शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा शून्य भएको राप्रपा नेपालको संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य !

सोमबार, ०९ जेठ २०७९, २२ : ००
सोमबार, ०९ जेठ २०७९

कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको छ । स्थानीय निर्वाचनमा सहभागी भएपनि शून्य नतिजा ल्याएको राप्रपा नेपालले संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको हो ।

‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालीन उद्देश्य हुनेछ’, अध्यक्ष कमल थापाले सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा भनिएको छ । राप्रपाले स्थानीय तह निर्वाचनमा उपस्थितिमात्रै जनाएको र यसलाई कुनै जितहारको रुपमा नलिएको थापाको भनाइ छ।  यस्तै एमालेसँग चुनावी तालमेल भएपनि अपेक्षाकृत रुपमा गठबन्धन हुन नसकेको उनको निष्कर्ष छ । 

प्रमुख दलहरूमाथि वितृष्णा बढ्दै गएको जिकिरसहित थापाले अहिलेको सन्दर्भमा पार्टीले लिने भावी कार्यनीति, रणनीति र कार्यदिशाबारे पनि प्रकाश पारेका छन् । ​

 


जुन यसप्रकार छन्
–नेपालको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको निम्ति बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारुपमा राप्रपालाई स्थापित गर्नु हाम्रो मुख्य अभिभारा हो । राष्ट्रियता, प्रजातन्त्र र हिन्दुराष्ट्रको मुख्य मान्यतामा आधारित सम्बद्र्धनवादको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु राप्रपा नेपालको लक्ष्य हो । सम्वद्र्धनवाद, सुशासन र समृद्धि राप्रपा नेपालको प्रमुख नाराहरू हुन् ।
– राप्रपा नेपालले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहलाई आदर्श पुरुषकारुपमा सम्मान गर्दछ तथा राष्ट्रनिर्माताको ‘दिव्य उपदेश’लाई मार्गदर्शक सिद्धान्तकोरुपमा ग्रहण गर्दछ ।
– हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली लगायतका मान्यताहरु प्रति दृढ रहँदै नेपालको संविधान २०७२ सँग सहकार्य गर्दै जनताको अभिमतबाट आफ्ना मान्यताहरु स्थापित गर्ने राप्रपाको नीति रहने छ ।
– आमजनताको जीवनस्तरमा सुधार नभएसम्म तथा देशले आर्थिक समृद्धि हासिल नगरेसम्म कुनै पनि राजनीतिक परिवर्तन दिगो हुन नसक्ने यथार्थलाई आत्मसात गर्दै राप्रपा नेपालले आगामि दिनमा आर्थिक क्रान्ति एवं सबल र समृद्ध नेपाल निर्माणको कार्यलाई उच्च प्राथमिकता प्रदान गर्नेछ । नेपालको आर्थिक बिकासको निम्ति राप्रपा नेपालको  ‘भिजन’ को रुपमा २० वर्षे ‘दीर्घकालिन राष्ट्रिय बिकास कार्ययोजना’ तयार गरी जनसमक्ष प्रस्तुत गर्नेछ ।

– हिन्दुराष्ट्र पुनःस्थापना राप्रपा नेपालको मुख्य एजेण्डा हो । निकट भविष्यमा नै हिन्दुराष्ट्र पुनःस्थापनाको निम्ति पार्टीले देशव्यापी सशक्त अभियान संचालन गर्नेछ । सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा वर्तमान संविधानमा संशिधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्ने हाम्रो प्रयास हुनेछ । त्यस्तो सहमति जुटन नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरुप ‘धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप