ad
x

वास्तविक जीवनका 'गजिनी' : ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्ति

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

 


क्लाइभ वेयरिङ कुनै बेलाका उत्कृष्ट सङ्गीतकर्मी तथा अकेस्ट्रा कन्डक्टर थिए । तर उनलाई हाल ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्तिको रुपमा चिनिन्छ । उनी सबैभन्दा खराब एम्नेसियाद्वारा ग्रसित छन् ।



आफ्नो जीवनको धेरैजसो कुरालाई सम्झन नसक्नु र कुनै पनि नयाँ सम्झनाहरु स्थापित गर्न असमर्थ हुनुको स्थितिलाई के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? केही गर्नु र कसैलाई भेट्नु अनि त्यसपछि त्यो काम वा ती व्यक्तिलाई ७ देखि ३० सेकेन्ड भित्रै बिर्सनु – यस्तो अवस्था कसैले पनि सोच्न सक्दैन । सबैभन्दा दुःखदायी कुरा के भने, खाएको, उठेको, परिवारका सदस्यलाई भेटेकोलगायतका कुरा केही सेकेन्डभित्रै हिउँ झैँ पग्लिएर कालो क्यानभासमा परिणत हुनु हो । यो कुरा त कल्पना पनि गर्न सकिँदैन तर क्लाइभ वेरिङको जीवन ठ्याक्कै यस्तै छ । उनी कुनैबेला चर्चित सङ्गीतकर्मी, कन्डक्टर, टेनर र किबोर्डिस्ट थिए ।



क्लाइभ वेरिङको जीवनले सन् १९८५ मार्च २९ तारिखमा नाटकीय मोड लियो । उनी त्यसदिन आफ्नै घरभित्र लडे र बेहोस् भए । उनलाई उनकी श्रीमती डेबोराले लण्डनस्थित सेन्ट मेरिज अस्पताल लगिन् । उनलाई पछिल्लो दुई दिनदेखि टाउको दुखिरहेको थियो तर उनको मस्तिष्कलाई एउटा भाइरसले आक्रमण गरेको थियो भने रत्तिभर पनि शंका थिएन । उक्त भाइरसले उनको हिप्पोक्याम्पसलाई खाइरहेको थियो । यो मस्तिष्कको त्यो भाग हो जसले हाम्रो स्मरणलाई संकलित गर्छ, जसले हाम्रो सम्झनालाई ट्रान्सफर गर्छ ।



क्लाइभको मस्तिष्क सुन्निएको थियो । हरपेस सिम्प्लेक्स वान भाइरसका कारण यस्तो भइरहेको थियो । यो भाइरसले विशेषगरी घाँटीमा घाउ बनाउने गर्छ ।



धेरै नै दुर्लभ अवस्थामा यो भाइरस मेरुदण्ड नजिकैबाट निकै सुसुप्त ढङ्गले उठ्छ र घाँटीमा घाउ निम्त्याउनुको साटो यो मस्तिष्कसम्म पुगेर यसमा इन्फ्लेमेसन निम्त्याउँछ र यसको विनाश गर्छ । यो इन्सेफलाइटिसको निकै दुर्लभ रुपमध्ये एक हो जुन सबैभन्दा घातकमध्येको एक हो ।



डाक्टरले क्लाइभ बाँच्ने २० प्रतिशत मात्रै सम्भावना व्यक्त गरेका थिए । तर केही दिनसम्म एन्टिभाइरल औषधीहरु दिएपछि उनको स्थिति सुधारोन्मुख रह्यो, कम्तीमा शारीरिक रुपमा ।

तर समय बित्दै गएपछि डाक्टर, डेबोरा र अन्ततः क्लाइभले उनको मस्तिष्क पहिलाको जस्तो रहेन भन्ने चाल पाए ।

सुरुमा क्लाइभ असाधारण रुपमा उत्साहित हुन्थे । अस्पतालभरी उफ्रिँदै हिँड्थे, कहिलेकाँही त गुडिरहेको गाडीबाट हाम फाल्थे । उनलाई नियन्त्रण गर्न असाध्यै गाह्रो भएका कारण उनलाई सबै खालको ट्रान्कुलाइजरमा राखियो तर यसले उनको दिमागमा के भएको थियो भनेर लुकाउन पनि मद्दत गर्यो । तर उनलाई के भइरहेको छ भनेर अलिअलि थाहा हुन थाल्यो तब उनको मुड परिवर्तन भयो । उनी रुन थाले । डेबोराका अनुसार आफ्नो नयाँ वास्तविकताबारे बुझ्नु अघि उनी एक महिनासम्म लगातार रोए ।

क्लाइभ वेरिङका इन्सेफलाइटिसका कारण उनलाई एन्टेरोग्रेड एम्नेसिया भयो, यसको अर्थ उनले नयाँ सम्झना (मेमोरी) बनाउन सक्दैनन् । प्रत्येक दिन उनी प्रत्येक मिनेट धेरैपटक उठेको जस्तो महसुस गर्छन् । उनले के खाइरहेका छन्, खाँदा कस्तो स्वाद आइरहेको छ भन्ने कुरा बिर्सन्छन् । किनभने उनको दिमाग साधारणतया ७ देखि ३० सेकेन्डको अन्तरालमा रिसेट हुन्छ । आफूमाथि के भइरहेको छ र कस्तो महसुस भइरहेको छ भन्ने कुरा पनि उनले सम्झन सक्दैनन् ।

एक समयमा वेरिङले आफ्नो जीवनमा के भइरहेको छ भनेर थाहा पाउन एउटा डायरी लेख्न सुरु गरे । जब उनले यसो गर्न सुरु गरे तब उनले ‘म ब्यूँझिए’, ‘म सचेत भएँ’ भन्ने शब्दावली प्रत्येक मिनेटमा लेख्न थाले । यसले उनलाई सहयोग गर्नुको साटो उनको निराशाको प्रमाण पो बने ।

‘उनले देखेका र सुनेका कुराहरु बुझ्ने उनको क्षमता कमजोर थियो । तर कुनै पनि कुरालाई उनले आँखाको एक झिम्काईभन्दा बढी समयसम्म सम्झन सकेनन्,’ डेबोराले पुस्तक ‘फरएभर टुडे’ मा लेखेकी छिन् । ‘उनले प्रत्येक पल्ट आँखा झिम्क्याउँदा उनका परेला नयाँ दृश्य प्रकट गर्नका लागि विभाजित भए । आँखा झिम्क्याउनु अघिको घटना उनले बिर्सिहाल्थे । प्रत्येक झिम्काई, प्रत्येक नजर उनलाई पूर्ण रुपमा नौलो दृश्य लागे ।’

क्लाइभको एन्टेरोग्रेड एम्नेसिया आधा मात्रै समस्या हो । उनी रेट्रोग्रेड एम्नेसियाबाट पनि ग्रसित छन् जसको अर्थ उनले आफ्नो धेरैजसो दीर्घकालीन स्मरण शक्ति पनि गुमाएका छन् । उनलाई थाहा छ उनी विवाहित हुन् तर उनको विवाहबारे उनलाई केही थाहा छैन । उनलाई आफ्नो पहिलो विवाहबाट छोराछोरी छन् भन्ने पनि थाहा छ तर उनीहरुको नाम सम्झन सक्दैनन् ।

कुनै बेलाका चर्चित सङ्गीतकर्मी हाल ८४ वर्षका भए । उनलाई सन् १९८५ अघिका निकै थोरै कुरा मात्रै थाहा छ । उनलाई कसरी दाह्रो काट्ने र नुहाउने भन्ने थाहा छ । भयानक एम्नेसियाबाट उनका मांसपेशीको स्मरणशक्ति गुमेन जसले उनलाई सुन्दर तरिकाले म्युजिकल इन्स्ट्रुमेन्ट बजाउन अनुमति दिन्छ ।

स्मरण रहोस्, आमिर खान स्टारर गजिनी फिल्ममा फिल्मका मुख्य पात्रको पनि निकै कम समयमा स्मरण शक्ति गुम्ने गर्छ । यो अवस्थालाई सर्ट टर्म मेमोरी लस भनेर बयान गरिएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।