शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नासाले मङ्गल ग्रहमा ढोका भेटेको छैन, तर हामीले खोज्न छाड्नु हुँदैन’

बुधबार, ११ जेठ २०७९, १२ : २५
बुधबार, ११ जेठ २०७९

गत दस वर्षदेखि नासाको क्युरियोसिटी रोभरले मङ्गल ग्रहको सतहमा चक्कर लगाइरहेको छ । रातो ग्रह भनेर चिनिने यो ग्रहको इतिहास र भूगोलको अध्ययनका लागि रोभरले फोटो खिचेर पृथ्वीमा पठाउँछ । वैज्ञानिकहरूले यसमार्फत ग्रहमा वर्तमान वा प्राचीन जीवनको प्रमाण भेट्ने आशा  गरेका छन् । 

गत साता क्युरियोसिटीले लिएको एउटा फोटोमा ढुङ्गामा खोपेको ढोकाजस्तो आकृति देखियो । चित्रमा देखिए जस्तो आकृति पृथ्वीमा बङ्कर हुन्छन् । झलक्क हेर्दा धेरैले त्यस्तै ठान्छन् । तर गहिरिएर हेर्दा ढोका नभएको पाइएको छ । किन त ?

ढोकातर्फ जाने बाटो छोटो छ । फोटोमा छानो र भुइँ अचानक जोडिन्छन् । त्यसमाथि नासाले चित्रमा देखिएको आकृति जम्मा ४५ सेन्टिमिटरको मात्र भएको बताएर ढोकाको आशा गर्नेहरूलाई निराश बनाइदिएको छ । 
तर्क गर्नेले त मङ्गल ग्रहका जीव पृथ्वीकै जस्तो ठूलो कहाँ हुन्छन् पनि भन्लान् ।

तर भूगोलविद्ले चित्रमा देखिएको क्षेत्रमा कैयौँ सरल रेखा टुटेको र ‘ढोका’ देखिएको भागमा ती रेखाहरू एकअर्कालाई पार गरेको बताएका छन् । यसले सो आकृति ढोका नभएको देखिन्छ । ‘ढोका’ अघि पनि मङ्गलग्रहमा चम्चा, मानव अनुहार भेटिएको थियो । जुन पहिलो नजरमा साँच्चै हो जस्तो लागेको थियो र पछिका गहन अध्ययनमा ती सामान्य माटोमा बनेको आकृति पाइएको थियो । 

हामी सबैले बादलमा आकृति देख्ने गर्छौं । तथ्य के हो भने अस्पष्ट र नचिनेको अनुहार प्रस्तुत हुँदा मानिसले तिनमा परिचित आकृति खोज्ने प्रयास गर्छ । यसलाई वैज्ञानिकहरू ‘प्यारेइडोलिया’ भन्छन् । 
यस्तो शक्ति कसरी विकास भयो भनेर बुझ्न हाम्रो इतिहासमा फर्कनुपर्छ । मानव जाति लामो समय वनमा बस्यो । त्यसबेला मानिसहरूले अँध्यारोमा पनि नरभक्षी जीव वा शत्रु चिन्न अभ्यस्त हुनुपथ्र्यो । मत्स्य न्याय लागू हुने जङ्गलमा यो कला जीवन–मरणको कारण हुन्थ्यो ।  

यति तर्कपछि पनि कन्स्पिरेसी थियोरिस्टहरू चित्रको आकृति ढोका नै भएको र त्यसले मङ्गल ग्रहमा जीवनमा प्रमाण पुष्टि गरेको बताउन छाड्ने छैनन् । वैज्ञानिकहरू केही ढाकछोप गर्ने प्रयास गरिरहेको तर्क उनीहरू दिनेछन् । तर वैज्ञानिकलाई ढाकछोप गर्नु नै थियो भने तिनले चित्र सार्वजनिक नै गर्ने थिएनन् । त्यसैले यी तप्काका भनाइमा बल छैन । 

तर एलियन जीवन खोजिरहेका गम्भीर अध्येताले एउटा पाठ सधैँ ख्याल राख्नुपर्छ । सेलिब्रिटी खगोलविद् कार्ल सगान भन्थे– असाधारण दाबी पुष्टि गर्न असाधारण प्रमाणको आवश्यकता पर्छ । 

सगानकै भनाइअनुसार पनि बाह्य ग्रहमा जीवनको प्रमाण खोजिरहेका वैज्ञानिकले बलियो प्रमाणमा ध्यान दिनुपर्छ । भौगोलिक बनावटमा अल्झिएर बस्न हुँदैन । बृहत्तर रूपमा एलियनको अस्तित्व खोज गर्ने वैज्ञानिकहरूले वर्षौंदेखि अन्तरिक्षमा अन्य सभ्यताको सङ्केत खोजिरहेका छन् । तर हालसम्म केही हात लागेको छैन । 

यूएफओ (अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट)का धेरै फोटोहरू आइरहन्छन् । तीमध्ये अधिकांश या त जाली हुन्छन् या उस्तै खालको मौसम मापन गर्ने बेलुनका हुन्छन् । वैज्ञानिकहरू हरेक सम्भावनाका लागि खुला हुनुपर्छ । हामीले देख्ने सयौँ यूएफओका तस्बिर वा भिडियोमध्ये एक वा दुई यस्ता हुनसक्छन्, जसले हाम्रो बुझाइलाई नै विस्तार गरिदियोस् । 

तर आज कसैले मलाई यूएफओको फोटो देखायो भने त्यसबारे थप अनुसन्धानमा समय फाल्नुभन्दा जाली भनेर पन्छाउँछु । तर म गलत ठहरिएँ भने ?  त्यसैगरी मङ्गलमा देखिएका ढोका, चम्चा र अनुहार पनि सहजै भौगोलिक आकृति भनेर पन्छाउन सजिलो छ । 

तर हामीले एक दिन मङ्गल ग्रहमा प्राचीन जीवनको पुरातात्त्विक प्रमाण भेट्ने सम्भावनाप्रति सचेत हुनुपर्छ । यसको सम्भावना कम छ तर असम्भव छैन । भोलि प्राप्त तथ्याङ्कहरूमा हामीले वर्षौंदेखि खोजिरहेको कुरा रहेछ र तिनलाई बेवास्ता गरिदियौँ भने हामीले ठूलो कुरा गुमाउनेछौँ । त्यसैले हरेक कुरालाई प्रकाशको प्रभाव भनेर पन्छाइहाल्न मिल्दैन ।

‘द कन्भरसेसन’का लागि वेस्टर्न सिड्नी युनिर्भसिटीअन्तर्गतको स्कुल अफ साइन्सका प्राध्यापक रे नोरिसको आलेख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप