शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

यादव र ओलीबीच भेट
बुधबार, ११ जेठ २०७९, १५ : ३५
बुधबार, ११ जेठ २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।

विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् । त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार लालकिशोर साह पनि पराजित भएका छन् । त्यहाँ पनि गठबन्धनले धोका दिएको जसपा नेपालका नेताहरूको बुझाइ छ ।

यसरी मुख्य दुई ठाउँमै जसपाले धोका पाएपछि गठबन्धनमा रहने कि नरहने भन्ने सवाल आफ्नो सामु उपस्थित भएको सो पार्टीका नेताहरू बताउँछन् । सो पार्टीका एक नेताले अब गठबन्धनमा बस्ने कि नबस्ने भन्नेबारे जसपाले आन्तरिक छलफल सुरु गरेको जानकारी दिए ।

गठबन्धनको क्रियाकलापबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि रुष्ट छन् । गठबन्धनप्रति रुष्ट रहेको थाहा पाएरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेका छन् । ओलीले गठबन्धनको विकल्प खोज्न अध्यक्ष यादवलाई आग्रह गरेको स्रोत बताउँछ ।

यद्यपि, अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीलाई कुनै ठोस जवाफ नदिएको यादव निकट एक नेताले रातोपाटीलाई बताए । उनका अनुसार अनौपचारिक रूपमा अध्यक्ष यादवले गठबन्धनका नेताहरूसँग स्थानीय तह निर्वाचनमा पाएको ‘धोका’बारे गुनासो गरिसकेका छन् । चुनावी समीक्षाका लागि बस्ने गठबन्धनको बैठकमा जसपाले ठोस रूपमा आफ्नो कुरा राख्ने सोच बनाएको उनको भनाइ छ ।

‘विराटनगर महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको मत परिणामको समीक्षा गर्दा गठबन्धनको मुख्य घटक काँग्रेसबाट धोका भएको पुष्टि हुन्छ,’ जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले भने, ‘विराटनगर महानगरपालिकामा गठबन्धनका मुख्य घटक काँग्रेसले इमानदारिता देखाएन, यो कुरा मतपरिणामले नै पुष्टि हुन्छ ।’

विराटनगर महानगरपालिकाको माथिल्लो भेग अर्थात् वडा नम्बर १, २, ३, ५, ६, ७, ८, १९ को मत परिणाम हेर्दा काँग्रेसका कार्यकर्तामध्ये अधिकांशले महानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारलाई मत दिएका छन् जबकि गठबन्धनबाट उपप्रमुखमा अमरेन्द्र यादव उम्मेदवार थिए । उनलाई महानगरको माथिल्लो भेगबाट खासै मत परेको छैन ।

काँग्रेसबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गर्दा सोही गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका जसपा नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मतमात्र प्राप्त गरेका छन् । गठबन्धनबाट उपप्रमुखले पाएको भन्दा दोब्बरभन्दा बढी मत प्रमुख पदका उम्मेदवारले पाएका छन् ।

एमालेबाट प्रमुख पदमा उम्मेदवार बनेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याउँदा उपप्रमुखका एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएकी छन् ।

मन्त्री यादव भन्छन्, ‘हामी (जसपा) ले इमानदारीपूर्वक गठबन्धनलाई मतदान ग¥यौं तर गठबन्धनबाट काँग्रेसले आफ्नो इमानदारिता देखाएन ।’

बदर मत पनि बढी

विराटनगर महानगर प्रमुखमा नागेश कोइरालाको तुलनामा उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवको मत बढी बदर भएको छ । नागेश कोइरालाको २१ हजार ३५८ मत बदर भएको छ भने अमरेन्द्र यादवको ३४ हजार १६७ मत बदर भएको छ । जसपाले यो बदर मतको बारेमा पनि कुरा उठाएको छ ।

​पहाडी–मधेसीको फिलिङका कारण पनि अमरेन्द्र यादवको कम मत पाएको जसपाका नेताहरू बताउँछन् । जसपाका एक नेताका अनुसार पहाडी–मधेसीबीच रहेको दुरी घटाउन यसरी मिलाएर उम्मेदवारी दिन लगाइए पनि त्यो फलदायी हुन नसकेको निर्वाचन परिणामले देखाएको छ ।

जसपा मधेस प्रदेश समितिका सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअषिश यादवले पनि गठबन्धनमा काँग्रेसले धोका दिएको बताए । गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाका लालकिशोर साह उम्मेदवार थिए । तर काँग्रेसले त्यहाँ बागी उम्मेदवार दिन लगाएर गठबन्धनका उम्मेदवारलाई हराएको प्रदेश सांसद रामअषिश यादवको आरोप छ ।

उनी भन्छन्, ‘गठबन्धनको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो तर गठबन्धनको प्रमुख घटक काँग्रेसको असहयोगका कारण जसपाका उम्मेदवार पराजित भएका छन् ।’

गठबन्धनबाटै जनकपुरका प्रमुख पदका उम्मेदवार लालकिशोर साहलाई मत नआएको उनको भनाइ छ । प्रदेश सांसद यादवका अनुसार जनकपुरमा गठबन्धनको मत प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार मनोज साह र एमालेका मेयर उम्मेदवार शिवशंकर हिरालाई गएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि गठबन्धन निर्माण हुँदा काँग्रेसका नेता विमलेन्द्र निधिले जानीजानी गठबन्धन फुटाउन लगाएको जसपाको आरोप छ । निधिकै इशारामा काँग्रेसका नेता मनोज साहले पार्टी छाडेर गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको सांसद यादव बताउँछन् । मनोज साह विमलेन्द्र निधि पक्षका हुन् । सांसद साह भन्छन्, ‘विमलेन्द्र निधिले गठबन्धन तोडेर गलत गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप