बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो हारले गठबन्धन असफल भन्न मिल्दैन : अमरेन्द्र यादव

मङ्गलबार, १० जेठ २०७९, १७ : ५२
मङ्गलबार, १० जेठ २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको निर्वाचन परिणाम जसपा नेपालका लागि भने सुखद् भएन । सत्तारुढ गठबन्धनबीच तालमेलका बाबजुद जसपा नेपालले उपप्रमुख पदमा पराजय व्यहोर्नुपर्‍यो । गठबन्धनबाट काँग्रेसले प्रमुखमा जित हासिल गर्दा जसपा नेपालले उपप्रमुखमा जित्न सकेन ।

यस्तै काँग्रेस र जसपाले नै ०७४ सालमा जितेका वडा पनि गुमाउनु पर्‍यो । संख्याका आधारमा पहिलेभन्दा जसपा र काँग्रेस कम सिटमै थन्किनु पर्‍यो । यहाँसम्म कि कार्यपालिकामा राप्रपा र स्वतन्त्रले सहयोग नगरे उसलाई बहुमत पुग्नै नसक्ने अवस्था छ । यस्तो परिणामलाई धेरैले गठबन्धन गरेका दलहरूको असफलताको रुपमा व्याख्या गरिरहेका छन् भने जसपाका लागि त काँग्रेसले ठूलो घात गरेको भन्नेहरु पनि प्रशस्त छन् ।

काँग्रेसका पहाडे समुदायका मतदाताले उपप्रमुखमा जसपाका उम्मेदवारलाई भोट नहालेर उम्मेदवार नभएको आफ्नै चुनाव चिह्नमा भोट हाले । जसका कारण प्रमुख पदमा काँग्रेसले भारी मतान्तरले जितिरहँदा जसपाको उपप्रमुख पदमा भने एमालेसँग झण्डै दोब्बर मतले पराजय भोग्नु पर्‍यो । यो अवस्था आउनुको खास कारण के हो ? गठबन्धन असफल भएकै हो त ? यही सेरोफेरोमा रहेर रातोपाटीले जसपाबाट विराटनगर महानगरपालिकाको उप्रमुख पदमा उम्मेदवारी दिएका अमरेन्द्र यादवसँग कुराकानी गरेको छ । यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा पनि हुन् । भारत पटनाको एक विश्वविद्यालयबाट विधि विज्ञानमा मास्टर्स गरेका उनमा स्वास्थ्य क्षेत्रबारे विशेष ज्ञान छ । यस निर्वाचनको पराजयबाट शिक्षा लिँदै अर्को ५ वर्षपछि मेयर पदमा पुनः उठ्ने उनी बताउँछन् । प्रस्तुत छ, यही सन्दर्भमा रातोपाटीले उनीसँग गरेको कुराकानीको सम्पादित अंश–

स्थानीय तह निर्वाचनमा तपाई विराटनगर महानगरपालिकाको गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बन्नुभयो तर, सोचे अनुसार परिणाम आएन । खास कारण के हो ?

यसमा समीक्षा हुन जरुरी छ । अहिलेसम्म भएको छैन । मुख्य कुराचाहिँ २/३ वटा हुनसक्छ । एक, प्रचारप्रसारको कमी हुनसक्छ । दुई, गठबन्धनभित्र पनि इमानदारिताको विषय पनि विचारणीय छ । हाम्रो दक्षिणी भेगको जुन कोर भोट थियो, त्यहाँबाट दुईवटै पदमा भोट गएको छ । तीन विभिन्न स्थानमा काँग्रेस र हामी नै प्रतिस्पर्धी भएको हुनाले वडास्तरमा पनि भोट बाझिएको छ ।

विराटनगरमा समुदायगत हिसावले पनि उत्तरी बेल्टले दक्षिणलाई अस्वीकार गर्ने र दक्षिणले पनि उत्तरलाई अस्वीकार गर्ने अवस्था देखियो, होइन ?

राष्ट्रले नै दुवै समुदायलाई एक बनाएर अगाडि बढ्ने सन्देश दिइरहेको छ । विराटनगरले पनि त्यो सन्देश दिएको भए सुनमा सुगन्ध हुने थियो । यसकै उदाहरणको रुपमा वीरगञ्जबाट नेवारले चुनाव जितिरहेको छ भने काठमाडौंमा मधेसीको छोरोले चुनाव जितिरहेको छ । यही कुराको सन्देश विराटनगरले पनि दिन सक्थ्यो, त्यो भएन । त्यो अवसर विराटनगरले गुमायो ।

गठबन्धन वडा तहसम्म नहुँदा पनि असर गर्‍यो, होइन ?

त्यसले पनि असर गर्‍यो गठबन्धन सीट बाँडफाँट एकदमै कम समयमा भयो । त्यो तल्लो स्तरमा पुग्नै सकेन । गृहकार्य गर्दा ३÷४ महिना अगाडिदेखि नै गर्न पाएको भए रिजल्ट राम्रो आउँथ्यो होला ।

गठबन्धनको विषयमा काँग्रेसले पनि वडा मिलाउने कुरामा पनि असहयोग ग¥यो । तपाईको पार्टीले पनि मिलाउन चाहेन । जसका कारण माओवादी र नेकपा एकीकृत समाजवादी पनि त्यति सन्तुष्ट थिएनन्, तपाईको पराजयमा यो पनि एउटा कारण हुन सक्छ ?

मिलाउने कुरा दोस्रो हो । त्यस्तो अवस्थामै हामी पुग्न सकेनौं । उम्मेदवारी दर्ताभन्दा एक दिन अगाडि त बल्ल थाहा पाइयो कि उपमेयर हाम्रो र मेयर काँग्रेस भनेर । त्यसपछि पनि तुरुन्तै उम्मेदवारी परिसक्दा कसलाई कसरी ‘ब्याक’ गर्ने भन्ने समस्या थियो । त्यही बाटो खोल्नका लागि हामीले ३ वटा वडामा उम्मेदवारी खाली राखेका थियौँ । तर, त्यो सहकार्यको प्रयास हुँदाहुँदै पनि केही साथीको अहमताका कारण त्यो हुन सकेन ।

तपाईलाई असहयोग गर्ने कुराचाहिँ तपाईकै पार्टीभित्रबाट पनि सुरु भयो, होइन ? उदाहरणका लागि तपाईकै नेता उमेश यादव राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने, काँग्रेस पनि ‘जबर्जस्ती गठबन्धन भएको हो, हामीलाई आवश्यक नै थिएन’ भन्ने । माओवादीले आफ्नै उम्मेदवारी दिने, तपाईकै पार्टीबाट उपप्रमुख मै बागी उम्मेदवारी आउने अवस्थाले त तपाईलाई सुरुमै धेरै समस्या थियो नि, होइन ?

हामी सुरुदेखि नै एक्लै चुनाव लड्ने मुडमा अगाडि बढिरहेका थियौं । गठबन्धन गर्ने केन्द्रको निर्णय भइसकेपछि सबैले स्वीकार गर्नुपर्दथ्यो । उमेश यादवको विषयमा के थियो भन्दा अन्तिम नामावलीसम्म हामीले पठाएका छौं । पार्टीको निर्णयमा हाम्रोमा मेयर परेन, म मेयरमै लड्छु भनेर राजीनामा दिएर उम्मेदवारी दिएपछि हामीलाई त्यहाँबाट धेरै समस्या हुँदैन भन्ने लाग्यो । अब गठबन्धन आवश्यकता थिएन भन्ने काँग्रेसको जुन कुरा थियो, त्यसको पुष्टि आजको रिजल्टले गरिसक्यो । कसलाई गठबन्धन आवश्यक थियो वा थिएन भन्ने प्रस्ट भइसक्यो । माओवादीलाई मिलाउने कुराचाहिँ समय एकदमै कम भएका कारण मिलाउन नसकेकै हो ।

अर्को आरोप थियो तपाईलाई– उपेन्द्र यादवको छोरा भएकै कारणले टिकट लिएर आयो । तपाईको राजनीतिमा धेरै योगदान पनि थिएन भन्ने कुरा पनि चलेको थियो नि, होइन ?

त्यो ‘ह्वीम’ व्यापक चल्यो । त्यसले असर पनि ग¥यो, नगरेको पनि होइन । त्यस विषयमा के थियो भने म विराटनगर महानगरपालिकामा मेयरमा लड्छु भनेरै मैले ३ वर्ष अगाडि नै पार्टीको अधिवेशनबाट नगर अध्यक्षमा जितेर आएको हो । तीन वर्षदेखि नै त्यो कुरा अगाडि बढेको थियो । अचानक म आएको होइन । कसैको न कसैको छोरा हुनु स्वाभाविक हो । मलाई पद पाउनु नै थियो भने म समानुपातिकबाट सांसद, मन्त्री वा राष्ट्रियसभामा गइसकेको हुन्थेँ नि । मैले ग्राउण्डबाटै अगाडि बढ्नुपर्छ भनेर स्थानीय तह छानेको हो । यसमा यो विवाद होइन । तर, यसै विषयलाई व्यापक चर्चामा ल्याइयो । अहिले चुनाव सकिएपछि मानिसहरुले त्यो गरेको चर्चा गलत रहेछ, तपाईमा सम्भावना रहेछ भन्ने आवाजहरु बढ्दै गएको पाएको छु ।

अब तपाई फेरि प्रदेश सांसद वा संघतिर जाने सम्भावना के छ ?

अहिले तुरुन्तै कहीँ जाने मेरो इच्छा छैन । प्रदेश र केन्द्र मैले इच्छा राखेको विषय पनि होइन । स्थानीय तह नै जितेर एक पटक ग्राउण्डमा काम गरेर देखाउन खोज्ने चाहना राख्ने व्यक्ति हो म । किनकि केन्द्रबाट नीति निर्माणको काम हुन्छ, प्रदेशको कार्यान्वयनको भूमिकामा कमजोर छ । ग्राउण्डको हरेक चिज नगरपालिकाबाट हुने भएकाले म पूर्ण रुपमा अहिलेको अवस्थालाई सदुपयोग गर्दै ५ वर्ष पछाडिको तयारी गर्छु ।

अब विराटनगरको मत परिणामलाई लिएर पनि कतिपयले गठबन्धन सफल भएन भनिरहेका पनि छन्, तपाई चाहिँ विराटनगरको मत परिणामको विषयलाई कसरी लिनुहुन्छ ?

गठबन्धन समस्या होइन । गठबन्धनभित्र दुई तीन वटा कुरा आए । एउटा फलानाको छोरा भनेर आयो । अर्को ‘ह्युमर’ भनेको उपमेयर भन्ने पोष्ट महिलाका लागि आरक्षित पोष्ट हो भन्ने पनि रह्यो । यो सिट पुरुषले लिनै हुँदैन भन्ने कुरा बजारमा फैलाइयो । त्यसले पनि नकारात्मक असर गरेको छ । त्यही भएर नमिता न्यौपानेले पनि उपमेयरमा नोमिनेसन दिनुभयो । उहाँले मेयरमा पनि दिन सक्नुहुन्थ्यो नि ! यो एउटा षड्यन्त्रका रुपमा राजनीतिक घेराबन्दी गर्नलाई मात्रै गरिएको थियो । त्यो घेराबन्दी र षडयन्त्रमा माओवादी आफै फस्यो र आजको दिनमा माओवादी विराटनगरमा शून्य अवस्थामा आएको छ । यो खालका ह्युमरको कारण यहाँ असफल भएको हो ।

गठबन्धन देशभरको रिजल्टमा सफल भएको छ । पहाडबाट, हिमालबाट जसपाले पनि सिट पाएको छ । मधेसमा काँग्रेसले पनि राम्रो सिट पाएको छ । रौतहटमा नेकपा एकीकृत समाजवादीले पनि राम्रो जितेको छ । समग्रमा गठबन्धन सफल छ । विराटनगर अपवाद भएको होला । राजनीतिक चक्र्व्यूहहरु धेरै रचिएको थियो यहाँ । त्यसमा केही दलहरु सफल भए ।

त्यसो भए विराटनगरको परिणामलाई लिएर गठबन्धनको विषयमा धेरै गुनासो गर्नु परेन, होइन ?

परेन । विराटनगरको मत परिणामलाई लिएर गठबन्धनको विषयमा गुनासो गर्न आवश्यक छैन ।

तपाईले उम्मेदवारी दर्ता गरेपछि आफ्नो प्रतिस्पर्धी शिल्पा कार्कीको विरुद्धमा उजुरी दिने र अदालत जाने काम गर्नुभयो । त्यसले पनि तपाईलाई असर गरेको छ कि ?

मलाई केही असर गरेको हुनसक्छ । मैले जनताको माझमा के चाहेको थिएँ भने एउटा किर्ते गरेर नोमिनेशन दिएको मानिसले पछि पनि किर्ते गर्छ भन्ने सन्देश दिन खोजेको थिएँ । तर, त्यसले नकारात्मक रुपमा महिलामाथि आक्रमण गर्‍यो भन्ने देखियो ।

मुद्दाको प्रक्रिया चाहिँ अहिले कहाँ पुग्यो ?

मुद्दा अदालतमा छ । पेसीको समय आउँछ । पेसीको समय आएपछि मुद्दा निरन्तर चलिरहन्छ । किर्ते दस्तावेजहरु सप्रमाण छन् त्यसमा ।

तपाईको पक्षमा फैसला आउँछ भन्ने विश्वस्त हुनुहुन्छ तपाईं ?

विश्वस्त भन्दा पनि एउटा प्रक्रिया चालिएको हो । यति धेरै बलिया र धेरै प्रमाणहरु छन्, त्यसलाई नकार्न सकिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप