शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा स्थानीय निर्वाचन : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

बुधबार, ११ जेठ २०७९, १५ : १५
बुधबार, ११ जेठ २०७९

सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो ।

सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । पाँच वर्षअघिको चुनावमा सात पालिका प्रमुखमा विजयी भएको एमालेले सम्पन्न चुनावमा आफ्नो यसअघिको विरासत जोगाउन सकेन । एमाले दुई पालिका प्रमुखमा मात्र विजयी हुन सक्यो । काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच पालिका तहका प्रमुख उपप्रमुखमा तालमेल गरिएकोमा वडा तहका अध्यक्ष र सदस्य पदमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

एमाले, नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गर्ने बताए पनि उम्मेदवारी मनोनयन गर्दा ती दलसँग तालमेल गरेर उम्मेदवारी दिएको कतै देखिएन । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका चार पालिका तहमा सम्पन्न निर्वाचनको परिणाम नागरिक उन्मुक्ति पार्टीको पक्षमा गएपछि सो क्षेत्रमा ठूला दलले आफ्नो पुरानो विरासत गुमाउन पुगेका छन् । ठूला दलको विरासत तोड्दै भर्खरै स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टी टीकापुर नगरपालिकाको प्रमुख,जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, तथा भजनी नगरपालिकाको प्रमुख/उपप्रमुखमा विजयी बन्न सफल भएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र यो पार्टी स्थापना भएको थियो ।

टीकापुर र आसपासको क्षेत्र काँग्रेसका नेताहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, नारायणदत्त मिश्र, माओवादीका नेता नेपबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी)का नेत्री गरिमा शाहको राजनीतिक कर्म थलो हो । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका एमालेका नेता लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगरपालिकाको प्रमुखमा समेत एमालेले पराजय व्यहोरेको छ । एमालेले नगर प्रमुखको प्रत्यासी बनाएको  भट्टका सहोदर भाइ गोकर्ण भट्ट पराजित भए । सुदूरपश्चिम प्रदेशको राजधानी सहर र एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा काँग्रेस, एमालेजस्ता ठूला पार्टी पराजित भएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी एवं समाजसेवी गोपाल हमाल प्रतिस्पर्धीसँग ठूलो मतान्तरले विजयी भए । 

आफू प्रमुखमा विजयी भएमा उपमहानगरपालिकाबाट पाउने सुविधा नलिने घोषणा गरेर चुनावमा होमिएका व्यवसायी हमालको सार्वजनिक गरेको ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आकर्षक नाराबाट नगरवासी प्रभावित भएका थिए । यसबाहेक विगतमा कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि गरेको प्रयास र पाएको सफलताका साथै सामाजिक क्षेत्रमा पु¥याइरहेएको योगदानका कारण हमाल रोजाइमा परेको नगरवासीको भनाइ छ ।  उपमहानगरपालिकामा रहेको पेश्की बेरुजु रकम असुलउपर गरी बेरुजुलाई शून्यमा झार्ने, भ्रष्टाचारमुक्त पार्दै उपमहानगरलाई मुलुककै सुन्दर समुन्नत र नमूना सहर बनाउने प्रतिबद्धताले पनि उनलाई नगरवासीले रुचाएका हुन् ।  विसं २०४८ यता भएका स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुख, उपप्रमुखमा एमाले एक चुनावमा र काँग्रेस दुई चुनावमा विजयी भएको  थियो । 

सम्पन्न निर्वाचनमा सत्तासाझेदार दलबीच पालिका तहको प्रमुख उपप्रुखमा गरिएको तालमेल जिल्लाको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा मात्र पूर्णरुपमा सफल देखिएको छ । तालमेल भएका अन्य कतिपय पालिकामा सत्ता गठबन्धन दलका प्रत्यासी प्रमुखमा विजयी हुँदा उपप्रमुख पराजित भएका छन् भने उपप्रमुख विजयी भएका सत्ता साझेदार दलका प्रमुखका उम्मेदवार कतिपय पालिकामा पराजित भएका छन् । जिल्लामा १३ पालिका रहेका छन् ।

काँग्रेसले गोदावरी र लम्कीचुहा नगरपालिको प्रमुख तथा कैलारी गाउँपालिकाको अध्यक्षमा, चुरे, मोहन्याल, कैलारी, गाउँपालिकको उपाध्यक्ष तथा घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको उपप्रमुखमा विजयी भएर चित्त बुझाउनुपरेको छ । निर्वाचनमा विजयी काँग्रेसका उपप्रमुख प्रत्यासीको सङ्ख्या भने यसअघिको निर्वाचनको भन्दा बढेको छ । माओवादी केन्द्रका मोहन्याल गाउँपालिकाको अध्यक्ष र गौरीगङ्गा नगरपालिकाको प्रमुखमा तथा टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । 

एमाले सम्पन्न निर्वाचनमा चुरे र बर्दगोरिया गाउँपालिकाको अध्यक्ष, धनगढी उपमहानगरपालिका, गोदावरी र लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा विजयी भएको छ । एकीकृत समाजवादी घोडाघोडी नगरपालिकाको प्रमुखमा विजयी भएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका सात पालिका प्रमुखमा विजयी बनेका एमालेका लागि यसपालिको स्थानीय तहको निर्वाचन बढी अनपेक्षित बन्न पुग्यो । काँग्रेसले यसअघिको चुनावमा विजयी भएको धनगढी उपमहानगरपालिकाको प्रमुख, बर्दगोरिया र जोशीपुर गाउँपालिकाको प्रमुख गुमाएको छ । माओवादी केन्द्रले कैलारी गाउँपालिको अध्यक्ष र भजनी नगरपालिकाको प्रमुख गुमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप