालले १ हजार ९६९ मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा महाशिला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजु प्रसाद पौडेल २ हजार ४५३ मतका साथ निर्वाचित भएका थिए । सोही पदमा काँग्रेसका कृष्ण गुरुङले २ हजार १० मत प्राप्त गरेका थिए ।
सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकै हिरा कुमारी राना २ हजार ४८३ मत प्राप्त गरी निर्र्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सृजना मल्लले एक हजार ९१५ मत प्राप्त गरेकी थिइन् ।
 
मोदी गाउँपालिका
मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी हिरादेवी शर्मा निर्वाचित भएकी छन् । उनले ६ हजार १९ मत प्राप्त गरिन् । शर्माका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले ४ हजार ६८० मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा पनि नेकपा एमालेकै विमल लामिछानेले नेपाली काँग्रेसका राम बहादुर प्रसाईलाई १ हजार ६४९ मतले पछि पारेर विजयी भए । लामिछानेले ६ हजार ३०३ मत ल्याए भने काँग्रेसका प्रसाईले ४ हजार ६५४ मत प्राप्त गरे ।
यसअघिको निर्वाचनमा मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम शर्मा पौडेल निर्वाचित भएका थिए । उनले ५ हजार ३४३ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विश्व प्रकाश प्रसाई ठकुरीले ३ हजार ८१९ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेकै सेती महत निर्वाचित भएकी थिइन् । उनले ५ हजार ३९६ मत प्राप्त गरेकी थिइन् ।
महतकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी मीना कुमारी केसीले ३ हजार ८३४ मत प्राप्त गरेकी थिइन् ।
 
विहादी गाउँपालिका
विहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका परविन गुरुङ विजयी भएका छन् । निर्वाचित गुरुङले ३ हजार ४६९ मत प्राप्त गरे । गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओम प्रसाद कुंवर ५३२ मतले पराजित भए । कुंवरले २ हजार ९३७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी मिना शर्मा तिवारी निर्वाचित भएकी छन् । शर्माले ३ हजार २२७ मत प्राप्त गरिन् । सोही पदमा नेकपा माओवादी केन्द्रका सन्त बहादुर गुरुङले ३ हजार ५० मत प्राप्त गरे ।

पाँच वर्षअघि भएको निर्वाचनमा विहादी गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका कमल प्रसाद भुसाल निर्वाचित भएका थिए । उनले २ हजार ४२० मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेसका परविन गुरुङलाई २०३ मतले पछि पार्दै निर्वाचित भएका थिए । गुरुङले २ हजार २१७ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा नेकपा एमालेकी डम्वर कुमारी गुरुङ निर्वाचित भएकी थिइन् । उनले २ हजार ३१५ मत प्राप्त गरेकी थिइन् । गुरुङले नेपाली काँग्रेसकी विष्णु कुमारी खड्का क्षेत्रीलाई १६ मतले पराजित गरेकी थिइन् । क्षेत्रीले २ हजार २९९ मत प्राप्त गरेकी थिइन् ।
 
यी हुन् एमालेले जितेका वडा
१. जलजला गाउँपालिका वडा नम्बर १ बाँसखर्क
२. जलजला गाउँपालिका वडा नम्बर २ माझफाँट
३. जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँट
४. जलजला गाउँपालका वडा नम्बर ४ माझफाँट
५. जलजला गाउँपालिका वडा नम्बर ५ लेकफाँट
६. महाशिला गाउँपालिका वडा नम्बर १ होश्राङदी
७. महाशिला गाउँपालका वडा नम्बर २ भोक्सिङ
८. महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९. महाशिला गाउँपालिका वडा नम्बर ४ पाखापानी
१० . महाशिला गाउँपालिका वडा नम्बर ६ फलामखानी
११ . पैयू गाउँपालिका वडा नम्बर २ त्रिवेणी
१२ . पैयू गाउँपालिका वडा नम्बर ३ बेउलीबास
१३ . पैयू गाउँपालिका वडा नम्बर ४ हुवास
१४ . पैयू गाउँपालिका वडा नम्बर ५ हुवास
१५ . पैयू गाउँपालिका वडा नम्बर ६ सरौखोला
१६ . विहादी गाउँपालिका वडा नम्बर १ बाच्छा
१७ . फलेवास नगरपालिका वडा नम्बर २ थापाठाना
१८ . फलेवास नगरपालिका वडा नम्बर ६ खानीगाउँ
१९ . फलेवास नगरपालिका वडा नम्बर७ लिमिठाना
२०. फलेवास नगरपालिका वडा नम्बर ८ ठानामौला
२१. फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ
२२. विहादी गाउँपालिका वडा नम्बर ३ रानीपानी
२३. विहादी गाउँपालिका वडा नम्बर ५ उराम
२४. मोदी गाउँपालिका वडा नम्बर १ भुकदेउराली
२५. मोदी गाउँपालिका वडा नम्बर २ देउपुर
२६. मोदी गाउँपालिका वडा नम्बर ३ देउराली
२७. मोदी गाउँपालिका वडा नम्बर ७ राम्जा
२८. मोदी गाउँपालिका वडा नम्बर ८ चित्रे
२९. कुश्मा नगरपालिका वडा नम्बर  ३ दुर्लुङ
३०. कुश्मा नगरपालिका वडा नम्बर ६ शिवालय
३१. कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी
३२. कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा
३३. कुश्मा नगरपालिका वडा नम्बर १३ खौला
 
यी हुन् काँग्रेसले जितेका वडा 
 
१. पैयू गाउँपालिका वडा नम्बर १ टकलाक
२. पैयू गाउँपालिका वडा नम्बर ७ भोर्ले
३. जलजला गाउँपालिका वडा नम्बर ५ शालिजा
४. जलजला गाउँपालिका वडा नम्बर ८ नांलीवाङ
५. कुश्मा नगरपालिका वडा नम्बर १ पाङ
६. कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोट
७.कुश्मा नगरपालिका वडा नम्बर ४ शिवालय
८. कुश्मा नगरपालिका वडा नम्बर ५ शिवालय
९.कुश्मा नगरपालिका वडा नम्बर ७ शिवालय
१०. कुश्मा नगरपालिका वडा नम्बर ८ चुवा
११.कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी
१२.कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर
१३ .फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटा
१४. फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरी
१५. फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवा
१६ .फलेवास नगरपालिका वडा नम्बर ६ देविस्थान
१७. फलेवास नगरपालिका वडा नम्बर ९ भंगरा
१८.फलेवास नगरपालिका वडा नम्बर १० कुर्घा
१९ . महाशिला गाउँपालिका वडा नम्बर ५ लुंखु
२०. विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर
२१. विहादी गाउँपालिका वडा नम्बर ४ वहाकी
२२.मोदी गाउँपालिका वडा नम्बर ४ क्याङ
२३. मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ
२४. मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहार
 
यी हुन् माओवादी केन्द्रले जितेका वडा
 १ .जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङ
२.जलजला गाउँपालिका वडा नम्बर ९ बनौ
३. विहादी गाउँपालिका वडा नम्बर ६ शालिग्राम
स्वतन्त्रले जितेको वडा
१ . कुश्मा नगरपालिका वडा नम्बर १२ ठुलीपोखरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप