शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजन सिलिन्डर विस्फोट घटनाको छानविन प्रतिवेदन पेश

सोमबार, ०९ जेठ २०७९, २१ : १५
सोमबार, ०९ जेठ २०७९

पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा २ जनाको मृत्यू हुने गरेर भएको सिलिन्डर विष्फोटको प्रतिवेदन पेस भएको छ । गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटना छानविन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेस गरेको हो ।

सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले यस्तो दुःखद घटना फेरि दोहोरिन नदिन सबै पक्ष सजग र सचेत रहनुपर्ने बताए । छानविन समितिले बिष्फोट भएको सिलिण्डर कम्तिमा १० वर्ष पुरानो भएको, तोकिएको वर्किङ्ग प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको, आवश्यक परीक्षण नगरी कम चाप बहन क्षमताको पुरानो र कमजोर सिलिण्डरमा बढी प्रेसर ग्यास भर्दा, कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालिम नभएको, उद्योग व्यवस्थापकको असावधानी, यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमित अनुगमन नहुनुजस्ता कारणले दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

यसैगरी समितिले आगामी दिनमा ग्यास उद्योगहरुमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रुपमा आफ्ना सिलिण्डरहरु मात्र रिफिलिङ्ग गर्ने, सिलिण्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिण्डरहरु यथाशीघ्र डिस्पोज गर्ने, सरकारले तत्काल गुणस्तर मापदण्ड बनाई लागू गर्नुपर्ने, योग्यता पुगेका वा तालिमप्राप्त अपरेटरबाट मात्र प्लान्ट सञ्चालनको व्यवस्था गर्ने, हाल कार्यरत श्रमिकहरुको सीप परीक्षणका लागि सीटीईभीटीलाई अनुरोध गर्नेलगायतका सुझावहरु दिएको छ ।

यसैगरी सिलिण्डर बिष्फोट भएको सगरमाथा अक्सिजन नेपाल प्रालिलाई पुनः सञ्चालन गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ बमोजिम अनुमति लिएर सबै चेकजाँच तथा आवश्यक मर्मतपछि मात्रै पुनः सञ्चालन गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ । विस्फोट भएकै दिन मन्त्रीको निर्देशानुसार मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिमा गृहमन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका वरिष्ठ निरिक्षक सन्तोष शर्मा, नेपाल गुणस्तर तथा नापतौल विभागका मेकेनिकल इञ्जिनियर रमेश सुतिहार, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धर र मन्त्रालयका उपसचिव भीमबहादुर कुँवर सदस्य—सचिव रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप