शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपी मनोज पाण्डेले दिए ‘इन्कारी बयान’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि बयान दिइन्
बुधबार, ११ जेठ २०७९, २० : २१
बुधबार, ११ जेठ २०७९

काठमाडौं । शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेसँग प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा काठमाडौँको एभरेस्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई जेठ ७ मा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिले बुधवार पाण्डेसँग बयान लिएका हुन् । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वलिकसँग सो आरोप अस्वीकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’

पीडित युवतीले टिकटक युजर आईडी ‘सुसिखान जाने हो’बाट जेठ ४ मा करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।

अनुसन्धानबाट ‘सक्सेस पार्टी’ भन्दा अघि बलात्कार गरेर घटना सामसुम पारेको थाहा भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले पाण्डेविरुद्ध शरीरबन्धक तथा मानव बेचबिखन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

माल्भिकाले भनिन्–‘पीडितले मलाई घटना सुनाएकी हुन्’

पूर्व मिस नेपाल माल्भिका सुब्बासँग मंगलबार प्रहरीले घटनाबारे बयान लिएको छ । आफू प्रतियोगिताको कोरियोग्राफर रहेको र कार्यक्रम अवधिभर कसैले पनि दुर्व्यवहारको कुरा नगरेको सुब्बाले प्रहरीलाई बताएकी छिन् ।

मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’मा पीडित युवती सहभागी भएको सुब्बाले बताएकी छिन् । घट्नाबारे पीडितले जानकार गराएको स्विकार्दै सुब्बाले प्रहरीसँग भनेकी छन्–‘म आफ्नै तनावमा थिएँ, पछि कुरा गरौँला भनेँ त्यसपछि पीडितले सम्पर्क गरिनन् ।’

कार्यक्रमबारे विवाद भएपछि प्रतियोगिता बन्द भएको र आफू पाण्डेले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी हुन छाडेको सुब्बाको बयानमा उल्लेख गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

पीडितले जानकारी गराउँदा पनि कानुनी कारबाहीमा सहयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको आलोचना गरिरहेका छन् । सुब्बाले पीडितलाई सहयोग पुग्ने गरी बयान दिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

बिहीबार दोस्रोपटक म्याद थपिँदै

जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बलात्कारमा हदम्याद नाघेको हुनाले प्रहरीले पाण्डेलाई बेचबिखन मुद्दा चलाएको छ ।

जेठ ७ बाट लागु हुने गरी अनुसन्धानका लागी अदालतले दिएको म्याद बुधवार सकिएको छ । बिहीबार दोस्रोपटक म्याद थप्न उनलाई अदालत उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पाण्डेविरुद्ध अर्की नाबालिगले पनि यौन दुर्व्यवहारको जाहेरी दिएकी छन् । त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप