बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता जोशीले अनाथालयका लागि पूरा गरे २४० माइल साइकल यात्रा

मङ्गलबार, १० जेठ २०७९, २० : ४४
मङ्गलबार, १० जेठ २०७९

अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरूका साथमा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गरेका हुन् ।

शुक्रबार सुरु गरेको यात्रा  आइतबार  पूरा गरेका हुन् । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी वर्षा रहावाको सामना गर्नु परेको अभिनेता जोशीले बताए । पाइडल घुमाउँदै लण्डन ब्रिजबाट पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने ‘हाम्रो यात्राको उद्धेश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’

उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेले आयोजना गरेको साइकल यात्रा अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेका थिए भने अहिले त्यसमा ६ हजार  पाउण्ड थपिएको छ । जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको यात्राको सम्पूर्ण खर्च यात्री स्वयंले बेहोरेका थिए । आफूहरुले संकलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गरिने जानकारी जोशीले दिए । सन् २०१४ देखि संचालित उक्त अनाथालयमा हाल २३ बालिका आश्रित छन् । जोशीको निर्माण, अभिनय रहेको फिल्म ‘हल्लो जिन्दगी’ केही महिना अगाडि रिलिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप