शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वप्निल शर्माको ‘स्वर’ रहेको अपरिभाषितले १० लाख भ्यू पाउँदा प्रशंसक भन्छन्, ‘साह्रै दुःख लाग्छ’

सोमबार, ०९ जेठ २०७९, १४ : १४
सोमबार, ०९ जेठ २०७९

स्वप्निल शर्मा, रोहित शाक्य र गौतम तन्डुकारको प्रोजेक्ट ‘स्वर’ को पहिलो गीत अपरिभाषितले आइतबार बेलुका १ मिलियन (१० लाख) भ्यू पाउन सफल भएको छ ।

तर गीत रिलिज भएको एक महिना पछि मात्रै यसले १० लाख भ्यू पाएकोमा धेरै प्रशंसकहरु दुःखी छन् । सन्तोष शिवाहाङ्ग नामका एकजना प्रशंसकले लेखेका छन्, ‘साह्रै दुःख लाग्छ, यस्तो गीतलाई मिलियन भ्यूज पाउन गाह्रो अनि दुर्गेश थापाको गीत चै क्षण भरमै ।’

यस्तै रिसोभ नामका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘राम्रो गीतहरु एक महिना लाग्छ १ मिलियन कट्न तर तोरी गीतहरु ५–६ दिनमै २–३ मिलियन कट्छ नेपालमा ।’

यस्तै धेरैले यो गीतले जति भ्यू पाउनुपर्ने हो, त्यो नपाएको पनि बताइरहेका छन् । भासन सशंकर नामका एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘यो गीतले सबैभन्दा धेरै भ्यू पाउनुपर्ने हो किनभने यो मास्टरपिस हो ।’

यस्तै गीतले १ मिलियन भ्यू पाउँदा स्वप्निलले आफू निकै खुसी भएको बताएका छन् । उनले सुनिल शाक्यसँगको लाइभमा कुरा गर्दै भने, ‘यो २० वर्षमा पहिलो १ मिलियन भ्यू हो । यसको अर्को दुःखको पाटो पनि त छ नि ।  हुन त म नम्बरलाई कहिले पनि प्रायोरिटी दिन्नँ । जीवनको पहिलो १ मिलियन । यो मिहिनेत पहिला पनि त गरेको थिएँ नि । ’

उनले स्याडोज नेपालमार्फत् बनाउने  गीत सङ्गीत पछिल्लो समय सेलाउँदै गएको थाहा पाएको पनि बताए । उनले भने, ‘मैले स्याडोज नेपालका केटाहरुलाई पनि फोन गरेर ‘हेर अब काम गरौँ’ भनेँ । त्यताबाट (विदेशबाटै) हुन्छ वा यता फर्केर हुन्छ, काम चाहिँ गरौँ भनिरहेको छु ।’

स्वर प्रोजेक्ट अन्तर्गतको यो गीतका लेखक, कम्पोजर स्वप्निल शर्मा हुन् भने सङ्गीत रोहित शाक्यको हो । यस्तै ड्रम्समा गौतम तन्डुकार रहेका छन् । बेस गितारमा सुरम्य स्थापित छन् ।

गीतको म्युजिक भिडियो फज फ्याक्ट्री प्रडक्सनले निर्माण गरेको हो र यसका निर्देशक रोहित शाक्य हुन् । भिडियोमा स्वप्निल, रोहित, गौतमलगायत त्रिशाला गुरुङलाई पनि देख्न सकिन्छ ।

साङ्गीतिक क्षेत्रका तीन धरोहर मिलेर स्थापित गरेको स्वर प्रोजेक्टको ‘अपरिभाषित’ बोलको गीत दर्शकका लागि पहिलो कोसेली हो । यो प्रोजेक्टबाहेक स्वप्निल द स्याडोज नेपाल ब्यान्डका फ्रन्टम्यान हुन् भने रोहित शाक्य जिन्दाबादका फ्रन्टम्यान तथा गितारिस्ट हुन् । यस्तै, गौतम तन्डुकार मङ्की टेम्पल नामको ब्यान्डका ड्रमर हुन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप