शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिलो कार्यकालका पुरस्कृत जो दोस्रो कार्यकालका लागि भए अस्वीकृत

सोमबार, ०९ जेठ २०७९, १२ : ०६
सोमबार, ०९ जेठ २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधिसमेत थिए । तर मतदाताले निवर्तमान जनप्रतिनिधिभन्दा नयाँ उम्मेदवारलाई बढी रुचाएको देखिन्छ ।

दोस्रो पटक टिकट लिएर उम्मेदवार भएका अधिकांशले पराजय भोग्नु परेको छ । विगतका पाँच वर्षमा उत्कृष्ट काम गरेको ठहरिएका जनप्रतिनिधिलाई पनि जनताले दोहो¥याउन नचाहेको पाइएको छ । उत्कृष्ट काम गरेको भन्दै देशभर चर्चा बटुल्न सफल स्याङ्जाको वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलिप खाणको पराजय त्यसको ज्वलन्त उदाहरण हो ।

खाण नेतृत्वमा आएदेखि नै वालिङ नगरपालिका चर्चामा आइरह्यो । ०७४ जेठमा वालिङ नगरपालिकाको नेतृत्व सम्हालेका खाणले २०७४ कै अन्तिमतिर संघीय तथा स्थानीय विकास मन्त्रालयबाट देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरको पुरस्कार वालिङलाई दिलाए । यस्तै २०७७ चैत नेपाल नगरपालिका संघको २८ औं साधारणसभामा वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भयो ।

सहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो । उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दा वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

यस्तै ०७८ फागुनमा भएको नेपाल नगरपालिका संघको २९ औं साधारणसभाबाट पनि वालिङ विकासतर्फ उत्कृष्ट काम गर्ने सात नगरपालिकाभित्र परेर पुरस्कृत भएको थियो ।  यी र यस्तै कुरा हेरेर काँग्रेसले बिना संकोच खाणलाई दोस्रो पटक टिकट दियो । काँग्रेस उम्मेदवार खाणलाई माओवादी केन्द्रले पनि अन्तिम समयमा समर्थन गरेको थियो । तर उनी एमालेका उम्मेदवार कृष्ण खाणसँग पराजित भए । एमाले उम्मेदवार कृष्णले १३ हजार ७७६ मत ल्याउँदा दिलिप ११ हजार ५९३ मतमा रोकिए ।

०७४ मा १० हजार ६ सय मतसहित उनी विजयी भएका थिए । उनीसँग एमाले उम्मेदवार पूण्यप्रसाद अर्याल ८ हजार ७४९ मत ल्याएर पराजित भएका थिए । माओवादीको समर्थन र पाँच वर्षमा गरेको उत्कृष्ट काम हुँदा पनि खाण जनताबाट अस्वीकृत भए ।

यसैगरी स्याङ्जाकै पुतलीबजार नगरपालिकाले पनि उत्कष्ट काम गरे बापत पुरस्कार पाएको थियो । ०७४ को निर्वाचनबाट एमालेका उम्मेदवार सिमा कुमारी क्षेत्री निर्वाचित भएपछि संस्थागत विकासतर्फ पुतलीबजार उत्कृष्ट काम गरेबापत पुरस्कृत भएको थियो । ०७८ फागुन २९ मा भएको नेपाल नगरपालिका संघको २९ औं साधारणसभामा उनलाई सम्मान गरिएको थियो । तर एमाले यसपटक पुतलीबजारमा पराजित भयो ।

काँग्रेसका तुलसीराम रेग्मी १२ हजार ४ सय ९४ मतका साथ विजयी भएका छन् । एमाले उम्मेदवार सिमा कुमारी क्षेत्रीले १० हजार ९० मतमात्र पाएकी छन् । एमाले मेयरले उत्कृष्ट पुरस्कार पाए पनि जनताको रोजाइ यसपटक काँग्रेस हुन पुग्यो ।

वड किन हारे ?

०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वड निर्वाचित भएपछि देशभरका ११ वटा उपमहानगरपालिकामध्ये कार्यसम्पादन र कार्यान्वयनमा धनगढी उत्कृष्ट कहलियो । २०७५ सालमा २१७ नगरपालिकामध्ये कार्यसम्पादन र कार्यान्वयनमा उत्कृष्ट धनगढी उपमहानगरपालिका सर्वोत्कृष्ट घोषित भएको थियो । नगर विकास कोषबाट सञ्चालित योजना सम्पादनमा धनगढी पहिलो भएको थियो । नगरविकास कोषको ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर वडलाई सम्मान गरिएको थियो ।

तर स्वतन्त्र उम्मेदवार गोपाल हमालका अगाडि यसपटक सत्तारुढ गठबन्धन र निवर्तमान प्रमुख वडको उत्कृष्ट काम फिका भइदियो । काँग्रेस एक्लै लड्दा गत निर्वाचनमा १४ हजार ३२४ मतसहित वड निर्वाचित भएका थिए । अहिले मेयरमा निर्वाचित हमाललाई त्यतिबेला वडले २ हजार ७९७ मतान्तरले पराजित गरेका थिए । हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए ।

यसपटक हमालले विगतको भन्दा दोब्बर बढी मत ल्याएका छन् । हमालले २६ हजार ८५६ मत ल्याउँदा वडले १४ हजार ८१७ मतमात्र पाए । १२ हजार ३९ मतान्तरले वडसँग हमालले यसपटक बदला लिएका छन् । काँग्रेसले मेयरमात्र होइन, उपमेयर समेत गुमाएको छ ।

धनगढीमा काँग्रेसका लागि गठबन्धन अभिसाप भएको काँग्रेस नेताहरुको भनाइ छ । पार्टीभित्रको अन्तरघात र गठबन्धनका दलको मत हमालतिर ओइरिएपछि नराम्रो हार भोग्नु परेको काँग्रेस नेताहरुको बुझाइ छ । राप्रपा र विवेकशील साझाको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हमालले कमाल गर्नुका पछाडि उम्मेदवार छनोटमा पनि केही समस्या देखिएको नेताहरु बताउँछन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढीमा वडलाई निर्विकल्प ठान्नु पनि घातक भएको छ । कैलाली–५ लाई निर्वाचन क्षेत्र बनाएकी राणालाई वडको पराजयले ठूलो धक्का लागेको छ ।

हरिवनवासीको रोजाइ माओवादी

एमाले नेतृत्वको स्थानीय तहमध्ये सर्लाहीको हरिवन नगरपालिका पनि स्थानीय आर्थिक विकासमा उत्कृष्ट घोषित भएको थियो । नेपाल नगरपालिका संघको २९ औं साधारणसभामा हरिवनलाई उत्कृष्ट नगरपालिकाका रुपमा पुरस्कृत गरिएको थियो ।

०७४ मा एमालेका गणेश प्रसाद प्रसाईंले ६ हजार ८१ मत ल्याउँदा माओवादी केन्द्रका रमेश बुढाथोकीले ५ हजार १८४ मत पाएका थिए । यसपटक प्रसाईलाई बुढाथोकीले १५३ मतान्तरले पराजित गरिदिएका छन् ।

बुढाथोकीले ७ हजार २ मत ल्याउँदा उत्कृष्ट नगर प्रमुख घोषित भएका प्रसाईं ६ हजार ८४९ मतमा सीमित भए । स्थानीय आर्थिक विकासमा उत्कृष्ट कहलिएका प्रसाईँ जनताबाट अस्वीकृत भए ।

एमाले पुरस्कृत, काँग्रेस निर्वाचित

इलाम नगरपालिका वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा पुरस्कृत भएको थियो । नेपाल नगरपालिका संघको २९ औं साधारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवाबाट इलाम नगरपालिकाका मेयर महेश बस्नेतले पुरस्कार लिएका थिए । ०७४मा निर्वाचित बस्नेतलाई यस पटक एमालेले टिकट नै दिएन । एमालेले धिरेन कुमार चेम्जोङलाई चुनावी मैदानमा उतारेको थियो । काँग्रेसका केदार थापासँग चेम्जोङ पराजित भए । थापाले १३ हजार १६५ मत ल्याउँदा चेम्जोङले १० हजार ५८७ मतमात्र पाए । ०७४ को निर्वाचनपछि एमाले नेतृत्वमा भएको उत्कृष्ट कामभन्दा इलाम नगरवासीले काँग्रेसलाई छाने । एमाले उम्मेदवार २ हजार ५८७ मतले पराजित भए । पाँच दलीय गबन्धन र एमाले विभाजनका अगाडि एमालेको उत्कृष्ट कामले जित दिलाउन सकेन ।

चितवनको राप्ती नगरपालिका पनि सामाजिक विकासका काममा उत्कृष्ट घोषित भएको थियो । ०७४ मा एमालेबाट निर्वाचित प्रभा बराल नेतृत्वको राप्ती नगरपालिकाले विकास निर्माणमा पनि राम्रै काम गरेको थियो । तर एमालेले प्रभाको विकल्पमा गोविन्द प्रसाद कँडेललाई अगाडि बढायो ।

कँडेल र एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार शमशेर लामाबीच प्रतिस्पर्धा भएको थियो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लामाले एमाले उम्मेदवार कडेललाई पराजित गरे । लामाले १२ हजार ५२४ मत ल्याउँदा कडेलले १२ हजार ५१ मतमात्र पाए ।

स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले ०८७ मा गरेको  स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कैलालीको कैलारी गाउँपालिका पनि उत्कृष्टमा परेको थियो । माओवादीका लाजुराम चौधरी नेतृत्वको कैलारी गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा (७६.४९) प्रतिशत सफल देखिएको थियो । तर वैशाख ३० मा सम्पन्न निर्वाचनमा उनी जनताबाट पुनः अनुमोदित हुन सकेनन् । ०७४ मा लाजुरामसँग पराजित काँग्रेसका राजसमझ चौधरी कैलारीको अध्यक्षमा निर्वाचित भएका छन् ।

गठबन्धनको निर्णयलाई चुनौती दिएका रामसमझलाई जनताले पाँच वर्ष नेतृत्व सुम्पिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका पनि कार्यसम्मपादनमा उत्कृष्ट कहलिएको थियो । उसले (७६.३८) प्रतिशत कार्यसम्पादन भएको थियो । आयोगका अनुसार एमालेका सुरेन्द्र विष्ट नेतृत्वका टीमले उत्कृष्ट कार्यसम्मादन गरेको थियो । तर मेयरमा भने काँग्रेसका पदम बोगटी निर्वाचित भएका छन् । यद्यपि एमालेले विष्टको विकल्पमा महेश प्रसाद पन्तलाई खडा गरेको थियो । उनी बोगटीसँग झण्डै दोब्बर मतान्तरले पराजित भएका छन् ।

उत्कृष्ट काम गर्नेहरु जो दोहोरिए

०८७ मा स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोग गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका सर्वोत्कृष्ट भएको थियो । उक्त पालिकाले ७८‍.६९ अंक प्राप्त गरी पहिलो भएको थियो ।

 

अजयमेरु गाउँपालिकासहित उत्कृष्ठ अंक ल्याउने स्थानीय तहहरूमा मुस्ताङको घेकर दामोरकुण्ड गाउँपालिका (७७.११) र गुल्मीको धुर्कोट गाउँपालिका (७६.५४) थिए । उत्कृष्ट काम भएको अजयमेरु र धुर्कोट गाउँपालिकामा माओवादी दोहोरिएको छ भने दामोरकुण्डमा एमालेको काम पनि अनुमोदित भएको छ ।

यस्तै नेपाल नगरपालिका संघको २९ औं साधारणसभाबाट शहरी योजना तथा विपद् व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका पुरस्कृत भएको थियो । त्यहाँ काँग्रेसका भीमप्रसाद ढुंगानाले नेतृत्व गरेका थिए । अहिले पनि नीलकण्ठबासीले ढुंगानाको नेतृत्व स्वीकार गरेको अवस्था छ । एमाले उम्मेदवार गंगादेवी श्रेष्ठलाई ५ हजार ५११ मतले हराएर उनी पुनः मेयर बनेका छन् । ढुंगानाले १४ हजार ५७५ मत ल्याउँदा श्रेष्ठले ९ हजार ६४ मत पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप