
आमूल परिवर्तनको प्रसंग र माओवादी

‘जीवनलाई सहज बनाएर हैन,बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ –सिमोन
म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला,१४ वर्षको उमेरमै मैले गाउँमा क्लबको नेतृत्व गर्ने अवसर पाएँ । समय क्रमसँगै मैले राष्ट्रिय युवा संगठन नेपाल,युवा महासंघ,सार्क युथ फेडेरेशन,सुशासन महांसघ,सुशासन महाअभियानलगायत आजसम्म आइपुग्दा झण्डै आधा दर्जन राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाको नेतृत्व गर्ने अवसर पाएँ । हाल म वैज्ञानिक खोज,अनुसन्धान,अन्वेषण र प्रयोगका क्षेत्रमा काम गर्ने अल्टरनेटिभ फाउण्डेशनको नेतृत्व गरिरहेको छु ।
म यहाँसम्म आइपुग्दा सरकारका नीति निर्माणदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको छु । लेखनमा पनि रुचि राख्ने मेरा ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’ नामक् दुई पुस्तक प्रकाशित छन् । वैज्ञानिक खोज,अनुसन्धान,अन्वेषण र प्रयोगबाट आएको निश्कर्षलाई पुस्तक,लेख–रचनामार्फत् पाठकमा पुर्याउने रुचि त छँदैछ,राजनीतिक पार्टीमार्फत् आम नागरिक र देशको पक्षमा काम गर्ने पनि मेरो रहर छ । मेरो जीवनको अन्तिम गन्तव्य भनेको वैज्ञानिक संस्कार र समाज निर्माणमार्फत् मानवजातिको समान अग्रगतिमा योगदान गर्नु हो ।
मेरो विचारमा जीवन अप्रकाशित पुस्तक हो,यसको निरन्तर सम्पादन गर्नुपर्छ । यो के हामीले कहिले आफ्नो बुझाई,चेतना र जीवन–व्यवहारको सम्पादन गर्ने कोशिस गर्यौं ?कि हामीले समाजबाट पाएको र सुनेको ज्ञानलाई नै चेतनाको अन्तिम स्रोत बनायौं ?के हजारौं वर्ष पहिले निर्माण भएको ज्ञानलाई आजको पुस्ताले पनि बोकिरहेर सम्पादित पुस्तक जस्तो उत्कृष्ट जीवन पाइएला वा पाइएको छ ?मलाई लाग्दैन,पाइएको छ ! त्यसकारण,उत्कृष्ट जीवनका लागि पुरानो चेतनामा कैची चलाउनु पर्छ । गलत चेतनाले भरिएका पानाहरुलाई जलाई दिनुपर्छ । जीवनलाई जहाँको त्यही राखिराख्ने मुल्य–मान्यता र परम्परामाथि निर्ममतापूर्वक जाइलाग्नु पर्छ । तब बल्ल नयाँ,सफल र उत्कृष्ट जीवन पाइन्छ,अनि मात्र मानव भएर जन्मनुको सार्थकता हुन्छ ।
म कट्टर हिन्दू परिवारमा जन्मिएको मान्छे हुनुका नाताले कुनै वेला म पनि धार्मिक थिएँ । आफ्नो धर्म–संस्कृतिविरुद्ध बोल्नेमाथि जाइ लाग्थे । मान्छेका दुःख,सामाजिक विभेद र अन्याय,लैगिंक हिंसा आदि कुरा मेरो नजरमा पर्दैनथ्यो । पर्थ्यौ त केवल धर्म–संस्कृति,परम्परा,रितिरिवाज र मूल्यहरु । त्यसकारण,मलाई परिवर्तनको प्राकृतिक नियम,सामाजिक न्यायको अनिवार्यता,नेपाली समाज निर्माणको ज्ञानको स्रोतलगायत सामाजिक मूल्य–मान्यता बुझ्न धेरै वर्ष लाग्यो । ‘देश किन बनेन’ पुस्तक लेखनमा अग्रसर भएसँगै सामाजिक,आर्थिक र राजनीतिक लगायत विविध क्षेत्रको अध्ययनमा लागे । तब मात्र मलाई अवगत भयो,हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला,गरिब,दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ ।
मलाई आज पनि याद छ,हाम्रो गाउँघरमा अलिक झुत्रोमुत्रो लगाएर जुङ्रुङ्ग भएर हिँड्न बाध्य गरिब महिलालाई कथित बोक्सीको आरोप लगाएको । म पनि त्यस्ता महिलालाई त्यसवेला बोक्सी नै देख्थे,यसकारण कि मलाई मेरो समाजले बोक्सीको हुलिया त्यस्तै वताएको थियो ।
पुस्तक लेखन कार्यले मेरो चेतनामा आमूल परिवर्तन ल्याइदियो । म कट्टर धार्मिक र परम्परावादी मान्छे,क्रान्तिकारी हुन पुगें । क्रान्तिकारी हुनु भनेको मूलतः परिवर्तनकारी अर्थात् अग्रगमनकारी हुनु हो । अर्को अर्थमा परम्परा,रुढिवादी र अन्धविश्वासी नहुनु हो । तर,हामीकहाँ परिवर्तनकारी हुनु भनेको हत्यारो हुनु हो,जस्तो जर्वजस्त भाष्य निर्माण गर्न खोजिन्छ । परिवर्तनकारी हुनुको अर्थ समानता र बराबरीको पक्षमा दृढतापूर्वक उभिनु हो । समानता र बराबरीको मुद्दा माओवादी आन्दोलनले स्थापित गरेको हो । त्यसकारण,म माओवादी हुन पुगे । माओवादी भएकोमा मलाई गर्व छ । किनकि,वैज्ञानिक दृष्टिकोण,परिवर्तन,मानव जातिको अग्रगतिको अर्को नाम नै माओवादी हो । तर,पुरानो चेतनाले नयाँ कुरालाई हेर्दा यहाँ कतिपय मानिस माओवादी आन्दोलनलाई दुत्कार्छन,जुन ठूलो दृष्टिदोष हो ।
एकैछिन माओवादीलगायत केही परिवर्तनकारी आन्दोलनलाई अर्को ढंगले हेरौं त । मानौं,प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन नभएको भए अहिले के हुन्थ्यो होला ?स्पष्ट छ,देशमा हिन्दू राजतन्त्र भइरहन्थ्यो । महिला,मधेशी,दलित,थारू,अल्पसंख्यक,गरिब आदिले हीनताको जीवन बाँचिरहेका हुन्थे । वीपी र पुष्पलालजस्ता परिवर्तनकारीहरुको जन्मले अत्याचारी राणा शासनको अन्त्य भयो भने प्रचण्डजस्ता नेताको जन्मले सामन्ती राजतन्त्रको मात्र अन्त्य गरेन,रैतीजस्तै बाँचिरहेका नेपालीलाई वास्तवमै नागरिकलाई बनायो ।
शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन,परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ । ग्यालिलियो ग्यालिली र चार्ल्स डार्बिनजस्ता वैज्ञानिकलाई मानवजातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन,समाजको विश्वास विरुद्ध बोल्ने समाज भँडुवा देखिन्छ । परिवर्तनकारीलाई दुत्कार्ने मानिस लक्ष्यविहीन हुन्छ । उसको जीवनको गन्तव्य नै हुँदैन । गन्तव्य नभएपछि गति हुने कुरै भएन । त्यसकारण,उसको दुर्गति हुन्छ । अर्थात्,आम मानिसको भन्दा फरक प्रगति हुँदैन । भलै,त्यस्ता मानिसको पनि एउटा लक्ष्यचाहिँ हुन्छ ! त्यो हो,मरेपछि कथित स्वर्ग पुग्ने ।
यथास्थितिवादी मानिसले सत्यतथ्यलाई अस्वीकार गर्छ र पहिलेदेखि मानी आएको कुरा छोड्न सक्दैन । यस्तोलाई मनोवैज्ञानिकले ‘पुष्टीकरण पूर्वाग्रह’ भएको मानिस भन्दछन् । यो मनोविज्ञान नै प्रायः मानिसको दुर्गतिको कारक हो । पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न,सोच्न अर्थात् गन्तब्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रहबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन,हत्यारो नै देख्छ ।
जो हामी परिवर्तनकारी मानिसको विरोध गर्छौ,यसको अर्थ तपाईं महिलाले पुरुष बराबर अधिकार पाउनै हुँदैन भन्ने मान्छे हो ?के तपाईं मधेशीलाई भारतीय देख्ने मान्छे हो ?के तपाईं दलित कुनै फरक प्रजातिको मानिस नभएर हिन्दू धर्मको उपज हो भन्ने थाहा नपाएको मानिस हो ?के तपाईं मानवताको पक्षधर हैन ?तपाईं स्थायी शान्ति र देश विकास हुनुपर्छ भन्ने मान्छे हैन ?यदि हैन भने तपाईं यो धर्तिका लागि आवश्यक मान्छे नै हैन ।
अन्तमा,मानव जातिको अग्रगतिका लागि हरेक नागरिक आफै परिवर्तनकारी हुनुपर्छ । परिवर्तनकारी हुन नसके पनि परिवर्तनकारीलाई मल्जल गर्नु पर्छ,उत्साहित र प्रोत्साहित गर्नुपर्छ । परिवर्तनकारीलाई दुत्कारेर परिवर्तन रोकिन्छ ?रोकिएको भए आजको भव्य र सान्दार जीवन हामीले देख्न पाउँथ्यो ?पक्कै पनि पाउँदैनथ्यौं । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको निर्देशक बन्नबाट रोकेको भए नेपालबाट यति चाँडै लोड्सेडिङको अन्त्य हुँदैनथ्यो । ठिक त्यस्तै हो,परिवर्तनको कुरा पनि । त्यसकारण,हामी सबै परिवर्तनकारी भएर हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि योगदान गर्ने कि ?
हाइलाइटः
शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन,परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चार्ल्स डार्बिनजस्ता वैज्ञानिकलाई मानवजातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन,समाजको विश्वास विरुद्ध बोल्ने समाज भँडुवा देखिन्छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ