बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तान अभूतपूर्व स्तरको भोकमरीमा : बाँच्नका लागि बालबच्चा, किशोरी छोरीहरु बेचिरहेछन् आमाबुवा

शनिबार, ०७ जेठ २०७९, १६ : ३५
शनिबार, ०७ जेठ २०७९

फरहानाजसँग(परिवर्तित नाम) अलजजिराकर्मीको भेट हुँदा उनले २४ घण्टादेखि भेट भरी खाएकी थिइनन् । ‘घरका ठूला मान्छे त जसोतसो सहौँला तर बच्चालाई के भनेर मनाउने भन्ने चिन्ता लागिरहन्छ,’ फरहानाजले भनिन् ।

तालिवानले सत्ता कब्जा गर्नुअघि २४ वर्षकी फरहानाज रेडियोमा कार्यक्रम चलाउँथिन् । तर, अहिले उनको सो रोजगारी गुमेको छ । आय स्रोत नै नभएपछि परिवारलाई खाना जुटाउन धौधौ भएको छ ।

अहिले परिवारमा हम्मेसी नटुट्ने खाना रोटी मात्र हो । तरकारी र फिक्का चिया कहिलेकाँही जुर्छ । चियामा दुध र दुध आजकल अफगानीहरुको लागि विलासिता बनेको छ ।

फरहानाजको परिवारमा मात्र होइन अहिले अफगानिस्तानको अधिकांश परिवारमा खानाको चरम अभाव छ । देशभर झण्डै २.३ करोड अफगानीहरू भोकमरीको खतरामा बाचिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका विदेश प्रतिनिधि डा. रामिज अलाकबारोभले बताए अनुसार अफगानिस्तान अहिले ‘अभूतपूर्व स्तरको भोकमरीको मुखमा’ छ । जुनसुकै बेला स्थिति भयावह हुने उनले चेतावनी दिएका छन् ।

‘अफगानिस्तानका झण्डै ९५ प्रतिशत जनताले भरपेट  खाना पाइरहेका छैनन् ।  जनसंख्याको यति ठूलो हिस्सा भोकमरीको जोखिममा रहेको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ तर सो देशका मानिसले अहिले यही तितो यथार्थ बाँचिरहेका छन्,’ मार्चको सुरुमा अलाकबारोभले विश्वजनलाई अफगानिस्तानको भयावह चित्र अवतग गराउन जारी एक विज्ञप्तीमा भनिएको छ ।

घरमुली महिला भएको परिवारमध्ये झण्डै–झण्डै शतप्रतिशत परिवार भोकमरीको जोखिममा रहेको अलाकबारोभको दाबी छ । उनको दाबी अनुरुप नै अहिले फर्हानाज र उनको परिवारले दैनिकी गुजारिरहेको छ ।

‘पहिले म रेडियो प्रस्तोता थिएँ । बचेको समयमा पढाउँथे पनि । मेरो दाइ अफगानी सेना थिए । हामी दुईजनाको कमाइले आठजनाको परिवार धानेको थियो । घरलाई केही सहयोग गरेर बचेको पैसाले विश्वविद्यालयको पठनपाठन पनि गरिरहेको थिएँ,’ फरहानाजले बताइन् ।

तालिबान सत्तामा आएपछि महिला भएका कारण उनको रेडियो प्रस्तोताको जागिर खोसियो । त्यस्तै आफूले लडेको तालिवान सत्तामा आउने पक्का भएपछि उनका दाइ तालिवानको कारवाहीको डरले विदेश पलायन भए । दाइको पलायनपछि सम्पूर्ण परिवार हेर्ने जिम्मेवारी फरहानाजको काँधमाथि आइपर्यो । उपयुक्त रोजगारी अभावमा परिवारले दुःख पाइरहेको छ ।

इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्टका अनुसार तालिबानको सत्ता फिर्तीपछि मिडिया क्षेत्रमा काम गरिरहेका ६० प्रतिशत महिलाले रोजगारी गुमाइसकेका छन् । बाँकीको पनि रोजगारीको कुनै सुरक्षा छैन । रोजगार गुमाउने महिला पत्रकारहरुमध्ये अधिकांश ( ९० प्रतिशत) तिनको घरको एक मात्र कमाइ गर्ने सदस्य थिए ।

बढ्दो खाद्य असुरक्षाले अफगानिस्तानमा विशेषतः बालबालिका माझ कुपोषण र भोकसम्बन्धी मृत्यु ह्वात्तै बढाएको छ । आयस्रोतमा उल्लेख्य ह्रास आएपछि अधिकांश आमाहरु गर्भावस्थाको स्वास्थ्य परिक्षण गर्न नसक्ने स्थितिमा पुगेका छन् । त्यसले मातृ मृत्यु र बाल मृत्युदर उल्लेख्य वृद्धि भइरहेको छ ।

अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले मार्चमा जारी गरेको तथ्यांकअनुसार सन् २०२२ को पहिलो तीन महिनाभित्रै १३ हजार ७०० नवजात शिशुको ज्यान गइसकेको छ भने २६ आमाले पनि बच्चा जन्माउने समयमा ज्यान गुमाए ।

देशमा देखिएको चरम खाद्य संकटबाट पाँच वर्षमुनिका हुर्कंदै गरेका बालबालिकाहरू सबैभन्दा बढी प्रभावित छन् । यो उमेर समूहका बालबालिकाको भित्री अंग तथा हड्डीको विकासका लागि पौष्टिक तत्व अत्यावश्यक हुन्छ । तर, उनीहरुले पाइरहेको (वा नपाएको) खानाले यो आवश्यकता पुरा गर्दैन ।

अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले पनि भोक संकटलाई सम्बोधन गर्ने गरी अफगानिस्तानलाई आर्थिक सहायता दिने प्रयास गरिरहेका छन् । तर, अन्तराष्ट्रिय प्रतिबन्धका कारण अफगानी बैंकमा रकम पठाउन सकिँदैन ।  

सत्तामा आइसकेपछि पनि अमेरिका र पश्चिमी मुलुकले तालिबानलाई प्रतिबन्धित समूहको सुचिमा राखिरहेको छ । प्रतिबन्धित समूहले शासन गरिहेकाले त्यहाँका बैंकहरूले कैयौं अवरोध सामना गरिरहेका छन् ।

मुद्रा अभावका कारण बैंकहरूले रकम निकासामा कडाई गरिरहेका छन् । यस अर्थमा पनि अफगानिस्तानले अहिले ब्यहोरिरहेको मानवीय संकट मुलतः आर्थिक समस्याको प्रतिफल भएको बताइन्छ ।

फरहानाजले पनि यसैतर्फ संकेत गर्दै भनिन्, ‘अहिले दशौं लाख अफगानी समस्यामा छन् । उनीहरूमा यति हताशा छाएको छ की बाँच्नको लागि तिनका बालबच्चा र किशोरी छोरी बेचिरहेका छन् ।’

‘पश्चिमी प्रतिबन्धको कारण अफगानिस्तानमा सिर्जना भएको तरलता संकटले गर्दा मुलुक विश्वकै सबैभन्दा खतरनाक मानवीय संकटको मुखमा पुगेको छ,’ नर्वेजियन रिफ्युजी काउन्सिलका महासचिव जन एगल्इाण्डले भने ।

उनको संगठनले अफगानिस्तानका भोकाहरुको लागि ४.४ अर्ब उठाउने अभियान चलाइरहेको छ । तर उठेको रकम अहिलेकै स्थितिमा अफगानिस्तान पठाउन सकिन स्थिति छैन ।

केहीले यतिको भयावह स्थितिप्रतिको पश्चिमी बेवास्ताप्रति प्रश्न उठाइरहेका छन् । पश्चिमी शक्तिको प्रतिबन्धले तालिवानीभन्दा बढि अफगानी प्रभावित भएकाले तिनले फरक मार्ग सोच्नुपर्ने मानव अधिकारकर्मीहरु बताइरहेका छन् ।

तर पश्चिम तिनको देशमा रहेको अफगानी सम्पति समेत फ्रिज गरेर बसेको छ । सम्भवतः अफगानिस्तानमा चरम अभाव सिर्जना भए अफगानीहरु तालिवानविरुद्ध उठ्नेछन् भन्ने आशा पश्चिमको छ ।

फरहानाजलाई कुनै दिन तालिबानले महिलाहरूलाई पनि काम गर्ने छुट दिने आशा छ ।

‘तालिवानले महिलालाई काम गर्न र पठनपाठनमा छुट दिनेछन् भन्ने आशा अझै छ । विश्वले पनि हामीलाई पिठ्युँ नदेखाओस् । आखिर अहिलेको यो संकटको लागि उनीहरु पनि जिम्मेवार छन् । त्यसैले उनीहरुले हामीलाई यो संकटमा बेवास्ता नगर्न आग्रह गर्दछु ,’ फरहानाजले भनिन् ।

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप