शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा बुद्धजयन्ती सम्पन्न, नेपाल भ्रमण गर्न मन्त्री पौडेलको आग्रह (तस्बिरहरु)

मङ्गलबार, १० जेठ २०७९, १० : २०
मङ्गलबार, १० जेठ २०७९

लण्डनको मुख्य पर्यटकीय आकर्षक केन्द्र मानिने  ट्राफल्गर स्क्वायरको प्रांगण  आइतबार नेपालको झण्डा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न किसिमका ध्वजा तथा पताकाले सजिसजाउ बन्यो । विश्वभरका पर्यटकको जमघट रहेको उक्त स्थानमा २५६६ औं जन्मजयन्तीको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । मौलिक नेपाली पहिरनमा सजिएका नेपालीहरुको चहलपहल, नेपाली गीतसंगीत, साँस्कृतिक कार्यक्रमको गुन्जायमानले सो स्थानमा पुग्दा नेपालकै कुनै स्थानमा रहेको भान हुन्थ्यो ।

बुद्ध नेपालमा जन्मिएको र बुद्धको सन्देश प्रचारप्रसार गर्दै  नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रम सोहि स्थानमा सन् २०१६ देखि आयोजना हुँदै आएको हो । बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा हुँदै आएको उक्त कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्ष भने स्थगित भएको थियो । पाचौँ संस्करणको बुद्धजयन्ती कार्यक्रममा सहभागी हुन् बेलायतका टाढा टाढाबाट मानिसहरु आएका थिए ।

कार्यक्रममा जापान, थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकका बेलायतस्थित राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुले  उपस्थिति रहेको थियो । यसैगरी गैरआवासीय नेपाली संघ यूके अध्यक्ष लगायत  बेलायती राजनीतिमा सक्रिय नेपाली मूलका मेयर तथा काउन्सिलरहरुको पनि सहभागिता रहेको थियो ।

बुद्धजयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै मन्त्री पौडेलले  विश्वभरका राजनेताहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे । नेपाललाई विश्वसामु चिनाउने माध्यमको रुपमा  सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथ रहेको बताउँदै नेपाल विभिन्न संस्कार, संस्कृति, भाषा र सभ्यता भएको मुलुक रहेको प्रष्ट्याएका थिए । बुद्धको  उपदेश र मार्गदर्शनलाई स्वीकार्दै  अगाडि बढ्न सके सबैको  कल्याण हुने मन्त्रि पौडेलले बताए ।

‘नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको शन्देशले बुद्धको जन्मस्थल सम्बन्धि  भ्रम समाप्त भएको र बुद्धको जन्मभूमि नेपाल रहेको स्पष्ट भएको छ, पौडेलले भने ।‘

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कार्यक्रमका आयोजकलाई धन्यबाद दिंदै गौतम बुद्धको ऐतिहासिक पृष्ठभूमिको बारेमा स्पष्ट पारेका थिए । जीवनमा एकपटक बुद्धको जन्मभूमि नेपाल भ्रमण गर्न आचार्यले सबैलाई आग्रह गर्दै कार्यक्रम सफल पार्न उपस्थित सबैलाई उनले धन्यबाद दिए ।

कार्यक्रममा  नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यलगायतले पनि आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा नेपालबाट आएका स्याल्पा तेन्जिङ रिम्पोचेले बौद्ध दर्शनसम्बन्धी प्रवचन दिएका थिए ।

बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्ने तथा सहभागी हुने सबैप्रति आयोजकको तर्फबाट आभार प्रकट गरेका थिए। त्यसअघि कार्यक्रम संयोजक एवम् फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले कार्यक्रमको अवधारणाबारे बताएका थिए। कार्यक्रम सञ्चालन महासचिव लक्ष्मी राई (लारा) र सूर्य गुरुङले गरेका थिए । 

बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराई लगायत क्षेत्रको मौलिक पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो । यस कार्यक्रमले  बुद्धको सन्देश प्रचारप्रसार साथै विश्वमाझ नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धनमा पनि टेवा पुग्ने श्रेष्ठले बताए  ।

कार्यक्रममा  बीसीसी यूकेको संयोजनमा शान्तिपूजाका साथै विश्व शान्तिको कामनासहित नेपालको नक्सा अंकित चित्रमा सामूहिक दीप प्रज्वलन पनि गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप