बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

मङ्गलबार, १० जेठ २०७९, ०८ : ४३
मङ्गलबार, १० जेठ २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । 

नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । 

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन् । काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् । 

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन् । यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन् । 

दुई महिला वडाध्यक्षमा निर्वाचित

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न पालिकाका उम्मेदवारी दिएका छ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरे भने चार जना भने पराजित भए ।

भानु –१ को वडाध्यक्षमा काँग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी हुन् । उनले ६७२ मत प्राप्त गरी विजयी भइन् । आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएकी छन् । 

बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर –५ मा रीता तिवारी काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि विजयी हुन सकिनन् । म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि उनी पराजित भइन् । शुक्लागण्डकी–८ को वडाध्यक्षमा काँग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि उनी पनि पराजित भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप