शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजको विज्ञप्ति आफूलाई चोख्याउने नियतले आएको विद्यार्थीको दाबी

कलेज भन्छ, ‘फि मिनाहाको कुरा आरोपितले गरेका रहेछन्’
बुधबार, ११ जेठ २०७९, २० : १३
बुधबार, ११ जेठ २०७९

मित्रपार्कस्थित सेन्ट लरेन्स कलेजमा अध्ययनरत एक नाबालिगमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पहिले नै कारबाही गरिएको कलेजको विज्ञप्ति झुटो र आफूलाई चोख्याउने नियतकासाथ आएको विद्यार्थीले दाबी गरेका छन् । 

सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का शिक्षक राजनकुमार पौडेलले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आरोपीलाई कारबाही गर्नुको साटो कलेजले उल्टै उनीहरूको पक्षपोषण गरेको, आरोपीलाई कानुनी कारबाहीको प्रक्रियामा नलगी त्यसै छाड्न लागिएको भन्दै विद्यार्थीहरूले मंगलबार दिनभर प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए ।

विद्यार्थीले आन्दोलन सुरु गरे लगत्तै प्रहरी वृत्त गौशालाले आरोपी कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का शिक्षक राजनकुमार पौडेललाई पक्राउ गरेको थियो । उनीहरू दुवैलाई मंगलबार नै काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । 

मंगलबार दिनभर सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा तनाव भएपछि मंगलबार राती नै कलेजले एक विज्ञप्ति जारी गर्दै आरोपी शिक्षकलाई सोमबार नै बर्खास्त गरिएको स्पष्टीकरण दिएको छ । कलेजले जारी गरेको विज्ञप्तिमा घटनाबारे जेठ ६ गते शुक्रबार अनौपचारिक जानकारी आएको र जेठ ९ गते पीडित छात्राहरू र उनीहरूका अभिभावकसँग छलफल गरिएको बताइएको छ । सबैसँग छलफल गरिसकेपछि जेठ ९ गते साँझ बैठक बसी आरोपित शिक्षक जनार्दन अधिकारीलाई बर्खास्त गरिएको कलेजको विज्ञप्तिमा उल्लेख छ । 

साथै आफूहरू पीडित छात्राको पक्षमा रहेको र आरोपीलाई कानुनी कारबाहीको प्रक्रियामा सहयोग गर्न आफूहरू सधैँ तयार रहेको पनि बताएको छ । तर कलेजले मंगलबार राती जारी गरेको विज्ञप्तिमा कलेजकै विद्यार्थीहरू सहमत छैनन् । कलेजले आफ्नो इज्जत जोगाउन झुटो विज्ञप्ति जारी गरेको विद्यार्थीले आरोप लगाएका छन् । 

शिक्षकलाई बर्खास्त गरिएको दाबी झुट हो : सोनिया लामा

सेन्ट लरेन्स कलेजमा अध्ययनरत विद्यार्थी सोनिया लामाले कलेजले आरोपित शिक्षक तथा कोअर्डिनेटर जनार्दन अधिकारीलाई पहिले नै कारबाही गरिएको कुरा सरासर झुटो भएको बताइन् । कलेजले आफ्नो इज्जत जोगाउन मात्रै पहिले नै बर्खास्त गरिएको भनेको तर त्यसमा कुनै सत्यता नभएको उनले बताइन् । 

बुधबार कलेज पढ्न छाडेर गौशालास्थित प्रहरी वृत्तको बाहिर आन्दोलनमा उभिएकी लामाले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा कलेजको विज्ञप्तिमा सत्यता नरहेको र पीडकलाई कारबाही हुने निश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताइन् । उनको भनाइको सार संक्षेप यस्तो छ ।

कलेजले त आफ्नो इज्जत जोगाउन जे पनि भन्छ नि । यो हाम्रो साथीको केस हो । हामीचाहिँ के भन्छौँ भने जो अपराधी छ, त्यसलाई कडाभन्दा कडा कारबाही हुनुपर्यो । यस्तो मान्छे समाजमा रहँदा झनै खतरा बढ्छ, त्यसकारण यस्ता व्यक्तिलाई समाजबाटै निकाल्नुपर्यो, वा कानुन बमोजिम कडाभन्दा कडा सजाय हुनुपर्यो ।

कलेजले पहिले नै निकालेका थियौँ भनेर झुटो बोलेको हो । जब शिक्षकहरूले त्यो कुरा सुन्नुभयो, त्यसपछि नै ती व्यक्तिमाथि एक्सन लिनुपर्थ्यो । तर उहाँहरूले एक्सन लिनुभएन, शिक्षकलाई नै बाहिर ननिकालेपछि त आन्दोलन गर्न बाध्य नै भयौँ नि । अब त्यही शिक्षक कक्षाकोठामा आइरहेपछि हामी त्यही शिक्षकको अनुहार हेरेर पढ्न त सक्दैनौ नि । उहाँले हामीलाई नै भोलि यौन दुर्व्यवहार गर्लान् । यस्तो घटना त अझै बढ्दै जान सक्छ । त्यही भएर शिक्षकलाई ननिकालेपछि हामीले यस्तो गरेको हो । हामीले आन्दोलन गरेपछि मात्रै जनार्दन अधिकारीलाई निकालेको हो । 

कहिलेसम्म पठनपाठनमै नबसी आन्दोलन गर्ने त भन्ने रातोपाटीको प्रश्नमा लामाले भनिन्, ‘जबसम्म न्याय पाइँदैन, तबसम्म हामी आन्दोलन गरिरहन्छौँ । जे नियम कानुन छ, त्यसको राम्रोसँग कार्यान्वयन हुनुपर्‍यो । अहिले जेलमा हालिसकेपछि एक दुई दिनमै निकाल्न भएन । जे कानुन र नियम छ, त्यही अनुसार कारबाही हुनुपर्‍यो । अपराधीले सजाय पाउनुपर्‍यो, त्यसको सुनिश्चितता भएपछि मात्रै हामी आन्दोलन गर्न छाड्छौँ ।’

 

जनार्दन राजनीतिक व्यक्ति रहेछ, त्यही भएर कलेजले केही गर्न नसकेको रहेछ : सहदेव गजमेर

सोही कलेजमै अध्ययनरत विद्यार्थी सहदेव गजमेरले आरोपी शिक्षक जनार्दन अधिकारी कुनै राजनीतिक दलको माथिल्लो पदमा रहेको व्यक्ति भएको कारण कलेजले उसलाई समयमै कारबाही गर्न नसकेको बताए । उनले भने, ‘जनार्दन अधिकारी भन्ने व्यक्ति एमालेको माथिल्लो पदमा रहेको व्यक्ति रहेछ । ऊ एमालेको माथिल्लो पदमा भएको कारण प्रशासन र कलेजको माथिल्लो पदमा भएकाहरूले पनि केही बोल्न नसकेको रहेछ । त्यही भएर त्यति हुँदा पनि उसलाई निकाल्न गाह्रो परिरहेको रहेछ । अहिले चाहिँ बर्खास्त गरिसक्यो भन्ने सुनेको छु ।’

कलेज प्रशासनले त पहिले नै कारबाही गरी बर्खास्त गरिसकेको भनेको छ नि त भन्ने रातोपाटीको प्रश्नमा गजमेरले भने, ‘अहिले जसरी कलेजले घटना थाहा पाएलगत्तै कलेज प्रशासनले आरोपित शिक्षकलाई निकालेको भनेको छ, त्यसमा हामी सत्यता देख्दैनौँ । जबकि ६ गते नै यस विषयमा कलेजमा कम्प्लेन भएको थियो र छलफल पनि भएको थियो । तर कलेज प्रशासनले कुनै एक्सन नलिएपछि मात्रै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । विद्यार्थीहरूले आन्दोलन गरेपछि मात्रै कलेज प्रशासनले उहाँलाई निकालेको हो । कलेजले पहिले नै निकालेको भन्ने विज्ञप्ति आफ्नो इज्जत जोगाउन मात्रै भनेको हो ।’

‘कलेजले फि मिनाहाको नाममा सौदाबाजी नै गर्न खोजेको हो’

पीडित नाबालिगका समकक्षी गजमेरले सुरुमा यस घटनालाई कलेजमै थामथुम पारी आवाज दबाउन खोजिएको बताए । उनले भने, ‘जब पीडितलाई जनार्दन अधिकारी भन्ने राक्षसले आक्रमण गर्‍यो, त्यसपछि प्रिन्सिपल लगायतलाई भन्न जाँदा उनीहरुले कलेजको इज्जत जान्छ भनेर त्यो आवाजलाई कलेजमै दबाउने बरु कलेजको फि मिनाहा गरिदिने प्रयत्न गरेका रहेछन् । जनार्दनको कम्प्लेन गर्न साथीहरू जनार्दनभन्दा माथिल्लो पदमा रहेकाहरूलाई भेट्न जानुभएको थियो । तर उनीहरुले पीडितलाई न्याय दिने भन्दा पनि पीडितलाई फ्रि मै पढाउने तर कलेजको बदनाम हुन नदिई पीडितको आवाज दबाउने प्रयत्न गरे । पीडकलाई कारबाही गर्नुको साटो बचाउने प्रयत्न गरेपछि साथीहरुले त्यो कुरा क्लासमै आएर भन्नुभएको हो र त्यसपछि हामी आन्दोलनमा आएका हौँ । हाम्रो समकक्षी, जो पीडित हुनुहुन्छ, उहाँलाई न्याय दिलाउन हामी यसरी आन्दोलनमा आउनुपरेको हो ।’

बुधबार अपराह्न रातोपाटी सेन्ट लरेन्स कलेजमा पुग्दा कलेज पूर्णतया बन्द थियो । कलेजको गेटमा प्रहरीले सुरक्षा दिइरहेका थिए भने विद्यार्थीहरू प्रहरी वृत्त गौशालामा आन्दोलन गरिरहेका थिए । विद्यार्थीहरू बाहिर आन्दोलन गरिरहँदा भित्र कलेजका अध्यक्ष, प्रिन्सिपल, निर्देशक लगायतका व्यक्तिहरू पीडित परिवारसँग छलफलमा थिए । 

बुधबार अपराह्न रातोपाटीसँग कुरा गर्दै कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले पीडितका परिवारसँग छलफल भएको र पीडकलाई कानुनी कारबाही गर्न सघाउने लिखित सहमति भएको बताए । साथै पीडक शिक्षकमाथि कलेजले समयमै एक्सन नलिएको भन्ने आरोपमा सत्यता नभएको, कलेजले फि मिनाहा गरिदिने भन्ने सम्बन्धमा छलफल हुँदा कलेजले नभई आरोपित शिक्षकले नै फि मिनाहा गरिदिने आश्वासन दिएको तर कलेजसँग त्यसबारेमा छलफल नभएको स्पष्ट पारिएको बताए । प्रिन्सिपल महर्जनले भने, ‘कलेजले फि मिनाहा गरिदिने भनेर सहमति नगरेको र त्यसमा अभिभावकको पनि सहमति भएको भएको छ । त्यसबाहेक शिक्षकलाई सोमबार नै निष्कासन गरिएको जानकारी गराइएको र कानुनी कारबाहीको प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ, त्यही सम्बन्धमा लिखित सहमति समेत भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप