बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटा : ०७४ का ‘म्यान अफ द म्याच’ राजेन्द्र ०७९ मा सुनिलद्वारा ‘बोल्ड आउट’

शुक्रबार, ०६ जेठ २०७९, १३ : २२
शुक्रबार, ०६ जेठ २०७९

सत्तारुढ नेपाली काँग्रेसले धनकुटामा एमालेको ‘लाल किल्ला’ भत्काएको छ । ०७४ मा धनकुटाका स्थानीय तहमा शून्य भएको काँग्रेसले हालै सम्पन्न निर्वाचनमा ४ पालिका प्रमुखसहित १५ वडा थपेको छ । एमालेबाट काँग्रेसले चार पालिका प्रमुख खोस्दा माओवादी केन्द्रले पनि एक उपप्रमुख पाएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँगको गठबन्धनले काँग्रेसलाई धनकुटामा सफलता प्राप्त भएको छ ।

काँग्रेसले धनकुटा नगरपालिकाको प्रमुखमा झिनो मतान्तरले पराजय व्यहोरेको छ । यहाँ नगरप्रमुख पदमा नेकपा एमालेसँग काँग्रेसका उम्मेदवार मात्र १४ मत अन्तरले पराजित भएका छन् । पाख्रिबास र महालक्ष्मी नगरपालिका तथा छथर र साँगुरीगढी गाउँपालिकाको नेतृत्व काँग्रेसले पाएको छ । एमालेले धनकुटा नगरपालिका, चौबिसे र सहिद भूमि गाउँपालिकाको नेतृत्व यथावत राख्न सफल भएको छ भने छथर बाहेक ६  वटा पालिकाको उपप्रमुख जितेको छ ।

अहिले एमालेले ३२, काँग्रेसले २५, माओवादीले २ र जसपाले एउटा वडा जितेको छ । यसअघि एमालेले ४३ वडाध्यक्ष जितेको थियो । काँग्रेस, माओवादी, राप्रपा र संघीय समाजवादी फोरम विभिन्न ठाउँमा मिलेर १७ वडाध्यक्ष जितेका थिए । काँग्रेसले १०, माओवादीले ५ र जसपाले दुई जितेको थियो । समग्रमा धनकुटा जिल्लाका ७ स्थानीय तह र ६० वडामध्ये एमालेले ८५ प्रतिशत मत पाएको थियो ।

धनकुटामा स्थानीय, प्रदेश र संघमा एमालेले ‘क्लिन स्वीप’ पारेपछि अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईलाई ०७४ को निर्वाचनको ‘म्यान अफ द म्याच’को उपाधि दिएका थिए । विजयको खुसी बाँड्न ओली आफै धनकुटा पुगेका थिए ।

यसपटक भने धनकुटाको स्थानीय निर्वाचनमा परिणाम उल्टिएको छ । संघीय सांसद राजेन्द्र कुमार राईको गृह नगर नै रहेको पाख्रिबास नगरपालिकामा काँग्रेससँग एमाले पराजित भएको छ । पाख्रिबासमा एमालेलाई हराउन सफल भएकोमा काँग्रेसका नेता सुनील थापा उत्साहित छन् । उनको गृहनगर पनि पाख्रिबास नै हो । धनकुटामा गत निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको एमालेलाई यसपटक ‘बोल्ड आउट’ गरिएको सुनिल थापाको भनाइ छ ।

विगतमा धनकुटाको राजनीति सूर्यबहादुर थापा भर्सेस एमाले जस्तो थियो । केन्द्रमा राप्रपाको र जिल्लामा एमालेको जगजगी थियो । सूर्यबहादुरको निधनपछि उनको राजनीतिक विरासत धनकुटामा कायम राख्न उत्तराधिकारी सुनिल मैदानमा छन् ।

राप्रपा छोडेर सुनिल काँग्रेसको राजनीतिमा लागेपछि धनकुटामा एमालेलाई पहिलो झट्का लागेको छ । ०५४ यता धनकुटालाई ‘लाल किल्ला’ बनाएको एमालेलाई काँग्रेस नेता थापा चुनौती बनेका छन् । पाँच दलीय गठबन्धनको साथ र एमाले विभाजनको फाइदा थापाले यसपटक भरपुर उठाए । काँग्रेसको १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ विजयी भएका थापाले धनकुटामा पनि आफ्नो सामर्थ्य देखाएका छन् ।

उनले भने, ‘म काँग्रेसमा आएपछि राप्रपाको स्ट्रेन्थ पनि जोडिँदा धनकुटामा काँग्रेसको प्रभाव बढेको छ । एक र एक दुई होइन, हामीले एक र एक ११ बनायौं । राप्रपा, सूर्यबहादुर थापा र मेरो आफ्नो प्रभावले गर्दा हामीले राम्रोसँग बोल्ड आउट गर्न सफल भएका छौं ।’

सातै पालिकाबाट एमाले साधन स्रोतका साथ मैदानमा आउँदा पनि काँग्रेसले चार पालिका जित्नु ठूलो सफलता भएको थापा बताउँछन् । त्यसका पछाडि मुख्य केही कारण रहेको थापाले सुनाए ।

‘१४ औं महाधिवेशनबाट काँग्रेसको संगठनको पुनर्संरचना भयो । काँग्रेसमा समायोजन भएर राप्रपा पनि छिर्‍यो । त्यसले काँग्रेसलाई ठूलो स्ट्रेन्थ मिल्यो,’ उनले रातोपाटीलाई भने, ‘हामीले टोल टोलसम्म कमिटी बनायौं । यसले एमालेको अन्याय, भ्रष्टाचार र एकलौटीको ज्यादती तोड्न सफलता मिल्यो ।’

थापाले भनेजस्तै धनकुटामा राप्रपाको यस पटक बिजोग भएको छ । ०७४ मा वडाध्यक्षमा पाएको मत हिसाब गर्दा राप्रपाको ४ हजार ३७८ मत थियो । यसपटक जिल्लाभरि ३ सय मत पनि पुगअपुग छ ।

थापाले राप्रपाको चार हजार भोट काँग्रेसतिर सर्लक्क मिसाएको देखिन्छ । धनकुटाको आगामी राजनीति काँग्रेसका सुनिल थापा, एमाले नेता राजेन्द्र कुमार राई र जसपाका नेता रकम चेम्जोङको सेरोफेरो रहने देखिन्छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको परिणाम काँग्रेस नेता थापाको अनुकुल आएको छ । यसले आसन्न प्रदेश र संघीय निर्वाचन धनकुटामा थप रोचक बन्ने संकेत देखाएको छ ।

धनकुटाका सात पालिकाको विगत र वर्तमान अवस्था यस्तो छ–

महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिकाको प्रमुखमा काँग्रेसका ध्रुवराज राया विजयी भएका छन् । एमालेका दीपक बुढाथोकीलाई पराजित गर्दै राया निर्वाचित भएका हुन् ।

रायाले ६ हजार ३२८ मत प्राप्त गर्दा एमालेका दीपक बुढाथोकीले ५ हजार १३९ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी मञ्जुकुमारी कार्की ५ हजार ३८४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका प्रेम खड्काले ४ हजार ९३४ मतमात्र पाए ।

०७४ मा एमालेले मेयर उपमेयरसहित १, ५, ६, ७, ८, ९ गरी ६ वडाध्यक्ष जितेको थियो । काँग्रेसले २ र ४ वडा जित्दा माओवादीले ३ नम्बरको वडाध्यक्ष जितको थियो । अहिले काँग्रेसले ३, ५, ६ र ७ मा वडाध्यक्ष जितेको छ भने एमालेले १, ४, ८ र ९ गरी ४ वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले २ नम्बर वडाको अध्यक्ष जितेको छ । काँग्रेसले गठबन्धन र सुनिल थापाको बलमा मेयरमात्र होइन, दुई वटा वडा एमालेबाट खोसेको छ ।

सुनिल थापा साथमा हुँदा गत निर्वाचनमा २ हजार १५६ मत ल्याएको राप्रपाको हलोमा यसपटक १४ मतमात्र परेको छ । बाँकी मत सुनिलसँगै काँग्रेसमा खनिएको देखिन्छ ।

पाख्रिबास नगरपालिका

पाख्रिबास नगरपालिकाको मेयरमा काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ ५ हजार ४९८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत मात्र ल्याए । ४४५ मतान्तरले गुरुङले राईलाई पराजित गरेका हुन् ।

उपप्रमुखमा भने एमालेकी नम्रता देउजाले ५ हजार ६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ओम प्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरेका छन् ।

पाँच दलीय गठबन्धनले मेयर जिते पनि उपमेयर भने एमालेले नै जितेको छ ।

०७४ मा एमालेले १ देखि १० सम्म सबै वडाध्यक्ष जितेको थियो । एमालेले ४ हजार ४४३ मतसहित मेयर जित्दा काँग्रेसले १ हजार ६२८, राप्रपाले १ हजार ५६५ र माओवादीका मेयरका उम्मेदवारले १ हजार ६ मत पाएका थिए ।

तीन दलको सबै जोडदा पनि गत निर्वाचनमा एमाले अगाडि थियो ।

यसपटक एमालेले १, ४, ७, ८, ९, १० गरी ६ वडाध्यक्ष जित्दा चार गुमाएको छ । एमालेबाट मेयरसहित काँग्रेसले २, ३, ५ र ६ गरी ४ वडाध्यक्ष खोस्न सफल भएको छ । काँग्रेसको सफलताले एमालेलाई मात्र होइन, राप्रपालाई पनि चोट पुगेको छ । गत निर्वाचनमा १ हजार ५६५ मत ल्याएको राप्रपा सुनिल थापा काँग्रेसमा लाग्दा यस पटक ५७ मतमा सीमित छ ।

साँगुरीगढी गाउँपालिका

साँगुरीगढी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका जितेन्द्र राईले अध्यक्षमा ५ हजार ३९९ मतसहित जित हासिल गरेका हुन् । एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत पाएका छन् । राईले ५७१ मतान्तरमा याखालाई पराजित गरेका हुन् ।

यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार मुना राई विजयी भएकी छन् । उनले ४ हजार ६५० मत प्राप्त गरिन् ।

निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार लिलाराज लावतीले ४ हजार १३६ मत प्राप्त गरे । ०७४ मा एमालेले अध्यक्ष र उपाध्यक्षसहित वडा नम्बर १, २, ३, ७, ८, ९ र १० गरी ७ वडाध्यक्ष जितेको थियो । काँग्रेस ५ र ६ मा विजयी हुँदा वडा नम्बर ४ तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा)ले जितेको थियो ।

अहिले एमालेले १, ४, ६, ८, ९ र १० गरी ६ वडा अध्यक्ष जितेको छ । बाँकी वडा नम्बर २, ३, ५ र ६ जित्दै काँग्रेसले एमालेबाट अध्यक्ष पनि खोसेको छ ।

काँग्रेसको यो सफलताका पछाडि पाँच दलीय गठबन्धन र सुनित थापासहित आएको राप्रपाको मत जोडिएको छ ।

छथर जोरपाटी गाउँपालिका

छथर जोरपाटी गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी भएको छ । काँग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् ।

सुब्बाले निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले चार हजार १६४ मत पाएका थिए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मतसहित निर्वाचित भएकी छन् । खेवासँग पराजित एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत पाएकी छन् ।

०७४ मा एमालेले जितेको छथरको अध्यक्ष र उपाध्यक्ष यसपटक काँग्रेसले जितेको छ । काँग्रेसले १, ५ र ६ मा वडाध्यक्ष पनि जितेको छ । माओवादीले वडा नम्बर २ जित्दा ३ र ४ मा एमाले विजयी भएको छ । यसअघि एमालेले १, ३, ४, ५ र ६ गरी ५ वडामा जितेको थियो । २ नम्बर वडामा भने माओवादी विजयी भएको थियो ।

माओवादीले आफ्नो वडा जोगाए पनि एमालेले भने १, ५ र ६ मा काँग्रेसलाई रोक्न सकेन । ०७४ मा काँग्रेसले अध्यक्षमा ४१६, राप्रपाले १ हजार ४५१ र माओवादीले १ हजार ५३१ मत पाएको थियो ।

सुनिल थापाको प्रवेशले राहत मिलेको काँग्रेसलाई पाँच दलीय गठबन्धन बनेपछि जित हात पर्न सजिलो भएको देखिन्छ । राप्रपा भने छथरमा १ हजार ४५१ बाट घटेर ७३ मतमा पुगेको छ ।

धनकुटा नगरपालिका

धनकुटा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । पाँच दलीय गठबन्धनलाई हराएर एमालेका चिन्तन तामाङ मेयरमा निर्वाचित भएका छन् ।

तामाङले ७ हजार ६६६ मत पाउँदा गठबन्धनबाट प्रमुखमा काँग्रेसका उम्मेदवार दिनेश राईले ७ हजार ६५२ मत प्राप्त गरे । चिन्तनले दिनेशलाई १४ मतान्तरले पराजित गरे ।

त्यस्तै उपमेयरमा पनि एमालेकै भीमादेवी खनालले जितेकी छन् । खनालले ७ हजार १९६ मत ल्याउँदा माओवादी केन्द्रका गणेश बहादुर विष्टले ६ हजार ६२९ मत पाए । एमालेले धनकुटामा मेयर र उपमेयर नै जोगाएको छ ।

एमालेले १ २, ४, ८ र ९ गरी ५ वडा जित्दा काँग्रेसले ३, ५, ६, ७ र १० गरी ५ वडाध्यक्ष जितेको छ । गत निर्वाचनमा एमालेले १, २, ४, ७ र १० गरी ६ वटा वडाध्यक्ष जितेको थियो । काँग्रेसले ५ र ६ जित्दा माओवादी ८ र ९ मा विजयी भएको थियो ।

तत्कालीन नयाँशक्ति (हालको जसपा)ले ३ नम्बर वडा जितेको थियो । यसपटक पनि एमालेले पाँच वटै वडाध्यक्ष जोगाएको छ भने माओवादी र जसपाबाट तीन वडाध्यक्ष खोसेको छ । यसअघि २८४ मत ल्याएको राप्रपा अहिले ३१ मतमा झरेको छ ।

चौबिसे गाउँपालिका

चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका राजकुमार लिम्बु विजयी भएका छन् । लिम्बुले माओवादी केन्द्रका दलबहादुर मगरलाई पराजित गरेका हुन् ।

लिम्बुले ५ हजार ३८ र मगरले ३ हजार ९९१ मत पाएका थिए । उपाध्यक्षमा पनि एमालेकै टंकमाया पाङमी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी मंगलकुमार लिम्बुले ३ हजार ९ सय ८८ मत प्राप्त गरे ।

काँग्रेसले १ र ७ वडा जित्दा एमालेले २, ३, ४, ५ र ८ गरी ५ वडाध्यक्ष हात पारेको छ । ६ नम्बर वडामा भने जसपा विजयी भएको छ । यसअघि एमालेले अध्यक्ष र उपाध्यक्ष सहित १, ३ ५ र ८ मा वडाध्यक्ष जितेको थियो । काँग्रेसले ४ र ७ नम्बरमा अध्यक्ष हात पारेको थियो । माओवादीले २ र जसपाले ६ नम्बरमा अध्यक्ष जितेका थिए । यस पटक एमालेले माओवादीबाट २ नम्बर वडा खोस्न सफल भएको छ ।

सहिदभूमि गाउँपालिका

सहिदभूमि गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका मनोज राई ४२१४ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले ४ हजार २७ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै रत्न ईश्वरी राई ४ हजार ६७२ मतसहित विजयी हुँदा काँग्रेसका तोर्णबहादुर खड्का ३ हजार ३७१ मतमा सीमित भए ।

काँग्रेसले १, ४ र ५ गरी ३ वडाध्यक्ष जितेको छ भने एमालेले २, ३, ६ र ७ गरी ४ वडाध्यक्ष जितेको छ । यसअघि काँग्रेसले १ मात्र वडाध्यक्ष जितेको थियो भने २, ३, ४, ५, ६ र ७ वडामा एमाले निर्वाचित भएको थियो । अध्यक्ष र उपाध्यक्ष जोगाए पनि एमालेले दुई वडा भने गुमाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप