शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढीका बालबालिकालाई मदिरा सेवनमा रोक

बुधबार, ११ जेठ २०७९, १५ : ३६
बुधबार, ११ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ । बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।

‘होटल तथा किराना पसल गरी बस्ने सञ्चालकहरूले व्यापार व्यवसाय गर्दा १६ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थ विक्री वितरण तथा सेवन नगर्न नगराउन हुन हार्दिक अनुरोध छ’ वडा अध्यक्ष गजेन्द्र शाहीद्वारा हस्ताक्षरित वडा कार्यालयबाट जारी सूचनामा भनिएको छ –‘सूचनाको विपरित कार्य गरेको गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने छ ।’ वडा अध्यक्ष शाहीले बालबालिकाहरूले धुम्रपान र मद्यपान विक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो सूचना जारी गरिएको बताए । उनले लागुपदार्थ दुर्व्यसनीले देशमै प्रसय पाएको हुँदा नियन्त्रण गर्न पनि वडा कार्यालयले ऐन बमोजिम वडामा सो नियमलाई कडाईका साथ अघि बढाएको बताए ।

‘धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असरका साथै लागुपदार्थ दुर्व्यसनलाई प्रसय दिइरहेको छ’ उनले भने –‘वडा कार्यालयले दुर्व्यसनी​ रोक्न तथा बालबालिकालाई कुलतमा फस्न नदिन ऐन नियम बमोजिम कडाईका साथ अघि बढेको छ ।’ उनले अहिले सूचना जारी गरेको र १५ दिनसम्म वडाका सबै व्यवसायीहरुलाई जानकारी गराइने बताए । उनले १५ दिनपछि बजार व्यवसाय अनुगमन गर्ने बताए । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनको परिच्छेद ३ को बिक्री वितरण तथा प्रदर्शनमा बन्देजको ११ नम्बर बुँदामा भनिएको छ –‘कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन ।’

उनले यससँगै वडा कार्यालय क्षेत्रभित्र रहेका विद्यालय तथा सार्वजनिक कार्यालयको एक सय मिटरभित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा पनि रोक लगाइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप