शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाको सार्वजनिक जग्गा हडप्नेमाथि डोजर चल्छ :  महानगर प्रमुख सिंह

मङ्गलबार, १० जेठ २०७९, १५ : ५२
मङ्गलबार, १० जेठ २०७९

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले महानगरको सार्वजनिक जग्गा हड्प्ने माथि डोजर चलाउने बताएका छन् । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी बोल्दै महानगरप्रमुख सिंहले सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता जनाएका हुन् । 

‘महानगरपालिकाको सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर अवश्य चल्छ ढुक्क हुनुस्’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दछ’ नगरप्रमुख सिंहले भने ।  वीरगञ्जको मुख्य बजार घण्टाघरदेखि बिर्तासम्म सडकखण्ड बिस्तार कार्य मुआब्जा विवादका कारण अदालतमा विचाराधीन अवस्थामा रहेकोले अदालतबाट टुंगो लागे लगत्तै काम शुरु गर्ने सिंहले जनाएका छन् । 

उनले शपथग्रहण गरेको २४ घन्टामै महानगरवासीले अनुभूति गर्ने खालको काम गर्ने जनाएका छन् । ‘मैले शपथग्रहण गरेको २४ घण्टाभित्र वीरगञ्ज महानगरमा परिवर्तनको आवास जनताहरूले गर्नुहुन्छ, त्यो मैले भन्ने कुरा होइन तपाईले २४ घण्टाभित्र देख्नुहुन्छ, म वीरगञ्जबासीहरुलाई महसुस गराउन चाहन्छु’ सिंहले भने,  ‘वीरगञ्जबासीसँग दैनिक रुपमा जोडिएका समस्याहरूको सबैभन्दा पहिला निदान हुन्छ, महानगरको करप्रणाली, शिक्षा, स्वास्थ्यको विषयमा सम्वन्धित विषय विज्ञहरु  छलफल गरेर अगाडि बढ्छौ’ । 

वीरगञ्ज महानगरमा फोहर ब्यवस्थापन, ढलको निकास, वर्षातमा मुख्य बजार क्षेत्र पानी जम्ने र डुवान हुने लगायतका समस्याहरु रहेका छन् । यसअघि विजयी सरावगी नगर प्रमुख हुँदा सार्वजनिक कार्यक्रममार्फत महानगरको भष्ट्रचारको विषयमा चर्को विरोध गरेका सिंहले आफुले पदभार ग्रहण गरेलगक्तै भष्ट्राचारका फाईलहरु खुल्ने बताएका छन् । ‘महानगरमा भष्टाचार भएको छ भने ती फाईलहरु खुल्छ’ अख्तियारले ती फाईलहरुको अनुसन्धान गर्छ’ सिंहले भने । 

महानगर प्रमुखमा सत्तारुढ गठबन्धनका दलहरूको इमानदारीले आफु निर्वाचित भएको भन्दै सिंहले गठबन्धनका सबै दलहरूलाई धन्यवाद दिएका छन् ।  महानगर प्रमुख राजेशमान सिंह एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मत बढी ल्याएर विजयी भएका छन् । महानगरको ३२ वटै वडाका मतगणना सकिँदा राजेशमानले ४६ हजार २१५  मत प्राप्त गर्दा एमालेका सरावगीले  २३ हजार  ६७१ मत मात्रै पाएका छन् । 

एक लाख २४ हजार ६४७ मतदाता रहेको महानगरमा ७५.२४  प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाएका छन् । २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट महानगर प्रमुखमा उम्मेदवारी दिएका सिंह सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९, ३९३ मत ल्याउँदा सिंहले १२, १६५ मत ल्याएर काँग्रेस पछिको तेस्रो स्थानमा पुगेका थिए । तर अहिले दुवैले आ आफ्नो पुरानो दल बदलेर सिंह लोसपा बाट जसपा र सरावगी जसपा त्यागेर एमालेबाट पुन: चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।  

यस्तै उपप्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९ हजार ५६८ मत मात्रै पाएका छन् । राप्रपाकी बिना जैसवालले ५ हजार ९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत ल्याएका छन् ।


महानगरका कुन वडामा कसले जिते ?

महानगरभित्र रहेका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा नेपाली काँग्रेस, ८ मा नेकपा एमाले र २ लोसपाले जितेको छ । वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, २ मा काँग्रेसका रियाज मिया तेली, ३ मा जसपाका बैजुलाल स्वर्णकार, ४ मा काँग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा काँग्रेसका हीराकाजी महर्जन, ८ मा काँग्रेसकै रितेश गुप्ता, ९ मा कांग्रेसका जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता विजयी भएका छन् ।

त्यसैगरी वडा नं  ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु,  वडा नं १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जीव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया, वडा नं २० मा एमालेका राम किशोर सिंह, २१ लोसपाका राधाकृष्ण रौनियार, २२ कांग्रेसका द्वारिका महतो, २३ एमालेको अवध किशोर कुशवाहा, २४ मा एमालेकै विजयप्रसाद कुर्मी, २५ मा जसपाका आशुतोष चतुर्वेदी, २६ मा काँग्रेसका शम्भुप्रसाद गुप्ता, २७ मा काँग्रेसकै हृदय नारायण पटेल, २८ मा सर्युग महतो, २९ मा जसपाका धर्मेन्द्र महतो, ३० मा जसपाकै मनोजकुमार यादव, ३१ मा एमालेका जितेन्द्र यादव  र ३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी भएका छन् । विजयी सबै उम्मेदवारले विहिबार मात्रै शपथग्रहण गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप