
काठमाडौंको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न सुरु गरिएको हो ।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना स्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् ।
सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातो पुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गरेकी थिइन् । हाल काठमाडौं र ललितपुरबाट एक सयवटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।
मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।
काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ