
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पहल गर्छु : आचार्य

कास्कीको पोखरा महानगरपालिकाको मेयरमा विजयी बनेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बनेपछि यस्तो बताएका हुन् ।
उनले शपथग्रहण पछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए ।
उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पारे ।
उनले कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए । उनले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताए ।
आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक शहर बनाउने बताए । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको बताए । उनले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रुपमा परिणत गर्ने पनि जानकारी दिए ।
उनले पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेली हरुको जीवनस्तरलाई योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलभ, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने पनि बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ