बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को जिससमा एमालेको तीन जिल्ला र काँग्रेसको दुई जिल्लामा एकल बहुमत

मङ्गलबार, १० जेठ २०७९, १४ : ३४
मङ्गलबार, १० जेठ २०७९

प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसको बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले एक्लै झापा, मोरङ र धनकुटामा बहुमत पुर्याएर जिल्ला समन्वय समिति निर्माण गर्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेसको एकल बहुमत देखिएको छ । 

मोरङमा ३४ मतमध्ये एमालेको एक्लै २१ मत छ । मोरङमा एमालेले ९ तहको प्रमुख र १२ तहको उपप्रमुख जितेको छ । यस्तै १५ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र १० उपप्रमुख जितेको झापामा जिसस गठनका लागि उसैलाई बहुमत पुग्ने देखिएको छ । 

धनकुटामा पनि एमालेको बहुमत देखिएको छ । धनकुटाका ७ स्थानीय तहमा जिससको लागि १४ मतदाता छन् । जसमा ३ प्रमुख र ६ उपप्रमुखसहित एमालेसँग एक्लै ९ मत छ । उता, सुनसरीमा भने काँग्रेसले बहुमत ल्याएको छ । सुनसरीमा ७ प्रमुख र ६ उपप्रमुख काँग्रेसले जितेको छ । यस्तै सोलुखुम्बुमा रहेका ८ स्थानीय तहमध्ये काँग्रेसले ५ प्रमुख र ५ उपप्रमुख जितेकोले जिसस गठन गर्न उसँगै एक्लै बहुमत पुग्ने देखिएको छ । 

प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारी र त्रियुगाबाहेक सबै स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम आइसकेको छ । अघिल्लो निर्वाचनको तुलनामा भने एमाले जिल्ला समन्वय समितिमा कमजोर देखिएको छ । २०७४ सालमा एमालेले प्रदेशका १० वटा जिल्ला समन्वय समितिको प्रमुख र १० वटाको उप्रमुख एक्लै जितेको थियो । त्यसबेला २ वटामा माओवादीलाई प्रमुख र २ वटा उपप्रमुख र काँग्रेसले २ वटाको प्रमुख र २ वटाको उपप्रमुखमा सीमित भएको थियो ।

काँग्रेसले २०७४ सालमा पनि सुनसरी र ओखलढुंगाको समन्वय समितिको प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले भने माओवादी केन्द्रसँग तालमेल गरेर पाँचथर, भोेजपुर, मोरङ र सोलुखुम्बुमा प्रमुख जितेको थियो । ताप्लेजुङ, इलाम, झापा, खोटाङ, धनकुटा, उदपयपुर, तेह्रथुम र संखुवासभामा एमालेले एक्लै जिससको प्रमुख र उपप्रमुख जितेको थियो । मत परिणाम अनुसार भोजपुर, तेह्रथुम, खोटाङ, उदयपुर, ताप्लेजुङ, संखुवासभा, पाँचथर र इलाममा सत्तारुढ गठबन्धनले जिसस गठन गर्ने भएको छ । त्यसमध्ये कतिपय जिल्लामा त निर्वाचन अगाडि नै दलहरुले जिससको भागबण्डासमेत गरिसकेका छन् ।

अहिलेसम्म प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३४ स्थानीय तहको नतिजा प्राप्त हुँदा काँग्रेसले ६७ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ४४ वटा उपप्रमुख र उपाध्यक्ष पद जितेको छ । यस्तै एमालेले ४६ वटा प्रमुख अध्यक्ष र ६० उपप्रमुख र उपाध्यक्ष पद जितेको छ भने माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुख र उपाध्यक्षमा २१ वटा जितेको छ । राप्रपा र जसपाले समान २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ भने ३ जना स्वतन्त्र उम्मेदवारले प्रमुख र अध्यक्ष पदमा जीत हासिल गर्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख र अध्यक्ष र ५ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप