शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो लोकतन्त्र नभई दलतन्त्र हो : गजुरेल

बुधबार, ११ जेठ २०७९, १७ : १७
बुधबार, ११ जेठ २०७९

देशभक्त जन गणतान्त्रिक मोर्चाले स्थानीय तह निर्वाचनमार्फत जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रस्ट्याएका हुन् । 

उनले भने – ‘लोकतन्त्रमा त पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ । उनीहरुले चुनावी घोषणापत्र निकाल्छन् । त्यो घोषणापत्रको आधारमा मतदाताहरूले निर्णय गर्छन् । कुन पार्टी ठिक छ भन्ने । त्यसपछि त्यही अनुसार उनीहरुले भोट हाल्छन् । तर प्रतिस्पर्धा नै छैन यहाँ । अनि के लोकतन्त्र भयो यो ? आफ्नो पार्टीको मान्छेले आफ्नै चुनाव चिन्हमा भोट हाल्दा खेरी कारबाही गर्नुपर्‍यो । म रुख चिन्ह लिन्छु भन्दा कयौंलाई कारबाही गर्‍यो । प्रचण्डहरूले त्यसैगरी हँसिया हथौडावालालाई कारबाही गरे । यो कुन प्रकारको लोकतन्त्र हो ? को उम्मेदवार बन्छ भन्ने अधिकार कसलाई दिने ? नेतालाई दिने । यो लोकतन्त्र होइन, यो दलतन्त्र भयो ।’

अध्यक्ष गजुरेलले निर्वाचनमार्फत जनताले विकल्प खोजेको पनि विश्लेषण सुनाए । जनताले पुराना पार्टी र नेताहरूलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका उनको भनाई थियो । उनले भने – ‘मान्छेले आफ्नो असन्तुष्टि विभिन्न ढङ्गबाट व्यक्त गरेका छन् । र यो चुनावमा त्यो अभिव्यक्त भएको छ । किन एउटा अपरिचित मान्छेलाई मान्छेले उम्मेदवार बनाए भने यो पुराना ठुल्ठूला पार्टीहरू, त्यहाँका नेताहरू माथि जनताको विश्वास छैन अब त्यही कुरा बुझिन्छ । त्यसै हुनाले त अर्को नयाँ मान्छे चाहियो । उनीहरु माथि विश्वास छैन । त्यसो भएर ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजय भइराखेका छन् । यसको अर्थ जनताले विकल्प खोजेको छ । यो नेतृत्वले हुँदैन । यो पार्टीले हुँदैन भन्ने कुरा जनताले अभिव्यक्ति दिएका छन् ।’

उनले स्थानीय तह निर्वाचनमा परिवारतन्त्र हाबी भएको टिप्पणी गरे । देशभक्त जन गणतान्त्रिक मोर्चाले बढ्दो महँगी नियन्त्रण गर्न र एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती सन्धि, सम्झौताहरू खारेज गर्न पनि माग गरेको छ ।
यता पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न मोर्चाले माग गरेको छ । गजुरेलले पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरू जोडेका कारण मूल्यवृद्धि भएको उनले बताए । अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए । उनले भने– ‘हिसाब गर्दा के देखिन्छ भने ९ अर्ब २० करोड रुपैयाँ त महिनैपिच्छे यिनीहरूले आयल निगमबाट नाफा खाँदा रहेछन् । त्यो बोझ ग्राहकहरूलाई दिन्छन् । त्यसो हुनाले यो अन्यायपूर्ण छ । त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ भन्ने हामी माग गर्न चाहन्छौँ । हामी देशभक्त जन गणतान्त्रिक मोर्चाको तर्फबाट जोडदार के माग गर्न चाहन्छौ भने जहाँ अहिले बढेको छ, त्यसैलाई फिक्स गरेर छोडिदिने होइन, पहिलेकै ठाउँमा हुनुपर्छ । फिर्ता हुनुपर्छ । जति पनि यो बिचमा बढेको छ त्यो सबै फिर्ता भएर जनतालाई राहत दिनुपर्छ भन्ने हामी माग गर्न चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप