मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दहीका छन् अनेक फाइदा तर कसले खानु हुँदैन ?

आइतबार, ०८ जेठ २०७९, १२ : ४७
आइतबार, ०८ जेठ २०७९

गाई, भैंसीे, बाख्रा, ऊँट, याक र केही वनस्पतिको दूधबाट दही तयार गर्न सकिन्छ । वनस्पतिजन्य दूधमा भटमास, धान, नट्स, बदाम तथा नरिवल आदिबाट दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दूधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूको लागि र भेगान वर्गको लागि लाभदायक हुन्छ ।

दही प्रशोधित दुग्ध पदार्थ हो, जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिन पाइन्छ । यसको सेवनले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्टेरोल कम हुने, पाचन राम्रो हुने, प्रतिरोध क्षमता बढ्ने जस्ता फाइदा हुन्छ ।

दहीलाई प्रोबायोटिक्स् पनि भनिन्छ,  जसले पेटको स्वास्थ्यलाई असाध्यै राम्रो गर्छ । छोटकरीमा भन्दा प्रोबायोटिक्स् भन्नाले शरीरलाई फाइदा गर्ने जीवित व्याक्टेरिया हुन् भने प्रिबायोटिक्स् भन्नाले यस्ता लाभदायक व्याक्टेरिया राम्रोसँग हुर्किन र वृद्धि विकास हुन सहयोग गर्ने खाद्यपदार्थ हुन् । यी दुवै शरीरको लागि आवश्यक छन् ।

प्रोबायोटिक्स् दहीलगायत अन्य विभिन्न खाद्यपदार्थमा पाइने व्याक्टेरिया हुन्, जसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछन् । तर प्रिबायोटिक्स् त्यस्ता पदार्थ हुन्, जुन फाईबरयुक्त कार्बोहाइड्रेटबाट बढी मात्रामा पाउन सकिन्छ । यस्ता फाईबरजन्य पदार्थ शरीरले पचाउन सक्दैन तर यी फाईबरमा फाइदाजनक किटाणु रमाउने, हुर्किने र खाना प्राप्त गर्ने गर्दछन् । आन्द्रामा पाइने यस्ता दुवै व्याक्टेरियालाई लाभदायक व्याक्टेरियाको समूह पनि भनिन्छ, जसले हाम्रो शरीरमा धेरै राम्रो काम गर्छन् । त्यसकारण प्रोबायोटिक्स् र प्रिबायोटिक्स्लाई सन्तुलित तवरले मिलाएर खाएमा यस्ता फाइदाजनक व्याक्टेरियाको राम्रो वृद्धि विकास हुन्छ ।

फाइदाजनक व्याक्टेरियाले (प्रोबायोटिक्स्) हाम्रो शरीरमा रोग विरुद्ध लड्ने क्षमता बढाउने, डिप्रेसन हटाउने, मोटोपन घटाउन सहयोग गर्ने, ल्याक्टोज नपचाउने व्यक्तिमा देखापर्ने लक्षण हटाउने, रोग प्रतिरोध क्षमता बढाउने, एन्टिबायोटिक सेवन गर्दा हुने झाडापखालाको रोकथाम गर्ने, पेटको गम्भीर समस्या (आईबिडि) को रोकथाम गर्ने, कोलेस्टेरोल नियन्त्रणमा राख्ने, भिटामिन ‘के’ र आवश्यक तत्व बनाउने जस्ता काम गर्दछन् । यस्ता तत्व (फ्याटी एसिड) ले ठूलो आन्द्राको भित्री तहलाई सुरक्षा गर्ने र बलियो बनाई हानिकारक पदार्थ, भाईरस र अन्य हानिकारक व्याक्टेरियाको असरबाट बचाउँछन् । साथै ईन्फ्लामेसन घटाउने र क्यान्सरको जोखिम पनि घटाउने काम गर्दछन् । प्रिबायोटिक्स् ओट्स, केरा, बेरी, लसुन, प्याज, फलफुल, तरकारी तथा गेडागुडीमा प्रशस्त पाईन्छ भने प्रोबायोटिक्स् दही र प्रशोधित खाना (किम्ची, केफिर, केही अचार) मा पनि पाईन्छ । त्यसकारण पेटका अधिकांश समस्यामा प्रोबायोटिक्स् प्राप्त गर्नका लागि दही खानु राम्रो हुन्छ ।

दही खानुका फाईदाहरू

सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दहीको सेवन गर्दा हुने फाइदा यसप्रकार छः

१. दहीमा प्रोटिन उच्च मात्रामा पाइने हुँदा यसको सेवनले ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्तमा तौल समेत कम बनाउँछ ।

२. डिप्रेसन र चिन्ता घटाउँछ । किनकि दहीमा हुने प्रोबायोटिक्स्मा हुने किटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।

३. रगतमा हुने खराब कोलेस्टेरोल घटाउँछ ।

४. विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।

५. सङ्क्रमण कम गराई रोगविरुद्ध लड्ने क्षमता बढाउँछ ।

६. डण्डीफोर, एक्जिमालगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।

७. कोषहरूको विभाजन, कार्य र क्षमतामा बृद्धि ल्याई बूढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्वले हाड कमजोर हुने वा मक्किने रोग (ओस्टोपोरोसिस्) लाई पनि निको बनाउँछ ।

८. पाचन राम्रो बनाउने र स्नायु सम्बन्धि विकृति कम गर्न सहयोग गर्छ ।

९.दहीमा हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वले (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) भरिपूर्ण हुने भएकोले यसको सेवनले रोगविरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रुपमा राख्न सहयोग गर्छ ।

१०. दहीको सेवन गर्दा यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ, जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।

कस्तो बेला दही प्रयोग नगर्ने ?

दही खाँदा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्याँस चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन सक्छ । पछि पछि यी समस्या घट्दै जान्छ । यदि दही खाँदा अन्य समस्या देखापरे दहीको प्रतिअसर पनि हुन सक्छ । उदाहरणका लागि दूधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनैपनि दुग्ध पदार्थ र दहीको समेत सेवन गर्नु हुँदैन । यो बाहेक निम्न अवस्थामा दही सेवन गर्नु हानिकारक हुन्छः

ल्याक्टोज पचाउन नसक्ने अवस्था 

कसै कसैको शरीरमा ल्याक्टेज तत्वको अभाव भएको अवस्थामा दूधमा भएको ल्याक्टोज सुगर पच्दैन, जसले गर्दा पेटका विभिन्न समस्या देखिन्छ । यदि त्यस्ता व्यक्तिमा ल्याक्टेज इन्जाइमको अभाव छ भने दही वा कुनैपनि दूग्ध पदार्थको सेवन गर्दा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।ल्याक्टोज पचाउन नसक्नेलेदही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

दूधको एलर्जी 

दुग्ध पदार्थमा पाइने केसिन र ह्वे जस्ता प्रोटिनको कसै कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीं मृत्युजन्य अवस्था (एनाफाइलेटिक सक) आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

चिनी राखेको दही 

दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकोले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।

विरुद्ध आहार 

चिया, कफी, दूध, पनिर, खीर, काँक्रा, खरबुजा, मेवा आदि दहीसँग विरुद्ध आहार हुने भएकोले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।

स्वस्थकर दहीको छनौट

स्वस्थ्यका लागि सकभर सादा, कम गुलियो, कम चिल्लो भएको र कुनै चिनी वा अन्य गुलियो थप नगरेको दही राम्रो हुन्छ । बढी चिल्लो दहीमा बढी नै क्यालोरी पाइने भएकोले त्यस्तो दही थोरै मात्रामा लिनुपर्छ । सकेसम्म प्रोबायोटिक्स् गुण भएको अर्थात् प्रशोधन गर्दा पाश्चराईज गरेको दही छनौट गर्नु उपयुक्त हुन्छ । बजारमा किन्दा प्याकिङ गरिएको छ भने त्यसको लेवल राम्रोसँग हेरेर त्यसमा मिसाइएका तत्वहरूको (सुगर, कृत्रिम स्वाद वा गन्ध, बिग्रन नदिन मिसाइएका अन्य रसायन, पौष्टिक तत्वको मात्रा आदि) पूर्ण जानकारी लिएर मात्र खरीद गर्नुपर्छ ।

अन्तमा,

विभिन्न गुणले भरिपूर्ण दहीको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । गर्मी मौसममा त दही वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । दहीमा पाइने प्रोबायोटिक्स्को गुणले पाचनप्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोग समाधान हुन्छ ।

दही खाँदा समय भने मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, छाछ, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठिक हुन्छ तर बेलुकी दही कहिल्यै खानुहुँदैन । राती खाएको दहीले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ ।

अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु र समयको बारेमा जानकार नहुनु हो । दही आफ्ना लागि खाँदा बिहान, अरुका लागि खाँदा दिउँसो र शत्रुका लागि खाँदा राती खानुपर्छ भन्ने भनाई पनि छ । जे होस्, दही सेवन गर्नु स्वास्थ्यका लागि धेरै राम्रो हुने भएतापनि कहिलेकाहीं यसका असर पनि देखिन्छ । आफ्नो स्वास्थ्यको ख्याल गरेर दही खानु उत्तम नै हुन्छ ।

लेखक जीवनशैली परिवर्तन सम्बन्धमा विद्यावारिधि तहका शोधार्थी तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे

[email protected]

लेखकबाट थप